सम्यक् समालोचना
किताब समीक्षा र समालोचकहरूको प्रवृत्तिबारे टिप्पणी गर्ने उपयुक्त व्यक्ति पंक्तिकार होइन। यस विषयमा उसले असाध्यै कम कलम चलाएकाले यसका सैद्धान्तिक तथा व्यावहारिक पाटाबारे ऊ धेरै अनभिज्ञ छ। लेखन कर्म सुरु गर्दाताकाका दिनमा उसले केही किताबमाथि टिप्पणी गर्यो। तर, समयक्रममा किताब समीक्षा लेख्ने खुबी आफूसँग नरहेको महसुस गरी अलग भयो। त्यसपछिका दिनमा उसले सिर्फ एउटा किताबको समीक्षा गरेको छ। किताब समीक्षाबारे त्यति जानकार नभए पनि ऊ जर्नल, पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिने किताब समीक्षा अभिरुचिपूर्वक पढ्ने पाठकचाहिँ हो। त्यसैले पाठकको हैसियतले यसबारे टिप्पणी गर्ने जमर्को गरेको छ।
०००
नेपाली भाषामा किताब लेखनको परम्परा त्यति पुरानो छैन। सन् १७१६ मा तयार भएको ‘ज्वरोत्पति चिकित्सा’ शीर्षकको आयुर्वेदसँग सम्बन्धित ग्रन्थको पाण्डुलिपि नेपाली भाषामा तयार भएको थियो (कमल पि. मल्ल, फ्रम लिटरेचर टु कल्चर, सन् २०१५, पृ. २६)। किताब प्रकाशन गर्ने आधुनिक चलनचाहिँ मोतीराम भट्टको उदयपछि मात्रै आरम्भ भएको थियो। त्यसको करिब अढाई दशकपछि नेपालमा किताब समीक्षा गर्ने क्रम सुरु भयो।
नेपालमा किताब समीक्षा गर्ने चलन आरम्भ गर्ने श्रेय गोरखापत्रलाई जान्छ। मदन पुस्तकालयमा आबद्ध अन्वेषक दीपक अर्यालका अनुसार नेपालको पहिलो किताब समीक्षा करिब एक सय वर्षअघि १० असोज, १९७२ मा गोरखापत्रमा छापिएको थियो। ‘सय वर्षअघिको समालोचना’ शीर्षकको लेखमा अर्यालले जनाएअनुसार ‘दुर्गा भक्ति तरङ्गिणी’ शीर्षक भएको नेपाली भाषामा प्रकाशित ३०९ पृष्ठको नाटकबारे गोरखापत्रमा ‘समालोचना’ शीर्षकअन्तर्गत समीक्षा छापिएको थियो। किताबका लेखक केदारशमशेर थापा क्षेत्री र संशोधनकर्ता वीरेन्द्रकेशरी पण्डित थिए। समालोचकको नाम गोरखापत्रमा खुलाइएको थिएन। समालोचनामा पुस्तक निकै उपयोगी रहेको पटकपटक दोहोर्याउँदै यसका कमजोरी पनि औँल्याइएको छ, ‘यसमा ठाउँठाउँमा शब्दको त्रुटि छ, सो भयतापनि, आशा छ कि, नेपालिभाषा साहित्यको एक अङ्गजस्तो यो ग्रन्थ प्रचलित होला र अरु अरु आबृत्ति छापिदा ती शब्दहरूको सुधार होला।’
त्यसपछि गोरखापत्रमा देशविदेशबाट निस्किएका केही किताबबारे समाचार र समीक्षा फाट्टफुट्ट छापिन थाल्यो। त्यति बेलाका समीक्षामा गुणदोष केलाउँदै स्वतन्त्र विवेचना गरिँदैन थियो। सत्ताले समेटेका मानिसले लेखेका सत्तास्वार्थसँग नबाझिने किताबहरूको महिमा गाइन्थ्यो। सत्ताधारीहरूको स्वार्थसँग बाझिने खालका किताबहरूको चर्चा गरिँदैन थियो। चर्चा गर्नै परे कमजोरीलाई बढी उछालिन्थ्यो।
