विश्वकप: बेल्जियमको प्रभावशाली सुरुवात, पनामा ३-० ले पराजित
काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बेल्जियमले प्रभावशाली सुरुवात गरेको छ । समूह जी को सोमबार राति भएको खेलमा बेल्जियमले पनामालाई ३–० ले पराजित गरेको हो ।
बेल्जियमको सहज जितमा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरे । नवप्रवेशी पनामाविरुद्ध गोलको खाता भने डिरेस मेर्टेन्सले खेलको ४७ औँ मिनेटमा खोलेका थिए ।
युरोपेली क्षेत्रबाट डार्क हर्सकारुपमा हेरिएको बेल्जियमले डिफेन्सदेखि अग्रपंक्तिसम्ममा सन्तुलित प्रदर्शन गर्यो । बेल्जियमको जितका लागि लुकाकुले खेलको ६९ औँ मिनेटमा केभिन डे ब्रुनेको पासमा हेडमार्फत् व्यक्तिगत पहिलो तथा टिमका लागि दोस्रो गोल गरे ।
त्यसपछि खेलको ७५ औँ मिनेटमा एडिन हजार्डको पासमा लुकाकुले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै पनामामाथि दबाब बढाए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि बेल्जियमले पनामाविरुद्ध ३–० को सहज जित निकाल्यो । यही समूहमा रहेका इङ्ल्यान्ड र ट्युनिशिया आजै राति हुने खेलमा प्रतिस्पर्धा गर्दैछन् ।