कस्तो रहला आज रोड्रिगेजको प्रभाव ?

कस्तो रहला आज रोड्रिगेजको प्रभाव ?

मस्को : कोलम्बिया सन् २००२ देखि सन् २०१० सम्म भएका तीनवटा विश्वकपको छनोट प्रतियोगितामै असफल भयो । त्यसैले १६ वर्षपछि फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा फर्कंदा सन् २०१४ मा कोलम्बियालाई ‘अन्डर डग’ टोली मानिएको थियो । त्यसको अर्थ थियो, कोलम्बिया विश्वकपमा समूहगत चरणका अधिकांश खेलमा पराजित हुनेछ ।

तर, कोलम्बियाले चार वर्षअघिको ब्राजिल विश्वकपमा पहिलो खेलबाटै जादु देखाउन सुरु गर्‍यो । ‘अन्डर डग’बाट ‘डार्क हर्स’ टोलीको छवि बनाउँदै कोलम्बिया प्रतियोगिताको क्वार्टरफाइनलसम्मै पुग्यो र अन्त्यमा ३२ टोली सहभागी प्रतियोगितामा पाँचौं बन्यो । टोलीको यो सफलताको पछाडि एउटै कुरा, युवा स्ट्राइकर जेम्स रोड्रिगेजको प्रदर्शन जोडिएको थियो ।

रोड्रिगेजले प्रतियोगितामा यस्तो प्रदर्शन गरे कि आफ्ना समर्थक मात्रै होइन, विपक्षी समर्थक र खेलाडी पनि उनको प्रशंसा गर्न बाध्य भए । कोलम्बिया क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित हुँदा ब्राजिलियन रक्षक डेभिड लुइजले रोड्रिगेजको हात समातेर स्टेडियम घुमाएको दृश्यले धेरैको आँखामा आँसु ल्याएको थियो । किनभने मैदानमा उनै रोड्रिगेज पनि आँसु झारिरहेका थिए । आफ्ना प्रत्येक खेलमा गोल गरेका रोड्रिगेजले गोल्डेन बुटसमेत जिते । उनको गोल प्रतियोगिताकै सर्वोत्कृष्ट ठहरियो ।

त्यसको चार वर्षपछि उनै रोड्रिगेजको टोली कोलम्बिया रुस विश्वकपमा आफ्नो पहिलो खेलको तयारीमा जुटिरहेको छ । कोलम्बियाले चार वर्षअघि पनि समूहगत चरणमै प्रतिस्पर्धा गरेको एसियाली टोली जापानविरुद्धको खेलसँगै रुसमा आफ्नो यात्रा सुरु गर्दैछ । यही खेलपछि चार वर्षअघि ब्राजिलको मैदानमा कायम गरेको प्रभुत्वलाई रोड्रिगेजले रुस पनि कायम गर्ने नगर्ने संकेत मिल्नेछ ।

समूह ‘एच’अन्तर्गत हुन लागेको यो खेल सारान्स्कस्थित मार्दोभिया एरेनामा नेपाली समयअनुसार ५:४५ बजे सुरु हुनेछ । कोलम्बिया र जापानले ब्राजिल विश्वकपमा पनि समूहगत चरणमै प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा दक्षिण अमेरिकी टोली ४-१ गोलले विजयी भएको थियो । यो जितमा रोड्रिगेजले पनि एक गोलको मद्दत गरेका थिए ।

मंगलबारको खेलअघि त्यो पराजयको बदला लिने वा आफ्नो जितको यात्रालाई कायमै राख्ने ? जापान र कोलम्बिया दुवैसँग अवसर रहनेछ । यद्यपि, सन् १९९८ मा पहिलोपटक सहभागी भएयता नियमित रूपमा विश्वकप खेल्दै आएको जापानको तयारी यसपटक भने केही बिथोलिएको छ । केही समयअघि मात्रै प्रशिक्षक बर्खास्त गर्नु परेपछि रुस विश्वकपमा जापानी टोली त्यहाँको फुटबल संघका प्राविधिक निर्देशक अकिरा निसिनोले सम्हालिरहेका छन् । उनको नेतृत्वमा जापानले अभ्यास खेलमा नियमित हार बेहोरिरहेको छ । त्यसको ठीक विपरीत रोड्रिगेजसहित राडामेल फाल्काओजस्ता अनुभवी खेलाडीको साथ पाएको कोलम्बियाले पछिल्ला खेलमा आफूलाई लयमा राखेको छ ।

विगतमा यी दुई

कुल खेल : ३

कोलम्बिया विजयी : २

जापान विजयी : ०

बराबरी : १

कोलम्बिया

विश्वकप सहभागिता : छैटौंपटक

उपलब्धि : क्वार्टरफाइनल (सन् २०१४)

फिफा वरीयता : १६

जापान

विश्वकप सहभागिता : छैटौंपटक

उपलब्धि : प्रिक्वार्टरफाइनल (सन् २००२ र सन् २०१०)