विसं १९९३ जेठ ९ गते गोरखापत्रमा दार्जिलिङका लेखक सूर्यविक्रम ज्ञवालीले लेखेको ‘पृथ्वीनारायण शाह’ शीर्षकको किताबमाथिको समीक्षा प्रकाशित भयो। त्यति बेला दार्जिलिङ र आसपासको पहाडी भेगका नेपालीभाषीले सुगौली सन्धिपूर्वको नेपालको विरोचित इतिहास र नेपाली भाषाको महिमा गाएर नेपाली मूलका भारतीयहरूको साझा पहिचान निर्माण गर्ने जमर्को गरिरहेका थिए। यस्तो प्रयास गर्ने मुख्य व्यक्तिहरूमा सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान र धरणिधर कोइराला थिए। यसै सिलसिलामा ज्ञवालीले पृथ्वीनारायणको जीवनी प्रकाशित गरे। त्यति बेला नेपाली राज्यले नेपालको इतिहासलाई सकेसम्म दबाउने नीति लिएको थियो। इतिहासकार डा. महेशराज पन्तका अनुसार चन्द्रशमशेरले बेलायती पत्रकार पर्सिभल ल्यान्डनलाई पैसा दिएर आफूलाई केन्द्रमा राखी नेपालको इतिहास लेख्न लगाएका थिए (पर्सिभल ल्यान्डन र उनको नेपालको इतिहास, राजधानी, ४ फागुन २०७२)। चन्द्रशमशेरबाट लेखनवृत्ति पाएर ल्यान्डनले ‘नेपाल’ शीर्षकमा दुई ठेली किताब लेखे।
सर्वसाधारणसमेतले बुझ्ने नेपाली भाषामा चाहिँ नेपालको इतिहास नलेखिऊन् र नेपालमा नेपाली इतिहासबारे भरिसक्के चर्चा नहोस् भन्ने चाहना राणाहरूको थियो। नेपालको इतिहास लेखिए राणाहरूले खोपीका देउता बनाएर थन्क्याएका शाह राजाहरू विगतमा प्रभावशाली रहेको र कुँवर (राणा) खलकचाहिँ तल्लो श्रेणीको भारदार रहेको कुरा रैतीले चाल पाउने थिए। यसबाट शासक बन्ने आफूहरूको ‘प्राधिकार’मा धक्का लाग्नसक्छ भन्ने भय राणाहरूलाई थियो। त्यसैले राणाकालताका शैक्षिक संस्थाहरूमा इतिहास विषयअन्तर्गत नेपालको होइन, युरोपको इतिहास पढाइन्थ्यो। त्यस्तो अवस्थामा दार्जिलिङबाट ज्ञवालीले नेपाली भाषामा पृथ्वीनारायणको जीवनी प्रकाशित गर्दा तत्कालीन नेपाली राज्य अप्रसन्न हुनु स्वाभाविक थियो। यस्तो अप्रसन्नता झल्किने गरी ‘समालोचना’ शीर्षकअन्तर्गत बडो होशियार भाषामा ज्ञवालीको पुस्तकको आलोचना गरियो—
‘यो पृथ्वीनाराण शाहको जीवनचरित्र हो रे। लेखकले परि श्रमपूर्वक खोज गरेर लेखेको बुझिन्छ। पृथ्वीनारायण शाहले श्री गोरखनाथबाट बरदान पाएका थिए भन्ने दन्तेकथाका साथसाथै राज्य प्राप्तिका निम्ति उनले गरेको घोर परि श्रम राजनैतिक दाउपेच इत्यादि एकै ठाउँमा देखिदा वरदानको कुरा पनि एउटा राजनैतिक लीला नै रहेछ कि भन्ने झल्कन्छ। जे होस् दन्तेकथाको आधार लिएर यस्तो परोक्ष कुरामा बिचार गर्ने हाम्रो शक्ति छैन। ‘बनपा ग्राम भन्दा ३ कोस दक्षिण पूर्वमा