युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया
सोल : उत्तर र दक्षिण कोरियाले लामो समयदेखि दुवैबीच जारी सबैखाले युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ ह्वाले यस वर्षको अन्त्यसम्म दुवै कोरियाले युद्ध अन्त्यको घोषणा गर्ने जानकारी दिएका छन् । उनले दक्षिण कोरियाली राजधानी सोलमा सोमबार गरिएको एउटा पत्रकार सम्मेलनमा विदेशमन्त्री ह्वाले उत्तर कोरियासँग युद्ध अन्त्य भएको घोषणा गर्ने तयारी गरिएको बताएका हुन् ।
उनले कोरियाली युद्ध अन्त्यको घोषणा कहिले र कसरी हुनेछ कुनै विवरण भने पत्रकार सम्मेलनमा दिएनन् । विस्तृत विवरण नदिए पनि उनले वर्षको अन्त्यतिर लगभग ६५ वर्षदेखि जारी कोरियाली युद्ध औपचारिक तवरमा नै अन्त्य भएको घोषणा गरिने उनले दाबी गरे ।
युद्ध अन्त्यसम्बन्धमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इन र उत्तर कोरियाली राज्य परिषद्का अध्यक्ष किम जोङ उन दुवै जना सहमत भइसकेको जानकारी दिइएको छ । दुवै नेताबीच गत अप्रिल २७ मा पानुमजोममा भएको ऐतिहासिक भेटवार्तामा कोरियाली युद्ध अन्त्य गर्न सहमति भएको बताइएको थियो ।
गत अप्रिलमा दुई कोरियाली नेताबीचको भेटवार्ताले जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनबीच वार्ताको वातावरण तयार पारेको थियो । दुवै कोरियाको सीमा क्षेत्रस्थित पानुमजोमको एउटा होटलमा भएको दुई कोरियाली नेताको भेटवार्तामा ऐतिहासिक सम्झौता पनि भएको थियो । त्यही भेटघाट र सम्झौताले अमेरिका–उत्तर कोरिया वार्ताको बाटो खोलेको थियो ।
सिंगापुरको पर्यटकीय टापुस्थित एउटा होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच एक्लाएक्लै वार्ता भएको थियो । अमेरिकाले उत्तर कोरियासँग आणविक शस्त्र उत्पादन नगर्न सर्त राखेको र तत्काल उत्तर कोरियाविरुद्धको नाकाबन्दी खुकुलो नपारिने राष्ट्रपति ट्रम्पले बताएका थिए ।
उत्तर कोरियाली नेता उनले सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग कोरियाली प्रायद्विपलाई निःशस्त्रीकरण गर्न प्रतिबद्धता जनाएका थिए । उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच सम्झौतापछि कोरियाली प्रायद्विप निःशस्त्र हुने आशा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
दुई कोरियाबीच अप्रिल २७ मा भएको वार्ता र जुन १२ मा भएको अमेरिका–उत्तर कोरिया वार्ता र चारबुँदे सहमतिपत्रमा हस्ताक्षरपछि कोरियाली प्रायद्विपमा अनौपचारिक रूपमा युद्ध अन्त्य भइसकेको पनि कतिपय विश्लेषक बताउँछन् ।