रोल्पाबाट यार्सा टिप्न डोल्पा गएका मगरको घाँटी रेटी हत्या
दुनै,डोल्पा : डोल्पाको हिमाली यार्सापाटनमा एकजनाको घाँटी रेटेर हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको आइतबार राति करिब ९ बजेतिर घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
रोल्पाको उवा स्थायी घर भएका मगर हरेक वर्ष यार्सागुम्बा टिप्न डोल्पाको पाटनमा आउने गरेका थिए । आइतबार राति उनी बस्ने गरेको अस्थायी पालमा मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।
मृतक मगरको साथमा ७५ हजार नगद रहेकाले पैसाकै लागि हत्या भएकाे हुन सक्ने डीएसपी शर्माले बताए । घटनास्थलमा सञ्चारको सुविधा नभएका कारण राति १ बजे धोमा प्रहरी चौकी जानकारी आए लगतै सईको कमाण्डमा प्रहरी घटनास्थलमा खटिएको डीएसपी शर्माको जनाएका छन् ।
आइतबार बिहानै सदरमुकाम दुनैबाट इन्सपेक्टरको कमाण्डमा थप प्रहरी पठाएको तर सदरमुकामबाट उक्त घटना स्थल सम्म पुग्न ३ दिन लाग्ने भएकोले घटनाका बारेमा थप जानकारी आउन समय लाग्ने शर्माले बताए । प्रहरी चौकी धोमाबाट घटना घटेको लेखसम्म जान ४ घण्टा भन्दा धेरै लाग्ने स्थानीयहरु बताउँछन । भौगोलिक बिकटता र घटना घटेको स्थान निकै जोखिम भएको कारण मृतकको शव ल्याउनसमेत कठिन हुने देखिन्छ ।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइसकेको प्रहरीको भनाइ छ। मृतकका परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव बुझ्नका लागि जानसमेत कठीन भएको भनी मृतककी श्रीमतीले जानकारी गराएको बताइएको छ । प्रहरीका अनुसार मुस्ताङमा रहेका मृतक पुन मगरका छोरा घटनास्थलतर्फ आउँदै गरेका छन् । शवलाई पोष्मार्टमका लागि जिल्ला सदरमुकाम ल्याउनको लागि कम्तिमा पनि एकसाता लाग्नेप्रहरीले जनाएको छ ।