विकासको जग हाल्ने मौका

विकासको जग हाल्ने मौका

प्रधानमन्त्री केपी शर्मा ओली यही असार ५ गतेदेखि चीनको पाँचदिने भ्रमणमा जाँदैछन् । दुई वर्षअघि भारतीय नाकाबन्दीपछि गरेको चीन भ्रमणमा भारतप्रतिको निर्भरता कम गर्न र संकट परेपछि भरपर्दो विकल्प तयार गर्न, चीनसँग पारवहन सुविधा प्राप्त गर्न चिनियाँ राष्ट्रपतिसँग गरेको समझदारीले नै प्रधानमन्त्री ओलीको राष्ट्रिय छविलाई धेरै माथि उठाएको छ ।

अहिले निर्वाचनपछि झन् शक्तिशाली भई चीन भ्रमणमा जान लाग्दा जनताले प्रधानमन्त्रीसँग भावावेशमा नआई बुद्धिमानीपूर्वक इतिहास र भविष्यको परिप्रेक्षमा नेपालको विकासमा चीनको सहभागिताको अपेक्षा राखेका छन् ।

निसन्देह पनि राष्ट्रको सम्पूर्ण इतिहासमा यो क्षण विकासका लागि एउटा महत्वपूर्ण निर्णायक घुम्तीमा पुगेको छ । अन्तर्राष्ट्रिय र छिमेकमा भएको विकास र परिवर्तनलाई मध्यनजर गरी केही निर्णय गर्न सकिएन भने यो सुनौलो मौका गुम्न गई नेपाललाई धेरै पश्चात्ताप हुनेछ । अतः प्रधानमन्त्री ओलीले यसलाई अन्यन्तै गम्भीरताका साथ लिनुपर्छ ।

चीनसँग पुराना सम्झौता प्रशस्त छन् भने नयाँ विश्व परिवेशमा थुप्रै विषयलाई ध्यानमा राखी भविष्यमुखी भएर पनि अग्रसरता लिन आवश्यक हुन आउँछ । एकदुई वर्षमै नेपाल अतिकम विकसित राष्ट्रको कुचकबाट बाहिर आउँदैछ । राम्रो नीति, कार्यक्रम र लगानीको परिवेश तयार गर्न सके आउँदो २५ वर्षमा नेपाल विकसित राष्ट्रको समूहमा पनि जान सक्ने प्रशस्त अवसर देखिन्छ । यस पृष्ठभूमिमा दीर्घकालीन योजना, नीति र कूटनीति परिचालन गरेर जानु नै नेपालको सर्वोत्तम हितमा हुनेछ ।

सन् २०१६ मार्चमा चीन भ्रमणमा पेट्रोलको आंशिक पूर्ति गर्न र पारवहनबारे चीनसँग गरेको समझदारीले नेपाल दुई ढुंगाबीचको तरुलको अवस्थाबाट बाहिर निस्किसकेको हो । अब भारतबाट कुनै ठूलो थिचोमिचो भारतबाट हुन गाह्रैपर्छ र गरेको खण्डमा भारत स्वयंलाई नै नोक्सानी बेहोर्नुपर्ने अवस्थाको ज्ञान राम्ररी गराएको छ ।विगतका अनुभवबाट हामीले पनि राम्रोसँग बुझ्नुपर्छ- भारतको विकल्प चीन होइन र चीनको विकल्प भारत पनि होइन । दुवैको सम्बन्धको आआफ्नै इतिहास महत्व र आवश्यकता छ । नेपाल दुवैसँग सहयोगात्मक रूपमा जानुपर्छ, प्रतिस्पर्धात्मक होइन । हाम्रो द्रूत विकासका लागि भारत र चीन दुवैको सहयोगको नितान्त आवश्यकता छ । उत्तर नेपालको विकासको गति धेरै कम भएकाले राज्यले त्यसमा बढी ध्यान दिन आवश्यक छ, जसका लागि चिनियाँ सहयोग महत्वपूर्ण हुन सक्छ ।