फिफा वरीयता : ६१


प्रभाव पार्न सक्ने खेलाडी 

राडामेल फाल्काओ (कोलम्बिया)

फ्रान्सेली क्लब मोनाकोका मुख्य स्ट्राइकर राडामेल फाल्काओ कोलम्बियन राष्ट्रिय टोलीका पनि महत्वपूर्ण खेलाडी हुन् । फाल्काओ युरोपेली क्लब फुटबलमा चम्किएको लामै समय भइरहेको छ । उनीसँग स्पेनिस ला लिगा, इङ्लिस प्रिमियर लिग, फ्रान्सेली लिगलगायत युरोपका ठूला लिग खेलेको अनुभव पनि छ । तर, उनी पहिलोपटक विश्वकप फुटबल खेल्दैछन् ।

रुसमा उनले खेल्ने पहिलो खेल विश्वकपको डेब्यु खेल हुनेछ । कोलम्बियाले सन् २००२ देखि सन् २०१० सम्मको पछिल्ला तीन विश्वकपको छनोट प्रतियोगिता पार गर्न सकेन । १६ वर्षपछि पहिलो विश्वकपका रूपमा कोलम्बियाले चार वर्षअघि सन् २०१४ को ब्राजिल विश्वकपमा स्थान सुरक्षित गर्दा फाल्काओ टोलीका महत्वपूर्ण खेलाडी थिए । यद्यपि प्रतियोगिता सुरु हुनुअघि नै चोटग्रस्त भएपछि उनी टोलीसँग ब्राजिल जान सकेनन् ।

त्यसैले त्यति बेला उनको विश्वकप खेल्ने सपना पूरा हुन पाएन । उनले त्यसयता पनि आफूलाई उच्च लयमै राखेका छन् । अहिले उनी पूर्ण रूपमा फिट छन् र टोलीसँगै आफ्नो पहिलो विश्वकप खेल्न रुस पुगेका छन् । अवस्था कस्तो छ भने उनका लागि यो विश्वकप पहिलो र अन्तिम दुवै हुन सक्छ । उमेरले ३२ वर्ष पुगिसकेका फाल्काओ अर्काे विश्वकपसम्म यही लयमा नरहन पनि सक्छन् । वा उनलाई पछि पार्ने युवा खेलाडीहरूको उदय पनि हुन सक्नेछ ।

त्यसैले फाल्काओ आफ्नो पहिलो विश्वकप सहभागितालाई अविस्मरणीय बनाउन चाहन्छन् । त्यसका लागि उनले टोलीलाई पुर्‍याउने योगदान अझ महत्वपूर्ण हुने पक्का छ । सन् २००७ देदि राष्ट्रिय टोलीबाट खेल्न थालेका फाल्काओले अहिलेसम्म ७१ खेलमा २९ गोल गरेका छन् ।

सिन्जी कागावा (जापान)

सिन्जी कागावा जापानी टोलीका अनुभवी खेलाडी हुन् । आक्रामक मिडफिल्डरको पोजिसनबाट खेल्ने कागाजासँग युरोपका ठूला क्लबाट फुटबल खेलेको अनुभव पनि छ । हाल जर्मनीको बोरुसिया डर्टमन्डसँग अनुबन्धित रहेका कागावाले म्यानचेस्टर युनाइटेडबाट इङ्लिस प्रिमियर लिग पनि खेलेका छन् । कागावासँग जापानी राष्ट्रिय टोलीबाटै पनि विश्वकप फुटबललगायत ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।

छोटो कद भए पनि कागावा मिडफिल्डबाट सधैं सशक्त प्रदर्शन गर्छन् । उनी टोलीका लागि पनि नियमित गोल गरिरहन्छन् । बलसँगको गति, विपक्षी खेलाडीसँग बल खोस्न सक्ने क्षमता र मिडफिल्डबाट खेलेर पनि गोल गरिरहने उनको छविले नै कागावालाई युरोपेली ठूला क्लबको रोजाइमा पार्ने गरेको छ । कागावा आफ्नो करिअरको दोस्रो विश्वकप फुटबल खेल्दैछन् ।

सन् २०१० को विश्वकपमा उनी टोलीमा परेनन् । ब्राजिल विश्वकपमा टोलीका मुख्य खेलाडी रहेका उनी रुस विश्वकपमा पनि त्यही भूमिकामा छन् । जापानले यसपटक पुराना खेलाडीलाई प्राथमिकतामा राखेर विश्वकप टोली बनाएको छ । टोलीका प्राय: खेलाडी तेस्रो विश्वकप खेल्दैछन् । त्यस बाहेकका केही खेलाडी नयाँ छन् । यो अवस्थामा अनुभव र खेल्ने पोजिसनका कारणले पनि टोलीलाई रुस विश्वकपमा अघि बढाउन उनै कागावाको भूमिका महत्वपूर्ण हुने निश्चित छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.