धुलिखेल छ’ भन्ने एउटा अर्को ठाउँमा लेखिएको देखियो। तर वास्तवमा एक कोस भन्दा बताए छैन होला, बरु तीन पाउ हुनु संभव छ। भक्तपुरबाट बनेपा पनि २ कोस होइन ३ कोस होला। ‘भुमिका’ चाहिँ लेखन–यज्ञको पूर्ण–पात्र जस्तै छ। भूमिका मात्र हेरेको खण्डमा यस पुस्तकमा कही त्रुटि रहन गएको होला भन्न मनमा चढ्नै शक्तैन। पुस्तक हालैमा छापिएको भए तापनि यसमा व्याकरणको नियम चाहिँ उही पुरानो रहेछ। जे होओस् परि श्रम साथ यस्तो भारी उपयोगी पुस्तक लेख्ने लेखकलाई हजारौं धन्यवाद दिनै पर्दछ। नेपाली मात्रले यो पुस्तकका स्वागत गर्नै पर्दछ।’ (नयराज पन्त आदि, श्री ५ पृथ्वीनारायण शाहको उपदेश, २०२५, पृ. ३)
त्यस्तो अवस्थाबाट सुरु भएको पुस्तक समीक्षाको परम्परा अहिले निकै उन्नत भइसकेको छ। समालोचनाबारे नेपालमा हजारौं पुस्तक छापिएका छन्। जर्नल र पत्रपत्रिकामा किताब समीक्षा प्रकाशित भइरहन्छन्। किताबसम्बन्धी परिचर्चालाई टेवा पुगोस् भनेर सामाजिक सञ्जालमा थुप्रै समूह बनेका छन्। यसबाहेक सामाजिक सञ्जाल प्रयोग गर्ने किताबप्रेमीहरूले ‘वाल’मा आफूले पढेका किताबप्रतिको धारणा ‘पोस्ट’ गर्ने गरेका छन्। किताबबारे हुने यस्ता परिचर्चाले समग्र प्रकाशन उद्योगलाई लाभ पुर्याइरहेको छ।
नेपालमा किताब समीक्षा गर्ने चलन आरम्भ गर्ने श्रेय गोरखापत्रलाई जान्छ। नेपालको पहिलो किताब समीक्षा करिब एक सय वर्षअघि १० असोज, १९७२ गते गोरखापत्रमा छापिएको थियो।
पछिल्लो समय किताबबारे बढी चर्चा हुने ठाउँ पत्रपत्रिका र सामाजिक सञ्जाल बनेका छन्। भर्खरै प्रकाशित किताब कति सफल भयो भन्ने निक्र्योल गर्न पत्रपत्रिका र सामाजिक सञ्जालमा हुने तिनका चर्चालाई आधार बनाउन थालिएको छ। भर्खरै सार्वजनिक भएका किताब किनेर तिनको प्रारम्भिक अथवा पूर्ण पठन गरी तिनमाथिको टिप्पणी सार्वजनिक गर्ने प्रतिस्पर्धा चल्न थालेको छ। नेपालको प्रकाशन उद्योग तथा विद्वत् जगत्का लागि यो शुभ संकेत हो। सामाजिक सञ्जालमा हुने किताबसम्बन्धी परिचर्चा र पत्रपत्रिकामा छापिने समीक्षाबारे त्यति बहस नभएकाले किताबहरूमाथिको यस्तो चर्चालाई बढी रचनात्मक बनाउन सकिएको छैन।
०००
किताब समीक्षा किन गरिन्छ ? यसबारे निष्कर्षमा पुग्नुअघि समीक्षाको अर्थ केलाउनु वाञ्छनीय हुन्छ। बृहत् नेपाली शब्दकोषले समीक्षा, समालोचना र आलोचनालाई पर्यायवाची शब्द मानेको छ। शब्दकोषले यी शब्दको मोटामोटी अर्थ यसरी लगाएको छ, ‘कुनै पनि कुराको गुणदोष केलाई निष्पक्ष रूपमा विवेचना गर्ने काम।’ संस्कृत भाषाको शब्द मीमांसा लाई समीक्षाको विस्तीर्ण रूप मान्न सकिन्छ। मीमांसा संस्कृत वाङ्मयका छवटा दर्शनमध्ये एक हो, जसअन्तर्गत पक्ष–विपक्षमा आएका मतलाई ध्यान राखेर निष्कर्ष निकाल्ने गरिन्छ।