हामी चीनबाट आयात गरेजति सामान निर्यात गर्ने अवस्थामा छैनौं । समयमै ध्यान पुर्‍याएनौं भने हामी पनि ऋणको कुचक्रमा परी असफल राष्ट्र हुन पनि बेर लाग्दैनौं ।

समकालीन विश्वमा चीन दोस्रो आर्थिक शक्तिका रूपमा उदाएको छ । चीनको व्यापार र विदेशी लगानीले विदेशमा ठूलो स्थान बनाएको छ । अमेरिका तथा युरोपका देशहरू आज चीनको बढ्दो आर्थिक शक्तिसँग धेरै भयभीत भएका छन् । करिब-करिब सबै राष्ट्रको व्यापार घाटा चीनसँग हरेक वर्षजस्तै बढ्दै गएको प्रगतिशील सूचकमा नेपालले यसबाट फाइदा उठाउन नसक्नु दुर्भाग्य मात्र हुनेछ ।

चीन एउटा परिपक्व देश हो, जहाँ हरेक संस्थागत कार्य सम्पादन र त्यसको अभिलेख सुरक्षित छ । जबकि हाम्रो हकमा व्यक्तिमा बढी भर पर्ने गरिन्छ । चीनको यो भ्रमणलाई फलदायी बनाउन प्रधानमन्त्रीले परम्परागत शैली त्याग्नुपर्छ । व्यावसायिक तरिकाले चीनको भविष्यको आकांक्षा र संवेदनशीलतालाई दृष्टिगत गर्दै सम्भावनाका प्रथामिकता छनोट गर्नु उपयुक्त हुन्छ । प्रधानमन्त्री ओलीले निम्न विषयमा ध्यान पुर्‍याउनु उचित हुन्छ :

 विश्वसनीयता

चीनसँग सफलतापूर्वक व्यावसायिक तरिकाले सम्बन्ध राख्ने हो भने हामीले औपचारिकता र व्यावहारिकताको फरक राम्ररी बुझ्नुपर्छ । चीनले पहिले नेपालको जसरी विश्वास गथ्र्यो, अहिले त्यसमा कमी आएको छ भन्ने हामीले बिर्सनु हुँदैन । नेपालबाट तिब्बतमा भएको घुसपैठ, तातोपानी नाकाको दुरुपयोग र दलाई लामाको क्रियाकलापले चीन सशंकित भएको छ । त्यसैगरी राजनीतिक अस्थिरता तथा आर्थिक अकर्मण्यताले नेपालको क्षमतामाथि नै प्रश्नचिह्न उठ्ने गरेको छ ।

सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति चियाङ चमिनले नेपालको भ्रमण गरेपश्चात् कुनै पनि चिनियाँ राष्ट्राध्यक्ष नेपाल आएका छैनन् । वर्तमान चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१६ मा दक्षिण एसियाको भ्रमण गर्दा बंगलादेशसम्म पुगे, तर नेपाललाई प्राथमिकतामा राखेनन् । यसले पनि नेपालप्रति चीनको घट्दो विश्वसनीयता पुष्टि गर्छ । नेपालको विश्वसनीयता चीनसँग मात्र नभई भारतसँग पनि कम भएको छ । यी देशले नेपाली भूमिसँग जोडिएका आफ्ना सुरक्षा सुनिश्चित गर्न आफ्नै तरिकाले काम गरेका छन् । नेपालप्रति भने निकै कम भर पर्ने गरेका छन् ।

