वैकल्पिक राजनीतिलाई अझै ‘स्पेस’ छ ?
वैकल्पिक राजनीतिको अर्थ नयाँ पार्टी जन्मिनु होइन। वैकल्पिक राजनीतिको अर्थ राजनीतिको विकल्प त झन् हुँदै होइन। वैकल्पिक राजनीति भनेको त फरक संस्कार अनि पृथक् धारको राजनीति हो। वैकल्पिक राजनीति, वैकल्पिक पार्टी पनि हुन सक्छ। वैकल्पिक नेतृत्व पनि हुन सक्छ। वैकल्पिक शैली पनि हुन सक्छ। वा यी सबै पनि हुन सक्छ। गतिशील समाजले पृथक् राजनीतिको माग सधैं गरिरहेकै हुन्छ। विकल्पहीन राजनीतिले अतिवाद अनि अधिनायकवाद जन्माउँछ।
नेपालको राजनीतिमा पनि वैकल्पिक राजनीतिले सधैं मूलधारको राजनीतिलाई चुनौती दिँदै आएको छ। १९९३ सालमा नेपाल प्रजापरिषद् राणाशासनको विकल्पमा आयो। २००३ सालपछि फेरि नेपाल प्रजापरिषद्कै विकल्पमा नेपाली कांग्रेस जन्मियो। फरक उद्देश्यसहित फेरि नेपाली कांग्रेसलाई नै चुनौती दिँदै विकल्पका रूपमा कम्युनिस्ट पार्टी आए। २०४७ सालमा एमालेले कांग्रेसको विकल्पका रूपमा आफूलाई उभ्यायो। २०५२ मा कांग्रेस एमालेकै विकल्पमा माओवादी जन्मियो। मधेसवादी दल क्षेत्रीय राजनीतिको जबर्जस्त विकल्प बन्दै क्षेत्रीय वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाए। हाम्रो राजनीतिमा धेरै हदसम्म वैकल्पिक राजनीति स्विकारिएको छ अनि स्थापित पनि भएको छ।
हालको समयमा वैकल्पिक राजनीतिको नेतृत्व विवेकशील साझा पार्टी गर्दै आएको छ। बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्तिले आफूलाई वैकल्पिक शक्ति साबित गर्न सकेको छैन। नयाँ शक्तिमा माओवादीबाट छुट्टिएर आएको एउटा ठूलो हिस्साले गर्दा पनि त्यो वैकल्पिकपनको ‘टेस्ट’ दिलाउन सकेको छैन। पुरानै नीति, पुरानै नेतृत्व अनि उही नियतका कारण नयाँ शक्ति पार्टी फगत नामकै मात्र नयाँ देखिएको छ। इतिहासकै चरम राजनीतिक धु्रवीकरण भएको बेलामा पनि विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्नबाट थोरै मतले मात्र चुक्दै दुई लाख १२ हजार मत ल्याएर छैटौं ठूलो दल बन्यो। प्रदेश ३ मा त चौथो दलका रूपमा प्रदेशसभामै पुग्यो। ७० वर्ष पुराना पार्टीहरूसँग प्रतिस्पर्धा गरेर यति छोटो समयमा आएको यो उपलब्धिलाई कम आँक्न नमिल्ला।
केही वर्षयता वैकल्पिक पार्टीका केही महत्वपूर्ण उपलब्धि छन्, जुन अहिल्यै ठोस उपलब्धि नदेखिन सक्छन्, तर दीर्घकालीन रूपमा यी उपलब्धि सुसंस्कृति राजनीतिको आधार बन्नेछन्।
१. राजनीतिमा स्वयंसेवा
केही वर्षयता वैकल्पिक राजनीतिले राजनीतिमा स्वयंसेवालाई पुनस्र्थापित गरेको छ। नागरिकलाई व्यक्तिगत अनि पार्टीगत स्वार्थभन्दा माथि उठ्न सिकाएको छ। २०७२ सालको भूकम्पमा विनाकुनै स्वार्थ तत्कालीन विवेकशील नेपाली दलसँग आबद्ध भएर हजारौं युवाले स्वयंसेवालाई राजनीतिसँग जोडेका थिए। अहिले पनि वैकल्पिक पार्टीले गरेको विभिन्न सामाजिक अनि राजनीतिक अभियानमा स्वतन्त्र नागरिक वा अन्य दलको सदस्य नै रहेको ठूलो जमात सक्रिय सहभागी हुने गरेको छ। तसर्थ विस्तारै राजनीतिलाई राजनीतिकर्मी अनि कार्यकर्ताको घेराबाट तोडेर आम नागरिकसम्म पुर्याउँदैछ।
