अतिवादमा अलमलिएको समाजवाद
नेपाली समाजमा समाजवादले लोकतान्त्रिक परिपार्टीसँग अन्योन्याश्रित सम्बन्ध राख्छ। कालमाक्र्सले सोचेजस्तो सर्वहारा वर्गको अधिनायकत्व कायम गरी समाजवाद स्थापित गराउने सिद्धान्त विश्व राजनीतिमा असफलतुल्य नै भयो। सर्वहाराको नाममा कम्युनिस्ट सर्वोपरिता र नियन्त्रणभित्र रहन पुग्यो। राजनीति र आर्थिक अधिकारबाट नागरिक वञ्चित हुन पुगे। यता लोकतन्त्रको नाममा पुँजीवाद अंगालेका राष्ट्रमा पनि सीमान्तकृत जनता माथि उठ्न सकेनन्। त्यहाँ तल्लो तह र तप्काप्रति सहिष्णुता भएन। उनीहरूले गर्ने श्रमको मूल्यमा समेत चरम शोषण भइरह्यो।
यस प्रकारको यथार्थका बीचमा दुवै अतिवादभन्दा पृथक पहिचान स्थापित गर्न सफल लोकतान्त्रिक समाजवादलाई नेपाली राजनीतिमा सर्वप्रथम बीपी कोइरालाले २०१२ सालमा काग्रेस पार्टीको वीरगन्ज महाधिवेशनदेखि नीतिगत रूपमा समाविष्ट गराएका हुन्। तर कांग्रेसले समाजवादी मार्ग आज पर्यन्त अवलम्बन गर्न सकिरहेको छैन। उता कम्युनिस्टहरू पनि लोकतान्त्रिक पद्धतिको कसीमा अझै इमान्दार हुन सकेको पाइँदैन। उनीहरूबाट बेलाबेलामा व्यक्त विचारले यो विषयमा सन्देह उत्पन्न गराउँछ।
राजनीति सेवाभाव र समर्पणको पर्याय हो। न्यूनतम आवश्यकता परिपूर्ति हुने कार्यमा लोकतान्त्रिक समाजवादी सरकार क्रियाशील रहनुपर्छ। नागरिकमा भेदभाव हुनु हँदैन। राजनीति एवं आर्थिक समानता कायम हुने पद्धति भनेको समाजवाद हो, भन्ने बोध राज्यले ठम्याउन सक्नुपर्छ। भगवान बुद्धले भनेका छन्, ‘मानव नियति अत्यन्त दुःखमय छ। त्यसलाई सुखानुभूति प्रदान गर्ने उपायको खोजी गरी गन्तव्यमा उभ्याउन सक्नु नै मानव धर्म हो।’ यही सिद्धातमा उभिएर बीपीले समाजवाद मापन गरेका हुन्। बीपी भन्थे, ‘सिद्धार्थ गौतम राजाको छोरा भएर पनि मानव कल्याण कार्यको खोजीमा लागे। जुन स्थानबाट सत्कर्मको खोजी भयो त्यही स्थानबाट समाजवाद पनि उत्पन्न भयो। सर्वहित र सर्वसुखको विचार व्यवहारमा उतार्नु नै समाजवाद हो। बीपीको थप कथन थियो, ‘मानिसको दुःखका कुराहरूप्रति सहानुभूतिको भावना जुन मनोवैज्ञानिक धरातलबाट पैदा हुन्छ। त्यही धरातलबाट समाजवादी विचार जागृत हुन्छ।’
