फलानोको क्यारिकेचर यात्रा
२०३७ सालतिरको कुरा हो। राजेश केसी ७ कक्षामा पढ्दै थिए। एकदिन टाइम्स अफ इन्डिया पत्रिकामा उनले एउटा क्यारिकेचर देखे, इन्दिरा गान्धीको। छोटो कपालबाट उनले इन्दिरा गान्धी नै हो भनेर ठम्याए। ‘अनुहार त सबै बिग्रिएको थियो। अनुमानले चिनेँ,’ उनले थपे, ‘पत्रिकाको बीचतिर कुनै लेखमा थियो सायद।’ त्यसपछि उनी पनि कापीमा हजुरबुवा, ठुलोबुवाको क्यारिकेचर गर्न थाले। नातिले बनाएको आफ्नो बिग्रिएको अनुहार हेर्दै हजुरबुवा मुसुमुसु हाँस्थे। ‘ठूलोबुवाले त पैसा पनि दिनुहुन्थ्यो,’ उनले भने।
यसरी सुरु भयो, उनको क्यारिकेचर यात्रा। स्कुलको ब्ल्याकबोर्डमा सर र साथीहरूको अनुहार बिगारी–बिगारी चित्र बनाउन थाले। उनलाई गजब रमाइलो लाग्न थाल्यो। कोहीकोही साथीहरू आफ्नो अनुहार बिगारिदिएकोमा रिसाउथे पनि तर धेरै त मूच्र्छा परेर हाँस्थे। ‘अनुहार बिगारेर पनि मान्छे चिनिने बनाउन गाह्रो हुन्थ्यो तर पनि बनाउँथे,’ उनले भने, ‘यो चाहिँ खुबीको कुरा रहेछ।’
राजेश केसी काठमाडौं लैनचौरमा जन्मिए, हुर्किए। आदर्श प्राथमिक विद्यालयमा उनलाई नर्सरीमा भर्ना गरिएको थियो। आर्ट क्लासमा मेडमले सबैलाई चित्र बनाउन लगाइन्। उनले धर्के कपीमा नीलो रङले परेड खेलिरहेका आर्मीको चित्र बनाए। त्यो चित्र मेडमले अफिसमा टाँसिदिइन्। ‘मेरो परिवारमा आर्मी ब्याकग्राउन्डका मानिस छन्। सधैं आर्मीका बारेमा गरेको कुराकानी सुन्थेँ। त्यसैले पनि होला मैले त्यतिबेला परेड खेलिरहेका आर्मी बनाएको,’ उनी आफ्नै बालमनोविज्ञानको विश्लेषण गर्छन्। स्कुले जिन्दगीको पहिलो दिन थियो, त्यो।
राम्रो चित्र बनाउने भएपछि उनी मेडमको पनि प्यारो हुँदै गए। कहिलेकाहीँ त मेडमले उनैलाई चित्रकलाको क्लास लिन लगाउँथिन्। उनी पनि ब्ल्याकबोर्डमा चकले चित्र बनाउँदै त्यसका बारेमा बुझाउँथे। ‘ब्ल्याकबोर्डमा म डाँफे, हिमाल, गाईको चित्र बनाउन सिकाउँथे,’ उनले भने, ‘मेडम मेरो ठाउँमा गएर बस्नुहुन्थ्यो। म शिक्षक बन्थेँ,’ उनी आफ्नै विगत रिभिजिट गर्छन्।
२०३४ सालतिरको कुरा हो। उनी ३ कक्षामा पढ्दै थिए। दरबार हाइस्कुलमा पेन्टिङ प्रतिस्पर्धा भयो। उपत्यकाभरिका प्रायः स्कुलले भाग लिएका थिए। हरेक स्कुलबाट दुई जना सहभागी भए। आदर्श प्राविबाट राजेश र अर्काे एक साथीले भाग लिए। राष्ट्रिय चिह्नहरूको चित्र बनाउनुपर्ने। राजेशले डाँफे बनाउनुपर्ने भयो। स्कुलमा सधैं बनाइरहेको, उनलाई गाह्रो नै थिएन। प्रथम पुरस्कार उनकै नाम बोलाइयो। ‘गोरखापत्रले समाचार नै लेख्यो। हजुरबुवाले गोरखापत्र पढ्दै जाँदा मेरो नाम पनि देख्नु भएछ,’ उनले भने, ‘त्यो पत्रिका मैले स्कुल नै लिएर गएको थिएँ। त्यसपछि त म स्कुलको हिरो भइहाले। साथीहरूले मलाई बोकेर दौडाए।’ जिन्दगीमा पहिलो पटक नाम आएको त्यो पत्रिका अहिले उनीसँग छैन। केही समयअघि एक पटक त गोरखापत्र संस्थानमा खोज्न पनि गए। तर भेटिएन।
३ कक्षा पास भएपछि उनलाई बोर्डिङ छाडेर सरकारी स्कुलमा भर्ना गरियो। शान्ति विद्यागृह माविमा उनी ५ कक्षामा भर्ना भए। उनले ४ कक्षा पढ्नै परेन। ‘मेरो अंग्रेजी राम्रो थियो। त्यसैले पनि कक्षा टपाएको होला,’ उनी अनुमान लगाउँछन्।
स्कुलमा पेन्टिङ क्लास थिएन। चित्र बनाउने बानी लागिसकेको थियो। सर नभएको बेला ब्ल्याकबोर्डको कुनामा चित्र बनाएर बस्थे। सर आएपछि मेटाइदिन्थे। कहिलेकाहीँ साथीहरूको अनुहार उतार्थे। कहिलेकाहीँ सरहरूकै चित्र पनि बनाउँथे। भन्छन्, ‘एक दिन त भर्खर चित्र बनाइसकेको थिएँ। सर आइहाले। मेट्न भ्याइनँ। त्यही सरको चित्र बनाएको थिएँ। सरले मैले बनाएको भनेर थाहा पाउनु भयो तर पनि केही गर्नुभएन। मेरो त सातो नै गएको थियो।’
क्यारिकेचर गर्दागर्दै उनले एसएलसी सक्काए। त्रिचन्द्र कलेजमा साइन्स विषय लिएर भर्ना भए। उनको क्यारिकेचर गर्ने बानी रोकिएन। सर, साथी, घरपरिवार सबैको अनुहार चित्रमा बिगार्ने काम गरे उनले। ‘यसरी क्यारिकेचर गरेर थुप्रै कापी सक्काएँ,’ उनले भने, ‘त्यतिबेला उट्पट्याङ काम थियो, त्यो। अरुको अनुहार लाम्चो, चुच्चे, थेप्चे बनाइदिन त खुबै रमाइलो पो हुन्थ्यो।’
०००
ब्याचलर पढ्दै गर्दा राजेश लगायत चार जना साथी मिलेर एड्भरटाइजिङ एजेन्सी खोले। उनी आर्ट डिरेक्टर थिए। केही समयपछि एजेन्सी बन्द भयो। सन् १९९० तिर टोलको एउटा दाइले उनलाई एउटा जापानी ताकासी मिआहारासँग भेटाइदिए। त्यसपछि उनै जापानीको ट्राभल एजेन्सीमा काम गर्न थाले।
‘ट्राभर एजेन्सीमा काम गर्दागर्दै मैले गारेखापत्रलाई चिठी पठाएँ,’ उनले भने, चिठीको व्यहोरा खुलाए, ‘तपाईंको पत्रिकामा कार्टुन हाल्ने भए मसँग कार्टुन बनाउने क्षमता छ। म टाइम्स अफ इन्डियामा प्रकाशित हुनेजस्तै कार्टुन बनाउन सक्छु। मेरो आइडिया मन प¥यो भने भेटेर गफ गरुम्।’ चिठी पठाएको डेढ महिनापछि उनलाई द राइजिङ नेपालबाट फोन आयो। सन् १९९१ सालतिरको कुरा हो, यो। उनले सम्पादक र महाप्रबन्धसँग भेटे। पत्रिकाका लागि एउटा कार्टुन पनि बनाइदिए, राजनीतिक कार्टुन। ‘चुनावमा टिकट लिन बसेकाहरूको कार्टुन थियो त्यो,’ उनले भने। बनाएको चार दिनपछि कार्टुन छापियो। छाप्न ढिलो ग¥यो भनेर उनले त्यसपछि वास्तै गरेनन्। गोरखापत्रको कार्यालय पनि गएनन्। ‘भेटेको भए त जागिर पाइन्थ्यो होला तर गइन,’ उनले भने।