किताबले सूचना र विचार बोकेको हुन्छ। किताबमा प्रस्तुत गरिएका सूचनालाई तथ्यको र विचारलाई कालपरिवेश तथा अन्य वैचारिक मतको आलोकमा हेरेर समीक्षा गर्ने गरिन्छ। अमरकोशले दोषज्ञ शब्दलाई विद्वान् शब्दको पर्याय मानेको छ। दोषज्ञको अर्थ हुन्छ— दोष देखाउनु अर्थात् त्रुटि औंल्याउनु। समीक्षामा औंल्याइने तथ्यगत त्रुटिले पाठकलाई गलत सूचनाको सिकार बन्नबाट जोगाउँछ। विभिन्न वैचारिक मतबीचको घर्षणबाट सत्य उद्घाटित हुने भएकाले किताब समीक्षाले वैचारिक विमर्शलाई सघन बनाउन मद्दत पुर्याउँछ। त्यसैले साहित्य र समग्र वाङ्मयको उन्नयनका लागि समालोचना ज्यादै महŒवपूर्ण छ। तर, यो सर्वत्र उपेक्षा गरिएको विधा हो। यस्तो उपेक्षित विधामा कलम चलाउने समीक्षकहरूलाई साधुवाद भन्न कञ्जुस्याइँ गर्नु हुँदैन।
समीक्षा विधामा पछिल्लो समय नयाँ र पुरानो पुस्ताका केही लेखकले निरन्तर कलम चलाइरहेका छन्। साहित्य विधातर्फ हरि अधिकारी, राजकुमार बानियाँ, राम लोहनी, महेश पौड्याल, गुरुङ सुशान्त आदिले कलम चलाइरहेका छन् भने इतिहास–संस्कृति विधातर्फ डा. महेशराज पन्त, त्रिरत्न मानन्धर आदिले लेखिरहेका छन्। पुस्तक समीक्षा गर्ने चाहना हुँदाहुँदै पनि ‘बेक्कारमा अपजसको भारी किन बोक्नु’ भन्दै पन्छिने लेखकहरूसमेत छन्।
०००
पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिने किताबमाथिको टिप्पणी पढ्दा केही समीक्षकले समीक्षाको नाममा भडास पोख्ने र लेखकसँगको व्यक्तिगत रिसइबी साध्ने काम गरिरहेका छन् जस्तो देखिन्छ। कृतिमाथि नभई लेखकमाथि लक्षित भएर अन्धाधुन्ध प्रहार गर्ने प्रवृत्तिका कारण समीक्षाको विश्वसनीयतामाथि प्रश्नचिह्न उठेको छ।
एउटा अन्तर्वार्तामा समीक्षक हरि अधिकारीले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको संस्मरण ‘कूटनीति र राजनीति’ किताब नभएर एउटा पाखण्ड भएकाले त्यसको नकाब उतार्न आफूले समीक्षा लेखेको सगौरव बताएका छन् (चिरञ्जीवी पौडेल, ‘मै हुँ भन्ने लेखकहरूलाई उदांगो बनाइदिएको छु’, अनलाइनखबर डटकम, १४ चैत, २०७४)। अधिकारीले लेखेको ‘कूटनीति र राजनीति’को समीक्षा पङ्क्तिकारले पढ्न पाएको छैन परन्तु एउटा सार्वजनिक ठाउँमा उनले यस किताबमा रहेको भनिएको एउटा ‘पाखण्ड’बारे गरेको चर्चा पंक्तिकारले सुनेको छ। चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले नेपाल भ्रमण गरेको बेला काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा आफूले चाउलाई पत्रकारको हैसियतले प्रश्न गरेको भनी पाण्डेले किताबमा दाबी गरेको उल्लेख गर्दै अधिकारीले भने, ‘त्यति बेला उनी १६ वर्षको थिए होलान्, त्यो उमेरमा आफूले चाउलाई प्रश्न सोधेको भनेर पाण्डेले झुट लेखेका छन्। यस्ता पाखण्ड किताबमा प्रशस्तै छन्।’