२. सामाजिक अभियान
वैकल्पिक राजनीतिले सामाजिक मुद्दालाई मूल धारको राजनीतिसँग जोडेको छ। स्वास्थ्य, शिक्षा, भ्रष्टाचारजस्ता सामाजिक मुद्दा मूल धारको राजनीतिका रूपमा उठाएर बहस चलाउन सक्नु सानो राजनीतिक उपलब्धि होइन। स्वास्थ्य, शिक्षा, सुशासनजस्ता सामाजिक मुद्दाको उत्थानबाट अख्तियार अनि सर्वोच्चमा समेत नागरिक स्तरबाटै राजनीतिक शुद्धीकरण गराउन महत्वपूर्ण भूमिका खेलेको छ। केही वर्षयता नागरिक समाजको भूमिकामा समेत वैकल्पिक राजनीतिले आफूलाई उभ्याएको छ।
३. शान्तिपूर्ण पृथक शैली
पेट्रोलको भाउ बढ्दा होस् वा सरकारको विरोध गर्नुपर्दा होस्, हाम्रो राजनीतिमा चक्काजाम गर्ने, बन्द गर्ने, हड्ताल गर्ने राजनीतिक परम्परा थियो। वैकल्पिक राजनीतिले ‘नेपाल खुला छ’ जस्ता अभियान अनि शान्तिपूर्ण दबाबको नयाँ शैली ल्यायो, जसले आन्दोलनको नयाँ रूपमा माइतीघरलाई अगाडि सार्यो। केही पुराना दलले पनि कुचो समात्नेदेखि ‘प्ले कार्ड’ बोकेर शान्तिपूर्ण राजनीति सुरु गरे। केही वर्षयता काठमाडौंलगायत देशभरका रेलिङ भाँचिएको छैन। पार्टी अनि चुनावी अभियानको आयव्ययमाथि छलफल हुन थालेको छ। राजनीति सकारात्मक अनि रचनात्मक बन्दै गइरहेको छ। साथै युवाले वैकल्पिक राजनीतिको नेतृत्व गर्दा आज प्रत्येक पार्टीमा पुस्ता हस्तान्तरण अनि युवा नेतृत्वबारे देशव्यापी बहस हुँदैछ। यी एजेन्डा कुनै क्रान्तिका एजेन्डाभन्दा कम छैनन्। छन् र ?
अबको बाटो
चरम गुटबन्दी, भ्रष्टाचार, स्वार्थ, विदेशी शक्तिसँगको साँठगाँठ आदि कारणले सत्ताधारी दलले ‘समृद्धि’ लक्ष्य पूरा गर्नेमा ठूलो शंका छ। यतिका वर्षदेखिको ‘स्कुलिङ’ अनि विकासमाथिको रजगजबाट दुई÷चारजना नेता उम्के पनि लाखौं कार्यकर्तालाई त्यो भुमरीबाट निकाल्न सजिलै सम्भव छैन। सत्तामा त छन्, अझै रहलान् तर ‘डेलिभर’ गर्न सक्ने अवस्थामा छैनन्। तसर्थ सुसंस्कृत राजनीति अनि मूल्यमान्यतासहितको वैकल्पिक राजनीतिको सान्दर्भिकता अहिले पनि उत्तिकै छ।
दिशा सही हुनुपर्छ, मुद्दा सही हुनुपर्छ, वैकल्पिक संगठनले नेतृत्व गर्नेमा शंका छैन।
आगामी दिनमा वैकल्पिक राजनीतिको रूपरङ यस्तो रहन सक्छ—
१. राजनीतिक सिद्धान्त
नीति अनि व्यवहारअनुसार कांग्रेस ‘राइट’ तिर ढल्केको छ। कम्युनिस्ट आफूलाई ‘लेफ्ट’ तिर ढल्केको दाबी गर्छन्। तसर्थ अब वैकल्पिक राजनीतिलाई ‘मध्यमार्ग’ को एउटा ठूलो स्पेस छ। मध्यमार्गी हुनुको अर्थ आधाआधा भन्ने होइन। मध्यमार्गको अर्थ त मुद्दाअनुरूप राज्य, समाज अनि नागरिकबीचको सन्तुलन हो। वैकल्पिक राजनीतिले कला, संस्कृति, मौलिकता आदिमा ‘राइट’ तिर ढल्कन सक्छ भने शिक्षा, स्वास्थ्य, यातायात, सुरक्षाजस्ता विषयमा ‘लेफ्ट’ तिर ढल्कन सक्छ। ‘मुद्दाकेन्द्रित’ राजनीतिक धार नै एक्काइसौं शताब्दीको राजनीतिक सिद्धान्त बन्दैछ। त्यसैले अझ राजनीतिक सिद्धान्तलाई ‘राइट’ अनि ‘लेफ्ट’ मै खोज्न पनि जरुरी छैन। राजनीतिक वाद ‘राइट’ वा ‘लेफ्ट’ मै हुनुपर्छ भनेर कसले कहाँ भनेको छ ? यो बुझाइ त अठारौं शताब्दीको राजनीति बुझाइ होइन र ?