कार्टुनिस्ट राजेश केसी भन्छन्, ‘राजनीतिज्ञहरू उग्र भए भए हामी फेल खान्छौं। कहिलेकाहीँ नेताहरूको भनाइ नै यस्तो हाँसउठ्दो हुन्छ कि कार्टुन नै फेल खान्छ।’
त्यसपछि कान्तिपुर दैनिक प्रकाशनको हल्ला सुने, राजेशले। कान्तिपुरका सम्पादकलाई भेटे। कार्टुनका लागि प्रस्ताव राख्दा ओके भयो। कान्तिपुरको पहिलो अंकमा उनको कार्टुन छापियो। उनी कान्तिपुर दैनिकमा जागिरे भए। सुरुमा त उनलाई गाह्रो भयो। आफ्नो आइडिया पाठकले बुझेनन् भन्ने लाग्यो उनलाई। ‘पछिपछि त मैले पनि आफूलाई सुधारेँ। पाठकले पनि बुझ्न थाले।’
२०५२ सालमा नेता सीके प्रसाइले उनको कार्टुनमाथि पाठकपत्र लेखे। ‘कार्टुनमाथि कान्तिपुरमा आएको यो पहिलो पाठक पत्र थियो,’ उनले भने। प्रसाईले आफू बिरामी भएको र राजेशको कार्टुनले रोग नै बिर्सिएजस्तो बनायो भनेर लेखेका थिए। आफू तन, मनले हाँसेको उल्लेख गरेका थिए। त्यतिबेलासम्म उनले प्रसाईलाई चिन्दैनथे। पाठकपत्र पढेर उनलाई खुसी लाग्यो तर धेरै वास्ता गरेनन्। पछि प्रसाई बिते, उनीमाथि समाचार आउन थाल्यो। त्यसपछि उनले आफूलाई प्रसाईले लेखेको चिठी खोजेर सुरक्षित राखे। ‘पछि पो थाहा भयो ती त ठूला मान्छे रहेछन्,’ उनले भने।
उनका साथीहरूलाई राजेशले कान्तिपुरमा कार्टुन बनाउँछ भनेर थाहै थिएन। सन् १९९४ तिरको कुरा हो। एउटा साथीले उनलाई कान्तिपुरको कार्टुन देखाउँदै हाँस्यो। ‘एउटै मान्छेले दिनैपिच्छे बनाउँछ तर हाँसउठ्दो बनाउँछ राजेश जी’ भन्दै त्यो साथीले राजेशलाई पत्रिका दियो। उनी मनमनै हाँसे। उनी सम्झिन्छन्, ‘त्यतिबेला पनि मैले सुन तस्करकै कार्टुन बनाएको थिएँ।’
सन् १९९४ तिर उनी अमेरिकातिर हिँडे। केही महिना बसेर फर्किए। नेपाल आउँदा दुईवटा काम सुरक्षित गरेर फर्किएका थिए। ट्राभल एजेन्सी र एभरेस्ट हेराल्ड पत्रिकामा जागिर खाने टुंगो थियो। उनका पहिलेका केही साथीहरू पनि त्यही पत्रिकामा ज्वाइन भएका थिए। उनी पनि ज्वाइन भए। तर, एक वर्षपछि एभरेस्ट हेराल्ड बन्द भयो। त्यसयता उनी हिमाल, कान्तिपुर, नागरिक, बाह्रखरी, अन्नपूर्ण पोस्ट्मा कार्टुन कोर्दै आएका छन्।
