पाँखा खानेपानी आयोजनामा विवादमा
कालिकोट : कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १० पाँखा स्थित पाँखा बृहत खानेपानी आयोजना विवादमा परेको छ । तिलागुफा नगरपालिका वडा नं. ८ छाप्रेका स्थानीयले आफ्नो सिमानाबाट आफूहरूले उपभोग गर्ने मुहानबाट खाँडाचक्र नगरपालिका वडा नं. १० पाँखाको स्थानीयले खानेपानी लिने खोजेको भनेर प्रशासनमा उजुरी गरेपछि पाँखा बृहत् खानेपानी आयोजना विवादमा परेको हो ।
तिलागुफा नगरपालिका वडा नं. ८ छाप्रेका स्थानीयले जिल्ला सदरमुकाम मान्ममा आएर बुधबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सब डिभिजन कार्यालयको ध्यनाकर्षण गराएका छन् । उनीहरूले वर्षौंदेखि उपभोग गर्दै आएको आफ्नो सिमानाको मुहान खाँडाचक्र नगरपालिका–१० पाँखावासीले लिन खोजेको भन्दै उक्त आयोजना निर्माणको काम तत्काल रोक्न माग गरेका छन् । छाप्रेका स्थानीय कृष्णप्रसाद न्यौपानेले वर्षौंदेखि आफूहरूले उपभोग गर्दै आएको मुहानबाट अर्कै गाँउका स्थानीयले खानेपानी लिन लागेको बताउँदै विरोध जनाए । उनले उक्त मुहान पाखा गए छाप्रेका करिब ४ सय ९० परिवारमा खानेपानी समस्यामा पर्ने बताए ।
यस्तै स्थानीय तारा लुवारले आफूहरूले प्रयोग गरेको खानेपानी मुहान अरूले नै दर्ता गर्न खोजेको बताउँदै जिल्ला प्रशासनको ध्यनाकर्षण गराएको बताइन् । तिलागुफा नगरपालिका वडा नं ८ की वडा सदस्य देवु न्यौपानेले पाँखा बृहत् खानेपानी आयोजना सर्भे गर्दा नै आफूहरूले बिरोध गरेको बताउँदै अहिले काम सुरु भएपछि प्रशासनको ध्यनाकर्षण गराएको बताइन् । उनले जिल्ला खानेपानी कार्यालयले सर्भे गर्दा नै बिरोध भएको आयोजनामा बजेट छुट्याइ उपभोक्ता समितिसमेत गठन गरी काम सुरु गरेर आफूहरूलाई अन्याय गरेको आरोप लगाइन् ।
प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले आयोजनाबारे स्थानीयहरू प्रशासनमा आएका र प्रशासनबाट विवाद समाधानका लागि तिलागुफा नगरपालिकालाई पत्र पठाएको जानकारी दिए । उनले जिल्ला खानेपानी कार्यालय, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकासँग समन्वय गरी विवाद समाधान गरिने बताए । जिल्ला खानेपानी कार्यालयले गत वर्ष सर्भे गरिएको उक्त आयोजनामा यस वर्ष ५ लाख बजेट विनियोजन गरी क्रमागत रूपमा काम सुरु गरिएको जनाएको छ । योजना निर्माणको क्रममा विवाद आएकाले दुवै पक्षबीच छलफल गरी समाधानका लागि पहल गरिने जनाइएको छ ।