पाठ्यक्रम र मुढो नेपाली
खासमा भाषा बुझिनेभन्दा नबुझिने नै मीठो हुँदो रहेछ। जस्तो कि चराको भाषा, नदीको भाषा, फूलको भाषा, टाढा कतै बजेको निःशब्द संगीतको भाषा। प्रकृति प्रदत्त भाषाहरू सबै प्रिय हुन्छन्, स्निग्ध हुन्छन्। प्रकृतिको भाषा जति बुझिएन त्यति सुस्वादु हुँदो रहेछ किनकि त्यस्तो भाषा कर्णस्पर्शी मात्र नभएर हृदयस्पर्शी बन्न पुग्दो रहेछ। जब मानिसले बुझिने भाषा बोलेर नबुझिने कुरा गर्छ त्यतिखेर भने बेहद लफडा हुँदो रहेछ। नेपाली भाषा बेलाबेलामा त्यस्तै लफडा र कुदिन भोग्ने मार्गमा घिसारिँदै गएको प्रतीत हुन थालेको छ। अचेल नेपाली भाषामा प्रहार भएको, यसलाई मास्न खोजिएको, विदेशी चलखेल भएको लगायत अनेक कुशंकाले अखबारका पाना, फेसबुकका भित्ता र आमसञ्चारका पर्खाल भरिने गरेका छन्। बाघको डमरुलाई बाघले नै खाइदिन्छ। माउसुलीको बच्चालाई पनि ऐनमौकामा माउसुलीले खाइदिन्छ। कुरा डरलाग्दो छ, नेपाली भाषालाई खान खोज्ने पनि नेपाली नै हुन्। त्यसमाथि पनि नेपाली भाषालाई सबभन्दा बढी खतरा नेपाली भाषाका विद्वान्बाटै छ। कहिले तिनले डेढअक्कली विद्वान् बनेर भाषालाई आफ्नो स्वार्थ अनुकूल व्याख्या गर्छन् त कहिले बेलाबेलामा विभिन्न आयोग, नियोग र कमिटीमा बसेर नेपाली भाषालाई दूरगामी असर पर्ने निर्णयमा सहीछाप गर्छन्। नेपाली भाषा कमजोर हुँदै जाने पहिलो कारण नै यही हो।
नेपाली भाषाको विजोग हुनुमा अंग्रेजीको बढ्दो प्रभावलाई पनि एकाथरी मानिसहरूले जिम्मेवार ठान्दै आएका छन्। अचेल हाम्रो देशमा एउटा बच्चाको अक्षराम्भ ‘ए फोर एप्पल’ बाट हुन्छ। उसले गणित पढ्दैन ‘म्याथ’ पढ्छ। म्याथ पढेपछि उसले एक, दुई गणना जान्ने कुरै भएन। ‘वान टु’ मा अभ्यस्त हुन्छ। अहिलेका सहरी बच्चाहरूलाई नेपाली गणना जान्नु र निमको झोल पिउनु उस्तै कुरा हुन्। बोर्डिङ नामधारी प्राइभेट स्कुलमा बच्चाले राइम्स र सङ्स पनि रट्टु मारिहाल्छ। बच्चाले यति जानेपछि अभिभावकको नाक एकदुई इन्च बढिहाल्छ। आफ्नो बच्चा ‘ट्यालेन्ट’लागिहाल्छ। फलस्वरूप सरकारी स्कुललाई पनि एउटा अल्झो आइलागेको पाइन्छ। विद्यालयको स्रोतबाट अतिरिक्त शिक्षकको व्यवस्था गरी नर्सरी केजी कक्षा थपेर अंग्रेजी माध्यमबाट नपढाएसम्म तिनले अभिभावकको मन जित्न सक्दैनन्। आधुनिक जमानामा आधुनिक तबरले शिक्षा दिन खोज्नुलाई अन्यथा लिनु पनि भएन। यसो गर्दा आफ्नो देशको मूल भाषा नेपालीलाई पनि सँगै लान सकिन्थ्यो। दुःखको कुरा नेपाली भाषा धेरै कोस पर छुटिसकेको छ। उता माथिल्ला तहका कक्षाबाट पनि नेपाली भाषालाई कसरी निमिट्यान्न पार्ने भनेर बेला बेलामा अभ्यास खेलहरू हुने गरेका छन्। यसरी हेर्दा हाम्रो शिक्षा प्रणालीमा नेपाली विषयको हविगत जरा र टुप्पो दुवै काटिएको रूख जस्तो हुन पुगेको छ। जरा र टुप्पो नभएपछि बाँकी रहने भनेको गिँड या मुढो मात्रै त हो।