पाण्डेको किताबमा रहेको भनिएका ‘पाखण्ड’बारे पंक्तिकारलाई थाहा छैन। तर, पाण्डेले पत्रकारको हैसियतले चाउलाई प्रश्न सोधेको कुराचाहिँ सत्य हो। पत्रकार सम्मेलनमा पाण्डेले चाउलाई ‘नेपाल र चीनबीच नयाँ सन्धि हुने भएपछि त्यसअघि सन् १९५६ मा पञ्चशीलका आधारमा दुई देशबीच भएको सम्झौता के खारेज हुन्छ ? ’ र ‘राजकीय भोजमा तपाईंले नेपाल र चीनबीचको सीमा हजारौं वर्षदेखि औपचारिक रूपमा नक्सांकन गरी छुट्याउने काम भएको छैन भन्नुभयो, त्यसो भन्नुको तात्पर्य के हो ? ’ भनी सोधेका थिए। उनले गरेका प्रश्न र चाउले दिएको उत्तर भारतीय विदेश मन्त्रालयका कर्मचारी अवतार सिंह भासिनले सम्पादन गरेको दस्तावेज संग्रहमा सुरक्षित छ (ए.एस. भासिन (सं), डकुमेन्ट्स अन नेपाल्स रिलेसन्स विथ इन्डिया एन्ड चाइना १९४९–६६, सन् १९७०, पृ. २७१–७२)। लेखकप्रति पूर्वाग्राही भएर किताब पढ्दा र आवश्यक अध्ययन नगरीकन लेखकलाई खुइल्याउने दुराशय राखी कलम चलाउँदा समीक्षक स्वयं खुइलिएको यो उदाहरणबाट अरू समीक्षकले पाठ सिक्नुपर्छ।
समीक्षाको ध्येय लेखकलाई खुइल्याउने अथवा किताबलाई गिराउने हुनु हुँदैन। समीक्षा लेखकमाथि नभई उसको कृतिमाथि केन्द्रित हुनुपर्छ। किताबमा लेखिएको कुराको सन्दर्भ प्रस्ट पार्न लेखकको जीवनबारे चर्चा गर्नचाहिँ सकिन्छ। वाङ्मयको उन्नयन र स्वस्थ विमर्शलाई अभीष्ट बनाएर समीक्षा लेख्दा समीक्षक आफ्नो धर्मबाट च्यूत हुने सम्भावना रहँदैन।
समीक्षा लेख्दै गर्दा यसमा प्रयोग गरिने भाषाबारे पनि ख्याल राख्नुपर्छ। समालोचकको ध्येय लेखकलाई थप जिम्मेवार बनाउने हुनुपर्छ। आफूले गर्ने आलोचनाबाट लेखक हतोत्साहित नहोस् र उसको आत्मविश्वास नगिरोस् भन्नेतर्फ समालोचक सचेत रहनुपर्छ।
टिप्पणीकारको प्रस्तुतिका कारण लेखन कर्म चटक्कै छोडेका एकजना कविबारे समाज अध्ययता तथा साहित्यकार जनकलाल शर्माले उल्लेख गरेका छन्। उनका अनुसार भोला पराजुली नाम गरेका व्यक्ति पूर्णप्रसाद ब्राह्मण नाम गरेका कविकहाँ आफूले लेखेको कविता देखाउन र परिस्कार गरिमाग्न जाने गर्थे। भोलाको कविता राम्रा हुँदाहुँदै पनि पूर्णप्रसादले शब्द जथाभावी फेरबदल गरिदिएको देखेपछि जनकलालले सोधेका थिए, ‘भोलाको पदविन्यास त्यति राम्रो हुँदाहुँदै पनि किन उनका...पद काटेर आफ्नो पद राखिदिएको ? ’ पूर्णप्रसादले जवाफ दिएका थिए, ‘देखाउन ल्याएपछि नकाटी हुन्छ त लाटा ! नकाटे उसले मेरो अस्तित्व नै स्वीकार गर्दैन।’ यस्तो अनावश्यक काँटछाँट र दुराग्रहयुक्त टिप्पणीबाट हतोत्साहित भएर भोलाले कविता लेख्न छोडेको र एउटा होनहार कविको सेवा पाउनबाट राष्ट्र वञ्चित भएको जनकलालले लेखेका छन् (डा. माधवप्रसाद पोखरेल र डा. सुमन ढकाल (सं), जनकलाल शर्माका संस्मरण, २०६०, पृ. १७८)।
०००
अहिलेका जल्दाबल्ला पढैया समीक्षक राम लोहनी भर्खरै प्रकाशित प्रायः सबै किताबको दोष औंल्याउन व्यस्त भइरहेका हुन्छन्। आख्यान, गैरआख्यानदेखि अनुवाद विधासम्मका किताबमा रहेका खोट औंल्याउँदै फेसबुकमा ‘पोस्ट’ गर्ने र पत्रपत्रिकामा समीक्षा प्रकाशित गर्ने गर्छन्। किताबमा प्रयुक्त तथ्य, प्रस्तुतिको बान्की, हिज्जे र किताबको गातासम्ममा रहेका खोट औंल्याउने गर्छन्। किताबमा दोष भेटिए तिनलाई शालीन पारामा उदांगो पार्नुपर्छ भन्ने मान्यतामा उनी त्यति सहमत देखिँदैनन्। नयाँ किताब प्रकाशित भएको चाल पाउनासाथ ती किताबको परख गर्नुपट्टि नलागी त्रुटि खोज्नपट्टि लाग्छन्। लेखकले किताब लेखेर अपराध गरेको हुँदैन। किताब दोषरहित हुनुपर्छ भन्ने मान्यता सिद्धान्ततः सही भए पनि ज्यादै थोरै किताब मात्रै दोषरहित हुन्छन्। त्यसैले दोष देखाउँदै गर्दा लेखक हतोत्साहित नहोस् भन्नेमा समीक्षकले ख्याल पुर्याउनुपर्छ। समीक्षकको ध्येय लेखकको हैसियत देखाउने नभई उसलाई जिम्मेवार बनाउने हुनुपर्छ।
किताब समीक्षा किन गरिन्छ ? यसबारे निष्कर्षमा पुग्नुअघि समीक्षाको अर्थ केलाउनु वाञ्छनीय हुन्छ। बृहत् नेपाली शब्दकोषले समीक्षा, समालोचना र आलोचनालाई पर्यायवाची शब्द मानेको छ।
लेखकले किताब लेख्न वर्षौं मेहनत गरेको हुन्छ। यो पक्षलाई समीक्षकले सम्मान गर्नुपर्छ। समीक्षा लेख्दै गर्दा नेपाली परिवेशप्रति आँखा पनि चिम्लिनु हुँदैन। लियो टाल्सटाय, फ्योदोर दोस्तोयेव्स्की अथवा चाल्र्स डिकेन्सका उपन्यासलाई मापदण्ड बनाएर नेपाली उपन्यासको परख गर्न खोज्नु हुँदैन। नेपाली समालोचनाजस्तै नेपाली उपन्यास पनि अन्तर्राष्ट्रिय स्तरको हुने अवस्थामा पुगिसकेको छैन भन्ने समीक्षकले हेक्का राख्नुपर्छ।