हामीले हामीप्रतिको विश्वसनीयता पुनः स्थापना गर्नुपर्छ । प्रधानमन्त्री ओली यसबारे पूर्णरूपले सचेत हुनुपर्छ । चीनले नेपाललाई भारतको प्रभाव क्षेत्रमा परेको महसुस गर्दछ । त्यसैले नेपालले थालेको कुनै पनि परियोजनामा चीन सहज हुँदैन । सेती, बूढीगण्डकी विद्युत् परियोजनाले यही इंगित गर्दछ । । अतः जे भन्नु छ, त्यो हरेक हालतमा गरेर देखाउने संकल्प नेपालले लिनुपर्छ । बोआवो र सांघाई सम्मेलनमा नेपालले निम्ता नपाउनुले पनि चीनको नेपाल बुझाइअभिव्यक्त गर्छ ।

चालु सम्झौताको निरन्तरता

नेपालले चीनसँग गरेका सम्झौता कति चालु अवस्थामा छन् र कति छैनन् भन्ने पुनरावलोकन गरी आउने भ्रमणमा ती परियोजनालाई निरन्तरता दिनु श्रेयस्कर हुनेछ । पोखरा विमानस्थल, माथिल्लो त्रिशूली जलविद्युत्, खाद्य सामग्री सहयोग, रिङरोड फ्लाई ओभरब्रिज आदिलाई समयभित्रै समाप्त गर्नुपर्छ । साथै बीआरआईअन्तर्गत पर्ने नयाँ परियोजनामध्ये नेपालको प्राथमिकताअनुसार केही परियोजनाको विस्तृत विवरण यसै बेला बुझाउँदा ठीक हुनेछ । केरुङ-गल्छीसम्मको रेलमार्ग, तातोपानी सडक, चार खालमा पेट्रोल भण्डार निर्माण अति जरुरी कार्य हुन् । नेपालको आफ्नो हालको आवश्यकता र भविष्यमा विकासका गतिमा तीव्रता प्रदान गर्ने परियोजना यसै भ्रमणमा तय गर्दा राम्रो हुन्छ ।

हामी चीनबाट आयात गरेजति सामान निर्यात गर्ने अवस्थामा छैनौं । समयमै ध्यान पुर्‍याएनौं भने हामी पनि ऋणको कुचक्रमा परी असफल राष्ट्र हुन पनि बेर लाग्दैनौं ।

भारतको प्रतिस्पर्धात्मक उपस्थिति र सुरक्षामा आउन सक्ने खतरालाई ध्यानमा राखी बीआरआईका आयोजनालाई क्रमशः आवश्यकताअनुसार ताल मिलाई जानु राष्ट्रिय हितमा हुनेछ । यसो भन्दा चीन विश्वकै प्रथम शक्तिशाली राष्ट्र बन्ने होडबाजीमा रहेको बिर्सन हुँदैन । त्यसको अभिव्यक्ति बीआरआईमार्फत भइरहेछ । अमेरिका, युरोपेली युनियन, भारतलगायतका देशहरू चीनको यस महत्वाकांक्षी योजनाबाट चिन्तित छन् । त्यसैले दक्षिण एसियामा भारतको अग्रणी भूमिका रहने गरी कनेक्टिभिटीको परिकल्पना गरिएको छ । हामीले यो संवेदनशीलतालाई राम्रोसँग बुझ्नुपर्छ । बीआरआईबाट नेपालले केवल फाइदा पुर्‍याउँछ भन्ने छैन । यसले बोकाउने ऋणको भारी उठाउन हामीले त्यत्तिकै मात्रामा आर्थिक क्रियाकलाप गर्नुपर्छ ।

चीनको यस परियोजनाका कारण धेरै देश ऋणमा डुबेर नोक्सानी व्यहोरिरहेको चर्चा अन्तर्राष्ट्रिय आर्थिक समाजमा भइरहेको छ । माल्दिभ्स, श्रीलंका, म्यानमार, पाकिस्तानजस्ता देशले ऋण धान्न नसकेर आफ्नो जमिन नै ९९ वर्षसम्म धरौटीमा राखेर ऋण लिने बाध्यतामा पुगेका छन् । नेपालको हालको आर्थिक क्षमता ऋण तिर्ने किसिमले अत्यन्त न्यून छ । हाम्रो व्यापार घाटा चीनसँग पनि उत्तिकै छ ।