‘नेपाली भाषामा यसो भएन र त्यसो भएन भनेर रोइलो गर्नेहरू हुटिट्याउँ हुन्।’ गत वर्ष नेपाली वर्णविन्यासको विवाद चुलिएका बेलामा एकजना धुरन्धर उत्तरआधुनिक नेपाली भाषाका विद्वान्ले व्यक्त गरेका विचार हुन् यी। यस हिसाबले हेर्ने हो भने म पनि हुटिट्याउँको हरफमा उभिन पुगेको छु। जुन भाषा मेरो देशका अनेक जातजातिबीचको सम्पर्क भाषा हो, जुन भाषाबाट मैले मेरा बन्द आँखा खोलेँ, जुन भाषा मेरो जीवनको कोषकोषमा समाहित छ, त्यो भाषामाथि आगो प्रहार भइरहँदा निरोले जसरी बाँसुरी बजाएर बसिरहने कुरा पनि भएन। अहिले फेरि नेपाली विषयको तलाउमा ढुंगा फ्याँक्ने प्रयासहरू भइरहेका छन्। यसले नेपाली शिक्षाको फाँटमा केही छाल र तरंगहरू उत्पन्न गरिरहेको छ। कारण, हालै पारित भएको भनिएको विद्यालय तहको पाठ्यक्रमको प्रारूपमा नेपाली भाषालाई टेढो नजरले हेर्न खोजिएको स्पष्ट देखिन्छ।
कक्षा ११ र १२ लाई यसभन्दा अघि उच्चमावि या प्लस टु भनिन्थ्यो। कक्षा ११ देखि नै घुमाउरो पारामा संकाय छुटिन्थ्यो। कक्षा १० र ११ को पाठ्यक्रमबीचमा निकै ठूलो अन्तर थियो। कतिले यो तहलाई उच्च शिक्षाको खुड्किलो भन्थे। कतिले त क्याम्पस नै भन्थे। अहिले आएर सरकारले ११ र १२ कक्षाको शिक्षालाई विद्यालय तहमा गाभिसकेको छ। यसका लागि पाठ्यक्रम निर्माण गर्ने रस्साकस्सी अन्तिम चरणमा पुगिसकेको छ। यसको राम्रो पक्ष के छ भने कक्षा ९ देखि १२ सम्मको पाठ्य घण्टा र वार्षिक कार्य घण्टा समान तोकिएको छ। कक्षा ९ र १० मा जसरी नै ११ र १२ मा पनि चारवटा विषयलाई अनिवार्य तोकिएको छ। अझ यसमा प्रशंसनीय पक्ष के छ भने १२८ वार्षिक कार्य घण्टा भएको ‘इच्छाधिन स्थानीय विषय’ को प्रावधान ल्याएर स्थानीय जनभावनाको कदर गर्ने प्रयास गरेको छ। यसमा युगानुकूल धेरै राम्रा कुरा अटाएका छन्। यति हुँदाहुँदै पनि यसले नेपाली र अंग्रेजी विषयबीचमा देखाएको विभेद भने उदेकलाग्दो छ।
अहिलेका सहरी बच्चाहरूलाई नेपाली गणना जान्नु र निमको झोल पिउनु उस्तै कुरा हुन्। बोर्डिङ नामधारी प्राइभेट स्कुलमा बच्चाले राइम्स र सङ्स पनि रट्टु मारिहाल्छ। बच्चाले यति जानेपछि अभिभावकको नाक एकदुई इन्च बढिहाल्छ।
नेपाली र अंग्रेजी दुवै विषय भाषा हुन्। नेपाली हाम्रो आफ्नै भाषा हो, अंग्रेजी अन्तर्राष्ट्रिय भाषा। नेपाली भाषा मात्रै नभएर हाम्रो अनुहार चिनाउने ऐना पनि हो। तर नेपाली भाषालाई ताछ्ने र खुर्कने हर्कतहरू विगतदेखि नै हुँदै आएका छन्। सरकारले पनि जानेर या नजानेर बेलाबेलामा नेपाली भाषालाई हानि हुने निर्णयहरू गर्दै आएको छ। संसारका सबै भाषाको आफ्नै गरिमा र महत्व छ। व्यक्तिगत रूपमा सबै भाषाप्रति मेरो सम्मान छ। हो, तीमध्ये अंग्रेजी संसारकै शक्तिशाली भाषामा दरिन पुगेको छ। विश्वव्यापीकरणको वर्तमान चक्करमा अंग्रेजी नसिकी र नजानी धरै छैन। अंग्रेजीको आफ्नै महत्व स्थापित भइसकेको छ। झन् अमेरिका, बेलायत र अस्ट्रेलियाजस्ता मुलुकका विश्वविद्यालयमा अध्ययन गर्न जानका लागि अंग्रेजी राम्रो मात्रै भएर पुग्दैन, एकदम राम्रो चाहिन्छ। विदेशमा रोजगारीको राम्रो अवसर पाउन पक्कै पनि अंग्रेजी राम्रो चाहिन्छ। अंग्रेजीको यति धेरै महत्व भएर नै हाम्रा प्राइभेट स्कुलहरूले पठनपाठनको माध्यमलाई अंग्रेजी बनाउँदै आएका छन्।
