नारायणी अञ्चल अस्पतालको स्तरोन्नति गर्दैछौं : स्वास्थ्यमन्त्री यादव
वीरगन्ज : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्तब्य राख्दै स्वास्थ्य मन्त्री यादवले देशकै पुरानो अञ्चल अस्पताल भएपनि समयानुसार आवश्यक भौतिक संरचना र उपकरणको व्यवस्था नहुँदा सेवाप्रवाह प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
विरामीको बढ्दो चाप, अपर्याप्त जनशक्ति र भौतिक संरचना चुस्तदुरुस्त नहुँदा नारायणी अञ्चल अस्पतालले ब्यहोर्दै आएको समस्याप्रति आफू गम्भीर रहेको पनि स्वास्थ्यमन्त्री यादवको भनाइ छ । मन्त्री यादवले चाँडै नै नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गरिने जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा नयाँ स्वास्थ्य नीति र नयाँ स्वास्थ्य कार्यक्रम तर्जुमा गर्ने तयारी भइरहेको जनाएका स्वास्थ्य मन्त्री यादवले नारायणी अञ्चल अस्पतालबाट थप सेवा सुविधा उपलब्ध गराउन भएकै संरचनालाई व्यवस्थित गर्ने र नयाँ संरचनाहरु खडा गर्नु अपरिहार्य भइसकेको पनि बताए ।
उनले नारायणी अञ्चल अस्पताल जनसंख्याको चाप अनुसार साँघुरो भइसकेको भन्दै अस्पतालको विकासका लागि वैकल्पिक ठाउँको आवश्यकता पनि औंल्याए । स्वास्थ्यमन्त्री यादवले अस्पतालमा भएका सिमित उपकरण र ल्याबका बाबजुद पनि स्वास्थ्यकर्मीले उच्चतम सेवा पुर्याइरहेको भन्दै प्रशंसा पनि गरेका थिए ।