त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट, सम्पूर्ण लगानी चीन सरकारको
काठमाडौं : चिनियाँ भाषा, सभ्यता र दर्शनको प्रचार प्रसार गराउन नेपालमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना हुने भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा इन्स्टिच्युट खुल्न लागेको हो। इन्स्टिच्युट खोल्नका लागि चाहिने सम्पूर्ण लगानी चीन सरकारले गर्नेछ भने स्थापनाको नेतृत्व नेपालको त्रिविले लिनेछ। चिनियाँ दार्शनिक, राजनीतिज्ञ तथा शिक्षक समेत रहेका कन्फ्युसियसको नामबाट नेपालमा अहिले पनि विभिन्न संस्थाले औपचारिक तथा अनौपचारिक रूपमा चिनियाँ भाषा तथा दर्शनसम्बन्धी तालिम सञ्चालन गरिरहेका छन्।
कन्फ्युसियस इन्स्टिच्युट स्थापनाका विषयमा त्रिवि र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबीच सम्झौता भइसकेको त्रिविका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाँले बताए। ‘यो चीन सरकारको स्वामित्वमा रहेको विश्वविद्यालय हो’, खनियाँले भने, ‘नेपालमा यहाँकै संस्थाले सिधै कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्न नमिल्ने भएका कारण उक्त विश्वविद्यालयसँग सहकार्य गर्न लागिएको हो।’
उच्च शिक्षा अध्ययन गर्न, व्यापार व्यवसाय सञ्चालन गर्न वा अन्य कामले चीन जान चाहने विद्यार्थीले यस इन्स्टिच्युटमार्फत चिनियाँ भाषाको अध्ययन गर्न पाउने छन्। स्वदेशमै बसेर चिनियाँ भाषासँग सम्बन्धित काम गर्नेले पनि यस इन्स्टिच्युटबाट अध्ययन गरेर लाभ लिन सक्ने त्रिविले जनाएको छ।
विश्वविद्यालयको अध्ययन अध्यापनलाई विश्वव्यापी बनाउन अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रहरू स्थापना गर्ने त्रिविको रणनीतिअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्न लागिएको खनियाँको भनाइ छ। ‘कन्फ्युुसियस इन्स्टिच्युटले दुई देशको कला, संस्कृति, विज्ञान एवं सभ्यताका विभिन्न आयामबारे अध्ययन अनुसन्धान हुने र दुई देशीय पारस्परिक हितका निमित्त ज्ञानको विकास र बिस्तारमा सहयोग पुग्नेछ’, खनियाँले भने।
उनका अनुसार भाषासम्बन्धी पाठ्यक्रम इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीले बनाउनेछ। ‘एकेडेमिक र नन एकेडेमिक’ कोर्सको छुट्टाछुट्टै पाठ्यक्रम बन्नेछ।
इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्रमुख प्रा.लिउ युस्याङले कन्फ्युसियस इन्स्टिच्युट स्थापना भएपछि नेपालमा चिनियाँ भाषा, संस्कृति र सभ्यताको आदानप्रदान हुने तथा चिनियाँ विज्ञ र नेपालका विज्ञहरूबीच निरन्तर सम्बन्ध विकास हुने विश्वास व्यक्त गरे।
असार पाँच गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको चीन भ्रमणका क्रममा पनि कन्फ्युसियस इन्स्टिच्युट स्थापना विषयमा छलफल हुने चिनियाँ र नेपाली अधिकारीले विश्वास व्यक्त गरेका छन्।
इपीएस पनि त्रिविमै ल्याउने तयारी
दक्षिण कोरिया सरकारले उपलब्ध गराउने रोजगारीमा जानका लागि गर्नुपर्ने भाषाको पूर्व तयारी कक्षा पनि विश्वविद्यालयबाटै सञ्चालन गर्ने तयारी त्रिविले जनाएको छ।
यस विषयमा नेपालस्थित दक्षिण कोरियाली दूतावासका प्रतिनिधिसँग छलफल गर्न लागिएको उपकुलपति तीर्थ खनियाँले बताए। ‘त्रिविसँग एकै पटकमा ठूलो संख्यामा विद्यार्थी पढाउन सक्ने संरचना छ। भाषा कक्षा सञ्चालन तथा परीक्षाको लागि पनि हामीलाई कुनै समस्या छैन’, खनियाले भने।
अहिले कोरिया सरकारले उपलब्ध गराएको रोजगारीको कोटामा जानका लागि कोरियाली भाषा सम्बन्धी परीक्षा उत्तीर्ण हुनु पर्ने व्यवस्था छ। तर कोरियन भाषा तयारी कक्षाबारे भने कुनै नियम छैन।
त्रिविमार्फत कक्षा सञ्चालन गर्न सकियो भने सेवाग्राही झन्झटबाट मुक्त हुने तथा विश्वासिलो पनि हुने त्रिविको तर्क छ।