यस्तो लाग्छ, बेलायती र अमेरिकनलाई भन्दा पनि अंग्रेजी भाषाको चिन्ता नेपालीलाई छ। मानौं कि शिक्षाको प्रमुख आधारशीला नै अंग्रेजी भाषा हो। अंग्रेजी भाषा जान्नु नै प्रकाण्ड विद्वान् बन्नु हो। त्यसैले होला अंग्रेजीको मोहले यहाँको वातावरण सुवासित छ। मुलुकमा अंग्रेजी सिकाउने थुपै्र भाषा–पसल खुलेका छन्। एनजीओ, आईएनजीओ लागेका छन्। अंग्रेजी सिक्नका लागि बजारमा अनेक सुविधा पनि प्राप्त छन्। यतिले नपुगेर सरकारले बनाउने पाठ्यक्रममा समेत अंग्रेजीलाई बढी पाठ्य घण्टा छुट्ट्याउनुको रहस्य बुझिनसक्नु छ। हालै तयार पारिएको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ को मस्यौदामा अंगे्रजीलाई ४ र नेपालीलाई ३ पाठ्य घण्टा छुट्याइएको छ।
यहीँनेर केही प्रश्नहरू खडा भएका छन्। अंग्रेजीलाई यतिबिध्न माया र संरक्षण दिने बाध्यता सरकारी निकायलाई कसरी आइलागेको हो ? अंग्रेजीलाई अनिवार्य विषय बनाइएकै छ त। जानेर या नजानेर, सकेर या नसकेर अंग्रेजी सिक्नु वर्तमान समयको बाध्यता नै भइसकेको छ। तपाईं भन्नुहोला –‘सरकारी विद्यालयका विद्यार्थीको अंग्रेजी कमजोर हुन्छ। तिनको अंग्रेजी बलियो बनाई उद्धार गर्न यसो गरिएको हो।’ यदि यस्तो सोचाइ हो भने यो सरासर गलत कुरा हो। एक अध्ययनले बताएको छ, सरकारी विद्यालयका विद्यार्थीको नेपाली झन् कमजोर हुन्छ। गाह्रो विषय भएकाले यसो गरिएको हो भने गणित र विज्ञान चाहिँ सजिला हुन् त ? बरु यी विषयमा अलि बढी पाठ्यभार छुट्ट्याएको भए पनि चित्त बुझाउने बाटो हुन्थ्यो। झन् ११, १२ कक्षामा गणितलाई अनिवार्य सूचीबाट गायब गराइएको छ। यस्ता कुरा सोचिल्याउँदा पाठ्यक्रम निर्माणकर्ताको असमझ, खोट र दुराशय देखिन्छ।
ठूलठूला भवन, बाटो, पुल र चिटिक्क परेका सहर मात्र कुनै देशको विकासका सूचक होइनन्। कुनै पनि मुलुकको विकास र सभ्यताको सूचक त्यस देशको भाषा र साहित्यको अवस्था पनि हो। यो रहस्य बुझ्ने मुलुकका नीति निर्माताहरू आफ्नो देशको भाषा र साहित्यको विस्तारका लागि अनेक योजना ल्याउँछन्। आफ्नो मुलुकमा मात्रै नभएर अन्य मुलुकका नागरिकलाई समेत आकर्षित गर्ने प्रयास गर्छन्। हाम्रै देशमा पनि विभिन्न मुलुकका महान साहित्यकार र भाषाविद्का नाउँमा खुलेका त्यस्ता संस्थाहरूको गतिविधि हाम्रा सरकार र सरकारी मानिसलाई थाहा होला कि नहोला ? हामीचाहिँ नेपालभित्रै राजनीति र प्रशासनको जागिर खान्छौं। आयोग र सचिवालयमा बस्छौं, शिक्षाको ठेक्का लिन्छौं र नेपाली भाषा किन चाहियो भनेर हचुवा टिप्पणी गर्छौं। अन्य मुलुकमा विस्तार गर्न नसके पनि कम्तीमा आफ्नो मुलुकभित्र त नेपाली भाषालाई ताछ्ने, खुर्कने र खुइल्याउने काम नगरौं। कि शिक्षित, सभ्य, प्रगतिशील र अग्रगामी देखिनका लागि यसलाई खुइल्याउनै पर्ने हो ?