हामी चीनबाट आयात गरेजति सामान निर्यात गर्ने अवस्थामा छैनौं । समयमै ध्यान पुर्‍याएनौं भने हामी पनि ऋणको कुचक्रमा परी असफल राष्ट्र हुन पनि बेर लाग्दैनौं । अतः थोरैथोरै लगानी हुने परियोजनामा जोड दिन उचित हुनेछ । हामीले मृगतृष्णा नगरी उत्पादकत्व, नाफा तिर्न सक्ने क्षमता निर्धारण गरी मात्र काम लिँदा ठीक हुनेछ । साथसाथै हामीले चीनले सहयोग गरेको ट्रलीबस, बाँसबारी जुत्ता कारखाना, भृकुटी कागज मिलजस्ता उद्योग धराशायी बनाएको बिर्सनु हुँदैन ।

 व्यापार घाटा र पारवहन

नेपाल र चीनको व्यापार घाटा निरन्तर बढ्दै गइरहेको छ । यस अवस्थामा हाम्रो निर्यात गर्ने सामग्री अभावले यस खाडललाई पुर्न गाह्रो छ । हाम्रो निर्यात एक सय ८९ मिलियन डलरको छ भने आयात १ हजार २ सय ४७ मिलियन डलरको छ । यस अवस्थामा हामीले विद्युत् उत्पादन गरी चीनबाट नयाँ ट्रान्समिसन लाइनबाट निर्यात पूर्ति गर्ने तथा पहाडी-हिमाली क्षेत्रमा स्थानीय फलफूल उत्पादन, जडिबुटी, यातायातमा बिजुली खपत गरी व्यापार घाटा मिलान गर्न सकिन्छ । सुनकोसी, किमाथांका अरुण दोस्रो, उपल्लो त्रिशूली, बूढीगण्डकी आदि जलविद्युत् परियोजनाबाट हुने राष्ट्रिय हितलाई मध्यनजर गर्र्दै चिनियाँ लगानी बढाउँदा उपयुक्त हुन्छ । साथै हाम्रा निर्यातका लागि सडकदेखि बन्दरगाहसम्म सुनिश्चितता स्थापना गर्नेमा जोड दिनुपर्छ ।

 पर्यटन

पहाडी क्षेत्रमा चिनियाँ लगानीले सकारात्मक प्रभाव पार्न सकिने देखिन्छ । चीनबाटै लाखौं पर्यटक आउने गर्छन्, तर भ्रमणयोग्य स्थान खुला नभएर यसको फाइदाबाट नेपाल वञ्चित भएको छ । स्थानीय उत्पादनका साथै पर्यटन उद्योगमा वृद्धि गराउने खालको सम्झौताले पहाडको आर्थिक क्षमता उकास्न मद्दत पुर्‍याउनेछ । तर यस क्षेत्रमा सानो मात्राको लगानीलाई हतोत्साहित गर्नुपर्छ । अर्कोतर्पm यो लगानी भने यसमा नेपाली लगानी नै हुनुपर्छ, अन्यथा यसले नाकारात्मक प्रभाव पार्न सक्छ । चीन सीमामा खुला रहेको सात नाकालाई सडक सञ्जालले जोडदा उचित हुनेछ ।

 सीमा चासो

नेपाल चीनबीच रहेको १ हजार ४ सय १४ किलोमिटरको सीमामा केही स्थानमा विवाद बढेको छ । त्यसलाई तत्काल समाधान गर्ने पहल यसै भ्रमणमा गर्नुपर्छ । खासगरी लिपुलेकबारे भारतसँग २०१५ मा चीनले सम्झौता गर्दा दुईपक्षीय रूपमा व्यापारिक नाकाका रूपमा लिएको थियो । तर त्यो सम्झौता अहिलेसम्म सच्याइएको छैन । त्यसबारे यही भेटमा चर्चा गर्नु उपयुक्त हुनेछ ।

