अव्यवस्थित वधशालाले नदी फोहर
काठमाडौं : ‘दिउँसो गन्हाएर बस्नै सकिन्न, फोहोर, दुर्गन्ध त्यस्तै छ’, विष्णुमती नदी किनारामा रहेको वधस्थल नजिकका स्थानीय कृष्ण डोटेल भन्छन्, ‘वधशाला क्षेत्रमा हिँडडुल गर्न पनि सकिँदैन।’ वधस्थलका कारण विष्णुमती किनाराको क्षेत्र अत्यन्त फोहोर एवं दुर्गन्धित भएको उनले बताए। ‘हाड, लादी सबै विष्णुमतीमा नै फाल्छन्, पवित्र नदी पूरै फोहोरै फोहोर भएको छ,,’ उनले भने।
‘व्यवस्थित र सफा स्थानमा वध गरेको सेवन गर्ने बानी बसालौं’ भन्ने लेखिएको साविक काठमाडौं– १२ कालीमाटीमा रहेको ह्युमत सामुदायिक पशु वधस्थलले नै हाडखोर, लादी विष्णुमतीमा फाल्ने गरेको छ। वधस्थलका वरिपरि क्षेत्र पूरै दुर्गन्धित र फोहोर छ। स्थानीय बासिन्दासमेत वधस्थलबाट आजित छन्। यो क्षेत्रको वातावरणसमेत प्रदूषित छ। विष्णुमतीकै फोहोर पानीबाट मासु सफा गर्न प्रयोग गर्ने गरिएको छ।
वधस्थलले पूरै विष्णुमती फोहोर हुँदासमेत महानगरपालिकाले वास्तै नगरेपछि स्थानीय आक्रोशित भएको स्थानीय दिनेश खड्गी बताउँछन्। ‘यता वधस्थलले जति भने पनि मान्दैन, उता नगरपालिका पनि सुन्दैन, हामीले कसलाई भन्ने ? हाम्रो कुरा कसैले सुन्दैनन्, यही फोहोर दुर्गन्धमा बस्नुपरेको छ’, उनले भने।
स्थानीयले त्यहाँबाट फोहोर र दुर्गन्ध कम हुन्छ कि भनेर विष्णुमती किरानामा विष्णुदेवीको मन्दिरसमेत स्थापना गरेका छन्। ‘फोहोर र दुर्गन्ध कम हुन्छ, वरिपरि फोहोर फाल्दैनन् भनेर मन्दिरसमेत बनायौं। तर वधस्थलको फोहोर त छँदै छ’, उनले भने, ‘यहाँ चर्पी नै बनाएका छन्, बिहानमा विष्णुमतीको किरानामा दिसा गर्नेको लाइनै हुन्छ, टोलवासी हामी दोहारो मारमा छौं, एकातिर वधस्थलको गन्ध, अर्कोतिर दिसापिसाबको गन्ध, के गर्ने, कसलाई भन्ने ? ’
कालीमाटी क्षेत्रमा रहेका वधस्थल मात्र होइन, काठमाडौंको अधिकांश क्षेत्रमा रहेका अधिकांश वधस्थलको अवस्था त्यस्तै छ। विष्णुमतीमा किरानामा रहेका मात्र काठमाडौंका अधिकांश वधस्थल अव्यवस्थित छन्।
संघीय राजधानीमा काठमाडौंमा अधिकांश वधस्थल अव्यवस्थित र फोहोर छन्। व्यवस्थित र फोहोर वधस्थल नै भएको स्वयं महानगरपालिका स्विकार्छ। वधस्थलले हड्डी, सिंह, लादी जाताजतै फाल्ने गरेका छन्, हाड, लादी फाल्ने व्यवस्थित ठाउँ नै छैन। वधस्थलबाट निस्किएको फोहोर नदी, खोला र खुला स्थान फल्ने गरिएको छ। जस्ले गर्दा काठमाडौंका पवित्र विष्णुमती, वाग्मती, मनहरालगायत नदी तथा खोला दुर्गन्धित र फोहोरमय बनेका छन्। मासुको गुणस्तर र स्वास्थ्यको प्रसंग टाढाको कुरा, कतिपयले वाग्मती, विष्णुमती र मनहराकै फोहोर पानी प्रयोग गरेर मासु सफा गर्ने गरेको पाइएको छ।
वधस्थलको स्थिति खस्किँदो रहेको महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन्। उपत्यकामा जथाभावी जनवारको वध हुने गरेको उनको भनाइ छ। ‘उपत्यकामा व्यवस्थित वधशाला नै छैनन्, यी सबै वधस्थल मात्र हुन’, उनले भने, ‘त्यसैले यहाँको मासु अस्वस्थ र फोहोर छ।’
अव्यवस्थित वधस्थलको फोहोर, दुर्गन्ध र प्रदूषणका कारण झाडापखाला, हैजा, टाइफाइडलगायत रोगको संक्रमण हुने सम्भावना बढेको छ। अनुगमन गरेर वधस्थलको नियमन गर्ने तयारी भइरहेको श्रेष्ठले. जानकारी दिए। ‘अहिले व्यवस्थित छैनन्, अनुगमन गरेर नियमन गर्छौं’, उनले भने। काठमाडौंमा व्यवस्थित वधशाला निर्माण गर्ने सरकारको प्रयासमा प्रस्तावित वधशाला निर्माणस्थल वरपरका बासिन्दाका विरोध गरेका कारण अगाडि बढाउन नसकिएको उनले बताए।
महानगरमा कति वधस्थल छन भन्ने तथ्यांकसमेत महानगरसँग छैन। तर काठमाडौंमा मात्रै दिनहुँ ५ सय राँगा काटिने गरेको उसको भनाइ छ। खसी, कुखुरा पनि त्यति नै संख्इामा काटिने गरेका छन्। १ हजार ५ सय खसी, ७० हजार कुखुरा, २ सय बंगुर र ७ हजार किलो मासु काठमाडौंमा दैनिक खपत हुने गरेको छ।
काठमाडौंमा दैनिक मासुको खपत
राँगाभैंसी: ५ सय
खसी: १ हजार ५ सय
कुखुरा: ७० हजार
सुँगुर: २ सय
माछा: ७ हजार किलो