नेपाली राजनीतिमा यो चेतना विकास आधुनिक नेपाल निर्माणको थालनी सँगसँगै भएको पाइन्छ। समय समयमा देखापर्ने अतिवादले विकास र समृद्धि ओझेल पर्दै गए। भीमसेन थापाको पतनपछि यहाँ अस्थिरताले पुनर्जन्म लियोभन्दा अत्युक्ति नहोला। वीर योद्धा र कुशल प्रशासक हुँदाहुँदै उनमा पनि केही कमजोरी थिए। उनले प्रयोग गरेको शासकीय शक्ति राजाको हो भन्ने ज्ञान हुँदाहँदै बाहिर स्वीकार्न नसक्नु उनको कमजोरी नै मान्नुपर्छ। राजा राजेन्द्र क्षमतावान थिएनन्। अत्यन्त महŒवकांक्षी र दुर्वल समेत थिए। भीमसेन थापाका विरोधीहरू राजाको समेत आड पाएर आफ्नो वर्चश्व जमाउन सफल हुन पुगे। महारानी साम्राज्यलक्ष्मी र राज्यलक्ष्मीको आआफ्नै स्वार्थले भरिएका गुट उपगुट खडा भए। त्यहाँ लोकतन्त्र र जनजीविकाका विषय गौण बन्दै गए। जनचाहना विपरीत शासकहरूको लहडले गर्दा फेरि अर्काे अतिवाद मुलुकले ब्योहोर्नुपर्यो। सत्ताप्राप्तिमा मात्र केन्द्रित राजनीतिक अस्थिरताले १०४ वर्षसम्म देशले बन्दक बन्नुपर्यो।
अरूले जति राम्रो गरे पनि मिथ्या हुने र आफूले गरेका खराब कार्य पनि सत्य हुने प्रवृत्तिले प्रश्रय पाउने हो भने अर्को अतिवादको विजारोपण अवश्य हुनेछ।
इतिहासबाट पाठ सिक्नैपर्छ, सत्य शाश्वत हो भन्ने भुल्नु हुँदैन अस्थिरताले अधोगति निम्त्याउँछ। इतिहासबाट सिक्न नखोज्दा आज नेपाली कांग्रेस मणि हराएको सर्पजस्तो भएको छ। कांग्रेस पार्टी हिजोआज बाख्रा चराउने गोठालाको नियति भोग्दैछ–एक युवक निरन्तर जंगलमा बाख्रा चराउने गथ्र्यो गाँउलेहरूले छानेर उसलाई सो जिम्मेवारी दिएका थिए। सधैं बाख्रा चराउँदा उसमा एक प्रकारको अहं आउन लाग्यो। बाख्रा लिएर जंगल पुगेपछि –‘बाघले बाख्रा खायो’ भन्दै बेस्सरी चिच्याइरहन्थ्यो सुनेपछि गाउँलेहरू लाठी, भाला बोकेर जंगल पुग्दा ऊ जोडतोडले हाँस्ने गथ्र्यो। यो क्रम केही दिन चलिरह्यो। एक दिन त साँच्चिकै बाघ आएछ। ऊ आत्तिएर चिच्यायो–चिच्याइरह्यो। यता गाँउलेहरू भन्दै थिए – फेरि यसले मूर्ख बनाउदै छ। सधैं अपमान गर्छ। कति अपमान सहने ? नजाउ भनेर कोही गएनन्। सदा झैं बचाउन कोही नपुग्नाले बाघले बाख्रा सखाप पारिदियो। अब भने बल्ल होस् आयो उसलाई। यतिखेर पश्चातापबाहेक केही बाँकी थिएन त्यो युवकमा। आज कांग्रेसको मनोदशा त्यही युवकको जस्तो भएको छ। मूल्यमान्यता भन्दा पृथक मार्ग अवलम्बन गर्दा नीति सिद्धान्त र विचार त्याग गरी अरूले देखाएको बाटो बिनासोचविचार आँखा चिम्लिएर हिँड्दा आइपर्ने परिणति यस्तै हुन्छ भन्ने ज्ञान कांग्रेस पार्टीले नै बुझने कुरा हो। हामीले घोकाएर केही हुने छैन।