उनी गर्व गर्छन्, ‘यो पकेट कार्टुन नेपालमा सुरुवात गरेको मैले नै हो। अपोइन्टमेन्ट लेटर लिएर तलबै लिएर कार्टुन बनाउने मान्छे मै हुँ,’ उनले भने, ‘कान्तिपुरमा मेरो तलब नै सम्पादकपछि दोस्रो थियो।’
०००
उनको कार्टुनमा व्यंग्य पाइन्छ। क्यारिकेचर गर्ने हुनाले धेरैको अनुहार बिग्रिएको हुन्छ। एकपटक त एक प्रधानमन्त्रीले आफ्नो अनुहार बिगारिदिएको भनेर उनी समक्ष दुःखेसो नै पोखे। आफ्नो जुँगा बिगारिदिएको प्रधानमन्त्रीको गुनासो थियो।
कार्टुनमिश्रित अनुभव धेरै छन्, उनीसँग। एकपटक उनले तरकारीको भाउसम्बन्धी कार्टुन बनाए। दैनिक समाचारले कालीमाटीको तरकारी भाउ भन्थ्यो। तर, भान्सासम्म आइपुग्दा तरकारीको दाम समाचारले भनेभन्दा धेरै फरक पर्न आउँथ्यो। राजेशले कार्टुनमा अगाडि डट डट राखेर पछाडिको चारवटा फोन नम्बर लेखिदिए। त्यसमा क्याप्सन पनि थियो। अगाडिको नम्बर आफैंले राखेर कुनचाहिँले त्यही कार्टुनमा दिएको नम्बरमा फोन गरेछ। तरकारीको दाम किन बढ्यो भन्दै बालुवाटारको एक घरमा नियमित फोन गर्न थालेछ, कसैले। बालुवाटारको त्यो घरबाट कान्तिपुरमा फोन नै आयो।
त्यस्तै, २००८ मा सुस्ताको कार्टुन बनाए, उनले। कार्टुनमा भारतबाट नेपालीलाई हस्तक्षेप भएको छ भन्ने सन्देश दिन्थ्यो। भारतीय प्रम मनमोहन सिंह नेपालमा बसेर खुट्टाचाहिँ भारतमा राखेका थिए। कार्टुनमा उनले ‘फलानो’लाई भनेका छन्, ‘मैले तिम्रो देशमा टेकेको छैन है ! मैले त आफ्नै भूमिमा टेकिरहेकेको छु’। कार्टुन छापिएपछि भारतीय दूतावासले लामो चिठी नै लेखेको थियो। पीत पत्रकारिता भएको बताएको थियो।
कार्टुनका लागि नेपाली भूमि उर्वर रहेको बताउँछन् राजेश। ‘यहाँ त धेरै समस्या छ। पानी, फोहोर, ढललगायतका समस्या छन्,’ उनले भने।
राजनीतिले पनि कार्टुनिस्टहरूलाई साथ दिइरहेको बताउँछन्, राजेश। भन्छन्, ‘राजनीतिज्ञहरू उग्र भए पनि हामी फेल खान्छौं। कहिलेकाहीँ नेताहरूको भनाइ नै यस्तो हाँसउठ्दो हुन्छ कि कार्टुन नै फेल खान्छ,’ उनी व्यंग्यात्मक शैलीमा भन्छन्, ‘कार्टुनिस्टहरूको भविष्य उज्ज्वल हुन राजनीतिज्ञहरू उग्र र विद्वान दुवै थोक हुनुहुँदैन।’
सन् २०१२ देखि राजेशले ‘फलानो’ नामको कपडा पसल पनि खोलेका छन्। यसै नामको कफी हाउस पनि विगत तीन वर्षदेखि चलिरहेको छ।
उनै ‘फलानो’ कफी हाउसमा छौं हामी। कफी हाउसका भित्ताहरूमा फलानोको क्यारिकेचरहरू टल्किरहेका देखिन्छन्।