भारतमाभन्दा पाकिस्तानमा धेरै आणविक हतियार
स्टकहोम : एउटा अन्तर्राष्ट्रिय संस्थाले भारतभन्दा पाकिस्तानसँग धेरै आणविक शस्त्र रहेको दाबी गरेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले सोमबार जारी गरेको प्रतिवेदनले भारतभन्दा पाकिस्तानसँग धेरै आणविक शस्त्र रहेको उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार भारतभन्दा चीनसँग दोब्बर आणविक शस्त्र छन् ।
भारतीय सुरक्षा विशेषज्ञहरूका अनुसार पाकिस्तानभन्दा भारतको प्रतिरक्षा क्षमता सुदृढ छ । भारतसँग निगरानी क्षमता र प्रत्याक्रमण क्षमतायुक्त आणविक शस्त्र रहेको दाबी पनि उनीहरूले गरेको प्रतिवेदनमा उल्लेख छ । साथै भारतले आफ्नो आणविक कार्यक्रमलाई आधुनिकीकरण गरिरहेको पनि उल्लेख छ ।
प्रतिवेदनका अनुसार पाकिस्तानसँग १ सय ४० देखि १ सय ५० सम्म र भारतसँग १ सय ३० देखि १ सय ४० सम्म आणविक शस्त्र छन् । सबैभन्दा बढी आणविक शस्त्र अमेरिकासँग र त्यसपछि रसियासँग छन् ।