संसारका गरिब देश पनि आशातीत उन्नतिको मार्गमा पुग्न सफल भएका छन्। यहाँसम्म कि, हामी भन्दा कयौं गुणा अविकसित र निर्धन राष्ट्र आज समृद्धिको फड्को मार्दै गरेको अवस्था छ। यहाँ भने लोकतान्त्रिक पद्धतिबाट समृद्धि पाइनेछ भन्ने जनचाहना घनिभूत भइरहेको बेला पञ्चायत नामको अर्को अतिवादले आक्रमण गर्यो। तत्पश्चात उन्नतिको पथ नै अवरुद्ध भएको अवस्था पनि हामीले भोग्दै आयौं। अथक संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि टिक्न सकेन। व्यक्ति र समूहको अहंकारले गर्दा पटक–पटक नागरिकले सास्ती खेप्नु परिरहेको छ।
नेपाली राजनीति इतिहासमा लोकतान्त्रिक समाजवादी विचार भित्रयाउने श्रेय बीपी कोइरालालाई नै जान्छ। उनी कुशल विश्लेषक मात्र नभएर एसियामै समाजवादी चिन्तकका रूपमा स्थापित भए। बीपी पछाडि यो विचारलाई कुनै बेला सीके प्रसाईले जोडतोडका साथ उठान गरेका थिए। यहाँसम्म आइपुग्दा प्रदीप गिरीबाहेक अन्य पात्रबाट यसको चर्चासम्म गरिएको बिरलै पाइन्छ। विश्व आज आक्रामक पुँजीवादउन्मुख भइरहेको छ। बीपीको समाजवादी तस्बिर कार्यान्वयन गर्न त्यत्ति सजिलो छैन। लरतरो प्रयत्नले लोकतान्त्रिक समाजवादी कार्यक्रम जनसमक्ष पुर्याउन असम्भवप्रायः छ। तथापि यसको समयसापेक्ष रुपान्तरण गर्दै अवलम्बन हुनुपर्छ।
अहंकार, दम्भ जस्ता चरित्रले लोकतन्त्रलाई कलुषित बनाउँछ। लोकतन्त्र भन्दैमा सबै व्यक्ति वा शासक लोकतान्त्रिक हुन्छन् भन्ने पनि छैन। सग्लो वृक्षमा समेत एैंजेरु पलाउँछ। पेरुमा फुजिमोरी र जर्मनीमा हिटलर जनमतबाटै आएका पात्र हुन्। जनताबाट निर्वाचित भए पनि उनीहरूले फासिवादी चरित्रमा आफूलाई उभ्याउन पुगे। हाल आएर पुनः जननिर्वाचित सरकारले विधि र प्रक्रिया मिच्ने कार्यको प्रारम्भ गर्दैछ। बालकृष्ण ढुंगेलप्रकरण होस् वा फौजदारी अभियोगमा दोषी सांसदको पद कायम रहने व्यवस्था होस्। यसप्रकार एकपछि अर्काे निर्णय गर्नु जनअपेक्षाविपरीत हो। यस्ता कार्यमा नअलमलिई लोकतान्त्रिक समाजवादी धारणा अँगाल्दै विकास पथमा लम्किन सक्नुपर्छ। जसले गर्दा मानवीय सौहार्दताले मूर्तरूप लिन्छ। समाजमा रहेका भेदभावको अन्त्य गराउँछ।
सबै जनतामा समानताको अनुभूत हुन्छ। मुलुक विकास तथा समृद्धितर्फ अगाडि बढ्छ। निष्ठा र समर्पणमा गरिने राजनीतिबाट मुलुक उन्नतिको शिखरमा पुग्न सफल र सक्षम हुन्छ। यदि फेरि पनि बाटो बिराउने हो अथवा अरूले जति राम्रो गरे पनि मिथ्या हुने र आफूले गरेका खराब कार्य पनि सत्य हुने प्रवृत्तिले प्रश्रय पाउने हो भने अर्काे अतिवादको विजारोपण अवश्य हुनेछ। यसबाट सुखी नेपाली समृद्ध नेपालको आमचाहना नारामै अलमलिने छ।