२. राजनीतिक मुद्दा
वैकल्पिक राजनीतिको न प्रमुख मुद्दा ‘सुसंस्कृत राजानीति’ अनि ‘समृद्धि’ नै हो। सांगठनिक रूपमा ‘सुशासन’ लाई केन्द्रमा राखेर देशैभरि व्यापक अभियान सञ्चालन गर्दै भ्रष्टाचार, ढिलासुस्ती, सिन्डिकेट आदिविरुद्ध आवाज बुलन्द गराउन जरुरी छ। वैकल्पिक राजनीतिले ‘उद्यमशीलता’ अनि ‘सशक्तीकरण’ को कार्यक्रम बोकेर गाउँगाउँ छिरेर उद्यमशील, उत्पादनशील अनि ऊर्जाशील समाज निर्माण गर्न नेतृत्व लिन जरुरी छ। वैकल्पिक राजनीतिले आम नागरिकको दिनहुँको समस्यालाई राजनीतिक मुद्दा बनाएर राजनीतिक समाधान प्रस्तुत गर्न जरुरी छ।
३. पृथक् संगठन
सिद्धान्त फरक देखिए पनि कांग्रेस–कम्युनिस्टको व्यवहार एउटै देखिएको छ। पुराना दलमा धेरै सक्षम नेता अनि कार्यकर्ता छन्, तर उनीहरूले अवसर पाएका छैनन्। नयाँ पिँढीका युवा हालको राजनीतिलाई ‘फोहोरी खेल’ भनेर टाढा नै रहन चाहन्छन्। तसर्थ अब यी व्यक्तिको समेत विश्वास जित्न सक्ने राजनीतिक संगठन निर्माण हुन जरुरी छ। अहिले देखिएको कम्युनिस्ट पार्टी अनि कांग्रेसलाई वैकल्पिक संगठनले दुई तरिकाले चुनौती दिन सकिन्छ। पहिलो– नयाँ धारको संगठन बनाएर। दोस्रो– पुरानै दलको विकल्पको रूपमा उदाएर। त्यसैले वैकल्पिक संगठन या त तेस्रो धारका रूपमा अगाडि आउन जरुरी छ वा कि कांग्रेसलाई कि कम्युनिस्ट पार्टीमध्ये एकलाई टक्कर दिन सक्ने गरी आउन जरुरी छ। हालको अवस्थामा वैकल्पिक संगठन तेस्रो शक्तिका रूपमा उदाएर केही वर्षपछि कांग्रेसको विकल्पका रूपमा कांग्रेसलाई विस्थापित गर्ने गरी आउने प्रबल सम्भावना छ।
चुनौती
राजनीति भनेको मोटो मान्छे शरीर घटाउनका निम्ति व्यायाम गर्न ‘जिम’ गएसरहको प्रक्रिया हो। व्यक्ति पहिलो दिन जिम जान्छ, दुई घन्टा व्यायाम गर्छ, फर्केर आएर ऐना हेर्छ, फरक पाउँदैन। भोलिपल्ट पनि जान्छ, व्यायाम गर्छ फर्केर आउँछ, फरक पाउँदैन। पर्सिपल्ट त्यही गर्छ फेरि नतिजा आउँदैन। तर निरन्तर जिम गएर व्यायाम गर्ने हो भने केही समयपछि उसले नै थाहा नपाइकनै फरक पर्न थाल्छ। राजनीतिमा पनि यही प्रक्रिया लागू हुन्छ। दीर्घकालीन रूपमा संगठन बनाउने हो भने ‘निरन्तरता’ को विकल्प छैन। दिशा सही हुनुपर्छ, मुद्दा सही हुनुपर्छ, वैकल्पिक संगठनले नेतृत्व गर्नेमा शंका छैन। तसर्थ वैकल्पिक राजनीतिको चुनौती ‘निरन्तरता’ अनि समयसापेक्षरूपमा आम नागरिकको मुद्दा उठाएर नेतृत्व गर्न सक्नु नै हो।
अवसर
हाल १५ वर्षदेखि २५ वर्षका उमेर समूहका करिब ६३ लाख युवा छन्। विदेशमा ४४ लाख मतदाताले हाम्रो देश किन विकसित नभएको बुझिसकेका छन्। अबको निर्वाचनको निर्णायक मतदाता यिनै हुन्। अब वैकल्पिक राजनीतिसँगै मूलधारको राजनीतिले समेत निर्णायक नयाँ मतदाताको अगाडि खरो उत्रनुपर्ने चुनौती छ। वैकल्पिक राजनीतिको ‘सोच’ लाई एउटा–दुइटा निर्वाचन वा जितहारले मात्र व्याख्या गर्न सकिँदैन। यो त परम्परागत राजनीतिको विकल्प हो। यो त आफैंमा क्रान्ति हो। समाज अनि समयसँगै पैदा हुने क्रान्ति। त्यसैले सधैं रचनात्मक राजनीतिलाई स्थान छ। पृथक वैकल्पिक राजनीतिलाई अझै पनि अहिलेको राजनीतिसरह वा अझ झन् बढी ‘स्पेस’ छ।
—पाण्डे विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन्।