किमसँग सीले भने- 'विश्व परिस्थिति फेरिए पनि हाम्रो सम्बन्ध यथावत'
एजेन्सी : चीनका राष्ट्रपति सी जिनपिङ र प्रजातान्त्रिक गणतन्त्र उत्तर कोरियाका नेता किम जोङउनबीच बेइजिङमा भेटवार्ता भएको छ।
दुई नेताले चीन र उत्तर कोरियाबीचको सम्बन्ध तथा कोरियालीप्रायद्वीपको अवस्थाबारे छलफल गरेको चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
उनीहरूबीच हालै सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र किमबीच भएको शिखर वार्ताका बारेमा पनि छलफल भएको समाचारमा जनाइएको छ।
राष्ट्रपति सीले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शक्ति सन्तुलनमा जस्तोसुकै परिवर्तन आए पनि चीन र उत्तर कोरियाको मित्रतामा कुनै परिवर्तन नआउने बताएको समाचारमा जनाइएको छ।
'राष्ट्रिय तथा क्षेत्रीय अवस्थामा जस्तोसुकै परिवर्तन आओस्, उत्तर कोरियासँग चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको सम्बन्धमा परिवर्तन आउँदैन, चिनियाँ नागरिक र उत्तर कोरियाका नागरिकको सम्बन्धमा कुनै परिवर्तन आउँदैन र उत्तर कोरियालाई चीनको सहयोगमा कुनै परिवर्तन आउँदैन', राष्ट्रपति सीलाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ।