बलियो स्पेनविरुद्ध उत्साहित इरान

बलियो स्पेनविरुद्ध उत्साहित इरान

मस्को : रुस विश्वकपमा बलियो टोली स्पेनले समूहगत चरणको आफ्नो दोस्रो खेलमा बुधबार एसियाली प्रतिद्वन्द्वी इरानसँग खेल्दै छ । पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग ३-३ गोलको बराबरी खेलेको स्पेनिस टोली इरानविरुद्ध भने जितसहित प्रिक्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाउने धुनमा छ । यद्यपि पहिलो खेलमा मोरक्कोविरुद्ध १-० को जितसहित समूहमा सर्वाधिक तीन अंक बटुलेको इरान पहिलो जितपछि उत्साहित छ ।

त्यसैले यी दुई टोलीबीचको खेल रोचक हुने अनुमान गरिएको छ । इरानले मोरक्कोविरुद्धको खेलमा सुधार ल्याउन नसके खेल स्पेनको पक्षमा एकपक्षीय हुने सम्भावना पनि उत्तिकै छ । यी दुई टोलीबीचको स्तरमा निकै अन्तर छ । सन् २०१० मा विश्वकप जितेको स्पेन १५औं पटक विश्वकप खेल्दैछ । मात्र पाँचौंपटक विश्वकप खेल्दै गरेको इरानले अहिलेसम्म समूहगत चरण नै पार गर्न सकेको छैन ।

विश्वकपमा भने यी दुई टोली पहिलोपटक आमुन्नेसामुन्ने हुन लागेका हुन् ।

प्रतियोगितामा बुधबार नै समूह ‘ए’अन्तर्गत उरुग्वेले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ । साउदीले प्रतियोगिताको उद्घाटन खेलमै आयोजक रुससँग ५-० गोलको भारी अन्तरको पराजय बेहोरेको छ । त्यसैले एसियाको प्रतिनिधित्व गरिरहेको साउदी उरुग्वेविरुद्ध कम्तीमा अंक खोस्ने प्रयासमा हुनेछ ।

यद्यपि लुइस स्वारेज, एडिन्सन काभानीजस्ता खेलाडी रहेको उरुग्वेविरुद्ध साउदीलाई निकै मुस्किल हुने पक्का छ । पहिलो खेलमा इजिप्टविरुद्ध १-० को जित निकालेको उरुग्वेले प्रिक्वार्टरफाइनल चरणको सम्भावना बलियो बनाएको छ । यी दुई टोलीले पनि विश्वकप फुटबलमा अहिलेसम्म एकअर्काविरुद्ध खेलेका छैनन् । 

प्रभाव पार्न सक्ने खेलाडी 

डिएगो कोस्टा (स्पेन)

स्पेनले गत शुक्रबार पोर्चुगलसँग ३-३ गोलको बराबरी खेल्दा डिएगो कोस्टा एक्लैले दुई गोल गरेका थिए । खेलमा क्रिस्टियानो रोनाल्डोले दुईपटक पोर्चुगललाई अगाडि बढाएका थिए । तर, प्रत्येकपटक उनै कोस्टाले स्पेनलाई बराबरीमा फर्काएका थिए । स्पेनी टोलीका मुख्य स्ट्राइकर कोस्टाले प्रतियोगिताको पहिलो खेलबाट आफ्नो जादु देखाउन सुरु गरिसकेका छन् ।

घरेलु टोली एट्लेटिको म्याड्रिडमा आबद्ध रहेका कोस्टा टोलीलाई आवश्यक परेको कुनै पनि बेला गोल गर्न सक्षम खेलाडी हुन् । विपक्षी टोलीको डीबक्सभित्र बलसँग सहजै खेल्न सक्ने कोस्टा नियमति रूपमा गोल निकाल्न खप्पिस छन् । त्यसैले उनी रुस विश्वकपमा स्पेनिस टोलीको मुख्य खेलाडीका रूपमा रहेका छन् । पहिलो खेलको बराबरीपछि स्पेन बाँकी रहेको खेलमा जित हात पार्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने उद्देश्यमा छ ।

टोलीको यो उद्देश्य सफल बनाउन कोस्टाकै भूमिका महत्वपूर्ण रहने पक्का छ । घरेलु स्पेनिस ला लिगासहित इङ्लिस प्रिमियर लिगसमेत खेलेको अनुभव सँगालिसकेका कोस्टा टोलीका अनुभवी खेलाडी पनि हुन् । चेल्सीबाट इङ्लिस प्रिमियर लिग उपाधि जितेका कोस्टाले यो सिजन एट्लेटिको म्याड्रिडबाट युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग पनि जितेका छन् ।

उनी यही सफलता राष्ट्रिय टोलीबाट समेत दोहोर्‍याउन चाहन्छन् । त्यसैले रुस विश्वकपमा टोलीको बाँकी खेलमा उनको प्रदर्शन अझ हेर्न लायकको हुनेछ । सन् २०१४ मा स्पेनिस राष्ट्रिय टोलीबाट डेब्यु गरेका कोस्टाले त्यसयता २१ खेल खेलेर नौ गोल पनि गरिसकेका छन् ।


एडिन्सन काभानी (उरुग्वे)

स्ट्राइकर एडिन्सन काभानी उरुग्वेको राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट व्यावसायिक फुटबल खेल्दै आएका काभानीले पीएसजीलाई युरोपकै सशक्त टोलीका रूपमा स्थापित गराउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । पछिल्ला केही सिजन उनी पीएसजीका लागि गोल मेसिनकै रूपमा रहेका छन्।

उनकै सहयोगमा पीएसजीले घरेलु फ्रान्सेली लिगको उपाधि नियमित रूपमा जित्दै आएको छ । रुस विश्वकपमा उरुग्वेले पनि काभानीबाट यस्तै प्रदर्शनको आशा गरेको छ । पहिलो संस्करणसहित दुई विश्वकप फुटबलको उपाधि जितेको उरुग्वेले पछिल्लो समय भने गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । रुस विश्वकपको पहिलो खेलमै पनि उरुग्वेले लामो समयपछि विश्वकपमा सहभागिता जनाएको इजिप्टसँग १-० को झिनो अन्तरको जित हात पारेको थियो । सो जितका लागि उरुग्वेले रक्षक जोसे जिमिनेजको गोलको सहयोग लिनु परेको थियो ।

त्यसैले आगामी खेलमा उरुग्वेको सफलताका लागि काभानीले सशक्त प्रदर्शन गर्नु आवश्यक छ । शारीरिक रूपमा निकै सशक्त देखिने उनी खुट्टा र हेडिङ दुवैबाट नियमित गोल गरिरहने खेलाडी हुन् । सन् २००८ देखि नै उरुग्वेको राष्ट्रिय टोलीबाट खेल्न थालेका काभानीले हालसम्म एक सय दुई खेल खेल्दै ४२ गोल गरेका छन् । रुस विश्वकपको अन्त्य सम्ममा उनको यो आँकडामा खेल संख्या मात्रै हैन, गोलको संख्या पनि बढ्ने विश्वास गर्न सकिन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.