चकलेटको प्रलोभनमा बालिका बलात्कार
राजविराज : चकलेट किनदिने प्रलोभन देखाई १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका –२ का ३२ वर्षीय मोहम्मद सबिरलाई शनिबार पक्राउ गरेको छ ।
चकलेट किनदिने प्रलोभन देखाई सबिरले शुक्रबार साँझ राजविराज नगरपालिका –३ स्थित भलुवाही खोलाको किनारमा रहेको झाँडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित घरबाट किराना समान किन्न बजार निक्लिएका बेला घटना भएको पीडितकी आमाले बताइन् ।
पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा शुक्रबार दिएको उजुरी दर्ता गरिएको प्रहरी नायब उपरीक्षक(डीएसपी) भावेश रिमालले जानकारी दिए । डीएसपी रिमालका अनुसार जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका सविरलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने छ ।
मुलुकी ऐन जबरजस्ती करणी महलको १४ (१) बमोजिम आरोपितले कसुर अपराध गरेकाले उनलाई आठदेखि १२ वर्षसम्म कैद सजाय हुने र पीडितलाई क्षतिपूर्ति भराइने व्यवस्था रहेको डीएसपी रिमालले बताए ।