साहित्यकार नयनराज पाण्डेको पछिल्लो किताब ‘यार’ निस्किएको भोलिपल्टै समीक्षक शिखर घिमिरेले सामाजिक सञ्जालमा यस्तो आशयको टिप्पणी लेखे, ‘नयनराज पाण्डेको ‘यार’ सोचेको जस्तो रहेनछ। त्यसैले मन पराउन सकिनँ।’ जिम्मेवार समीक्षकहरूले हतारोमा गर्ने यस्ता टिप्पणीले साहित्य र वाङ्मयको उन्नयन अथवा लेखकको क्षमता अभिवृद्धिमा योगदान पुर्याउँदैन। उल्टो लेखकलाई हतोत्साहित गराउँछ। ‘यार’प्रति समीक्षकले गरेका अपेक्षा कस्ता थिए, कुन अपेक्षाचाहिँ पूरा भएनन्, आगामी दिनमा त्यस्ता अपेक्षा पूरा गर्न लेखकले कुन कुरामा ध्यान पुर्याउनुपर्छ भनी समीक्षकले लेखेको भए लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै समीक्षा निको पार्ने छुरा बन्ने थियो।
०००
पटकपटक सचेत तुल्याउँदा पनि लेखक सुध्रिएन भने र उसको लेखाइले पाठकलाई निरन्तर दिग्भ्रमित पार्दै लगेको छ भनेचाहिँ समीक्षक कडा रूपमा प्रस्तुत हुन सक्छ। लेखकप्रति समीक्षक कुन हदसम्म कडा हुन सक्छ भन्ने नजिर संशोधन मण्डलले स्थापित गरिसकेको छ।
आक्रामक शैलीमा पुस्तक समीक्षा गर्ने सवालमा इतिहासकार नयराज पन्तले स्थापना गरेको ‘संशोधन मण्डल’ अग्रणी छ। उदाहरणका लागि संशोधन मण्डलले डा. पिनाकीप्रसाद आचार्यले छपाएको ‘साहित्यमा डकैती’ शीर्षकको पुस्तिकाको आलोचनालाई लिन सकिन्छ। पुस्तिकामा डा. आचार्यले पृथ्वीनारायणका दरबारिया कवि तथा ‘जयरत्नाकार’ नाटकका रचयिता शक्तिवल्लभ अर्ज्याल वास्तवमा आचार्य कुलका थिए, अर्ज्यालहरूसँग मिलेर संशोधन मण्डलमा आबद्ध विद्वान्लगायतले उनलाई अर्ज्याल बनाइदिए भनी लेखिएको छ। यसको प्रतिवादमा संशोधन मण्डलले वक्तव्य प्रकाशित गरेर शक्तिवल्लभ अर्ज्याल कुलका थिए भन्ने विभिन्न प्रमाण पेस गर्दै अन्त्यमा लेख्यो, ‘सत्य कुरा सिद्ध गरिएको भए जति गालीगोप्ता गरिएको भए पनि डा. पिनाकिप्रसादका कुरा हामी सहर्ष स्वीकार गर्ने थियौं। तर, प्रमाणद्वारा सिद्ध भइसकेको सत्य कुरालाई पनि स्वार्थवश उल्ट्याउने दुश्चेष्टा डाक्टरसाहेबले गर्नुभएको हुनाले उहाँको यस दुश्चेष्टाको भत्र्सना गर्ने अनेक कडा शब्द हामीसँग पनि छन्। तर, यतिबाटै बाटोमा आई उहाँले सत्य कुरा स्वीकार गर्नुहुनेछ भन्ने सम्झी अहिले ती शब्द थाती राखिएको छ’ (पूर्णिमा, २४ पूर्णांक, २०२४, पृ. २०९–२१६)।
डा. पिनाकीप्रसादको भत्र्सना गर्दै गर्दा संयमता अपनाए पनि संशोधन मण्डलले केही लेखकलाई भने भित्तामै पुग्ने गरी कठोर आलोचना गरेको थियो। संशोधन मण्डलको यस्तो कडा प्रहार खेप्ने लेखकमध्येमा पर्छन्, इतिहासकार डा. डिल्लीरमण रेग्मी। संशोधन मण्डलले अथक परि श्रममार्फत पत्ता लगाएको कुरा आफैंले पत्ता लगाएझैं गरी डा. रेग्मीले अंग्रेजीमा उल्था गरेर आफ्नो किताबमा प्रयोग गरेको भन्दै संशोधन मण्डलले पटकपटक आलोचना गर्यो। ‘ श्री डिल्लीरमण रेग्मीज्यूले हाम्रो सम्पत्ति फेरि पनि चोर्नुभयो’ (शङ्करमान राजवंशी, पूर्णिमा, ११ पूर्णांक, पृ. १७–२४), ‘हाम्रो वक्तव्य– श्री डिल्लीरमण रेग्मीज्यूको छटेलपन’ (पूर्णिमा, ११ पूर्णांक, पृ. १०१–११८), ‘एतिहासिकपाश डिल्लीरमण रेग्मीबारे फेरि एकपल्ट’ (महेशराज पन्त, पूर्णिमा, १३१ पूर्णांक, पृ. २३४–२९४)लगायत शीर्षकमा प्रकाशित आलेखमार्फत मण्डलले डा. रेग्मीमाथि प्रहार गर्यो।
संशोधन मण्डलबाट दीक्षित इतिहासकारहरूले डा. रेग्मीको ‘बौद्धिक बेइमानी’लाई तारो बनाउन अझै छोडेका छैनन्। उदाहरणका रूपमा पछिल्लो समय ज्ञानमणि नेपालले ‘डा. डिल्लीरमण रेग्मीजस्ता सर्वलौकिक कहलिएका व्यक्तिहरू हामीले परि श्रमपूर्वक पढी अनुसन्धान गरी लेखेका लेखलाई सुटुक्क सारेर अंग्रेजीमा अनुवाद गरेर आफ्नो उपज्ञात (मौलिक) पारी देश–विदेशमा प्रचारप्रसार गरी यश, अर्थ आर्जन गरिरहेका छन्, त्यसमा हाम्रो कुरा अरण्यरोदन भइरहेछ... हाम्रो देशमा विद्याको क्षेत्रमा यस्तै ऊषर भइरहेको छ’ लेखेको सन्दर्भलाई लिन सकिन्छ (ज्ञानमणि नेपाल, नेपालको महाभारत, २०६३, पृ. क)। निर्मम भएर लेखकहरूको आलोचना गर्ने संशोधन मण्डलको परम्परालाई निरन्तरता दिँदै डा. महेशराज पन्तले विभिन्न पत्रपत्रिकामा पुस्तक समीक्षा लेखेर कहलिएका समकालीन लेखकहरूलाई सिर्कनु लगाउने काम गरिरहेका छन्। दिनेशराज पन्तले ‘शुक्रबार’ साप्ताहिकमा स्तम्भ लेखेर विभिन्न पत्रपत्रिकामा आउने इतिहाससम्बन्धी लेखोटमा रहेका गल्ती औंल्याउने काम गरिरहेका छन्। संशोधन मण्डलले गर्ने समीक्षाको भाषा र प्रस्तुति लेखकलाई बिझाउने खालका रूखा हुन्छन्।
०००
पुस्तक समीक्षाको आफ्नै विधि र तौरतरिका हुन्छन्। मार्टिन चौतारीबाट निस्किने जर्नल ‘सिन्हास’ले पुस्तक समीक्षा गर्ने लेखकहरूका लागि नियम बनाइदिएको छ। नियमअनुसार किताबको आलोचना गर्नुअघि समीक्षकले किताबले भन्न खोजेको कुरा के हो भनी उल्लेख गर्नुपर्छ। आलोचना गर्दा तथ्यगतलगायत त्रुटि आंैल्याउनुपर्छ। साथै किताबमा नसमेटिएका तथ्यले किताबमा गरिएको विश्लेषण तथा निकालिएको निष्कर्षलाई चुनौती दिनसक्छ भने त्यस्ता कुरा पनि उल्लेख गर्नुपर्छ (प्रत्यूष वन्त, माई रिलेसनसिप्स विथ बुक रिभ्युज, द काठमाडौं पोस्ट, ९ डिसेम्बर, २०१७)। किताबमाथि अन्धाधुन्ध पारामा नियोजित प्रहार गर्ने प्रवृत्तिलाई जर्नलहरूले निरुत्साहित गर्छन्। पत्रपत्रिकाले पनि जर्नलकै पद्धति पछ्याओस् भन्ने अपेक्षा पंक्तिकारको होइन। जर्नलको शैलीबाट पत्रपत्रिकाले पनि सिकोस् र समीक्षकहरूलाई थप जिम्मेवार बनाई समीक्षालाई मर्यादित एवं रचनात्मक बनाउन पहल गरोस् भन्न खोजेको मात्र हो।