 चिनियाँ संवेदनशीलता

नेपालले आफ्नो विकास, व्यापार र लगानीबारे जति सतर्कता अपनाए पनि चीनको संवेदनशीलताबारे लापरबाही गर्‍यो भने चीनसँग सम्बन्ध बिग्रन सक्छ । खासगरी नेपालको भूमिबाट तिव्बतविरोधी क्रियाकलाप, सहयोग र घुसपैठलाई चीनले धेरै गम्भीरतापूर्वक लिने गर्दछ । यसबाहेक पनि सिनच्याङ र अन्य क्षेत्रमा मुसलमान विरोधको पनि दबाब बढ्दैछ । यसको गम्भीरतालाई विचार गरी नेपालले चीनलाई पूर्ण आश्वस्त बनाउन सक्नुपर्छ । भारतले दलाई लामाका क्रियाकलापमा धेरै रोक लगाइसकेको छ । हामीले पनि यस्तैगरी चीनलाई राम्रो मित्रताको परिचय दिनुपर्छ । साथै एक चीन सिद्धान्तको परिपोषक रूपमा प्रस्तुत गर्नुपर्छ ।

हामी चीनबाट आयात गरेजति सामान निर्यात गर्ने अवस्थामा छैनौं । समयमै ध्यान पुर्‍याएनौं भने हामी पनि ऋणको कुचक्रमा परी असफल राष्ट्र हुन पनि बेर लाग्दैनौं ।

प्रधानमन्त्रीले नेपाल र चीनको सम्बन्धमा नयाँ प्रस्थान विन्दु खोज्नुपर्छ, जसले यो चुनौतीपूर्ण समयमा नेपाल-चीनको सहयोगले भविष्यमा मैत्रीको आधारशिलालाई झन् बलियो बनाउन निर्णायक भूमिका खेल्न सकोस् । नेपालको परराष्ट्र नीतिमा परिवर्तन मार्च २०१६ देखि नै आइसकेको छ । त्यतिबेला नेपालले गरेको भारतप्रतिको निर्भरता छुटाउने पहल स्वीकार गरी चीनले घनिष्ट मित्रताको एउटा थप परिचय दिएको थियो । चीनसँग यातायात, जलविद्युत्, आधारभूत आवश्यक निर्माण कार्य आदि समयसीमा तोकेर कार्यान्वयन गर्नु उपयुक्त हुनेछ ।

चीनको कूटनीति एक दशकअघि प्रतिरक्षात्मक थियो भने अहिले सक्रिय अग्रगामी भएको छ । बीआरआई त्यसैको परिणाम हो, जसले चीनलाई ठूलो महत्वाकांक्षी बनाएको छ । संसारमा चीनको व्यापारिक मात्र होइन, सामरिक प्रभुत्व बढ्दै जानेछ । यसअनुरूप नेपाल यस खेलको गोटी बन्ने होइन, बरु आफ्नो सीमा र शक्ति सम्झेर सीमित रूपमा राष्ट्रिय हितमा बढ्नु बेस हुन्छ ।

त्यस्तै ऋणको कार्यक्रममा नफसी अनुदानमै बीआरआईअन्तर्गतको पारवहन यातायात कार्य सम्पन्न गर्नेमा ध्यान केन्द्रित गर्न बेस हुन्छ । यसमा गरिने लापरबाहीले नेपाललाई ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । नेपालले कूटनीति सञ्चालन गर्दा भारत वा चीन कतैतिर नझुकी सन्तुलन बनाएर युगान्तकारी नयाँ अध्याय सुरु गर्न चुक्नु हुँदैन ।

-पूर्वराजदूत ठाकुर राजदूत एसोसिएसनका उपाध्यक्ष हुन् 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.