ईआईई नगरी पहरा फोर्दै डोजर
बैतडी/ दार्चुला : बैतडीमा पिछडिएको क्षेत्र मानिएको पुर्चौंडी नगरपालिकाको पहिलो बजेटमा ४० प्रतिशतभन्दा बढी रकम सडकका लागि विनियोजन गरियो । झन्डै ८ करोडभन्दा बढीका सडक योजना नगरपालिकाको पहिलो प्राथमिकता बन्यो । कुवाकोटदेखि भटना जोड्ने सडकका लागि नगरपालिकाले एक करोड ७२ लाख विनियोजन ग¥यो । यति ठूलो योजनाका लागि टेन्डरमा जानुपर्ने भएकाले यसका तीन टुक्रा बनाएर अहिले डोजरले रातदिन नभनी काम गरिरहेका छन् ।
पुर्चौंडी नगरपालिकाकै तल्लादेहीदेखि विजयपुर जोड्ने सडकमा पनि एक करोड रकम विनियोजन भएपछि दुई वटा उपभोक्ता समिति बनाएर त्यो सडकमा पनि अहिले तीव्रतासाथ निर्माण भइरहेको छ । पुर्चौंडीकै महादेवस्थान–न्वादेउ सडकमा पनि एक करोडको लगानी गरिएको छ ।
दशरथ चन्द नगरपालिकाले छेला–दुर्गाभवानी जोड्ने सडकमा ४० लाख, देहीमाडौं–दुर्गाभवानी जोड्ने सडकमा पनि ४० लाख विनियोजन गरी काम धमाधम गरिरहेको छ ।
दशरथ चन्द नगरपालिकाले कम्तीमा १० लाख र बढीमा ४० लाख गरी २० वटा सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । बैतडीका १० स्थानीय तहमध्ये धेरैले ४० प्रतिशतभन्दा बढी रकम सडक निर्माणमा छुट्याएका छन् । तर, कुनै पनि सडकको वातावरण प्रभावमूल्यांकन भने गरिएको छैन ।
बैतडीका अन्य स्थानीय तह सिगास गाउँपालिकाले साढे तीन करोड, पाटन नगरपालिकाले तीन करोड गरी धेरै स्थानीय तहले निर्माण गरिरहेका सडक वातावरण प्रभाव मूल्यांकनबिनै भइरहेका छन् ।
दार्चुलामा पनि उस्तै
दार्चुलामा पनि परियोजना प्रतिवेदन तयार पार्ने र वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन नगरेरै सडक बनाउने होडबाजी चलेको छ । अधिकार सम्पन्न जनप्रतिनिधिका अगाडि जिल्ला वन कार्यालय निरीह बनेको छ । दार्चुला नौ वटा स्थानीय तहले मात्रै यो वर्ष सुरु गरेका ४ दर्जन बढी ग्रामीण सडकको वातावरणीय प्रभाव मूल्यांकन गरिएको छैन ।
चुनावमा गरिएका वाचा पूरा गर्ने नाममा जनप्रतिनिधिले मापदण्डविपरीत दार्चुला जिल्लाभरि वन क्षेत्रमा निर्वाध सडक बनाइरहेका छन् । वरपरका बस्तीलाई नै जोखिम पार्ने गरी सडक निर्माण गरिए पनि जनप्रतिनिधिको अगाडि केही गर्न नसकेको जिल्ला वन कार्यालय दार्चुलाका वनअधिकृत सञ्जय तिवारीले बताए ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामीले जनताको चाहनाअनुसार सडक निर्माण भइरहेको बताए ।