मेसीमाथि दबाब: क्रोएसियासँग अर्जेन्टिनाको अग्नि परीक्षा
मस्को : अर्जेन्टिनाको रुस विश्वकपको सुरुआत सुखद हुन सकेन। अर्जेन्टिना प्रतियोगिताको आफ्नो पहिलो खेलमै विश्वकपमा डेब्यु खेल खेलिरहेको आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकियो। लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले अब प्रतियोगितामा प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्न समूहगत चरणमा बाँकी रहेका दुवै खेलमा स्तरीय प्रदर्शनसहित अंकको आवश्यक्ता छ। दुई खेलको जितले मात्रै अर्जेन्टिनालाई रुस विश्वकपको दोस्रो चरणतर्फ डोहोर्याउने छ।
त्यसैले बिहीबार राति हुने क्रोएसियाविरुद्धको खेलमा अर्जेन्टिनासँग जितकोे विकल्प छैन। त्यही अत्यावश्यक जित दिलाउन टोलीका महŒवपूर्ण खेलाडी मेसीमाथि दबाब पनि उत्तिकै छ। अर्जेन्टिना मेसीको साथमा पछिल्लो समय ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अभागी ठहरिँदै आएको छ। मेसीको नेतृत्वमै अर्जेन्टिना सन् २०१४ देखि सन् २०१६ सम्मको अवधिमा विश्वकपसहित तीन ठूला प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको छ।
त्यही अवधिमा मेसीले सन्न्यासको घोषणासमेत गरेका थिए। उनी अहिले फेरि राष्ट्रिय टोलीमा फर्किएका छन्। तर, त्यसयता पनि अर्जेन्टिनाको भाग्य फेरिएको छैन। रुस विश्वकपकै लागि अर्जेन्टिनालाई निकै मुस्किल देखिएको थियो। अन्तिम खेलमा मेसीले नै ह्याट्रिक गोल गरेपछि अर्जेन्टिनाको रुस यात्रा सम्भव भएको थियो।
आइसल्यान्डविरुद्ध विपक्षी रक्षापंक्तिलाई तोड्न असफल देखिएका मेसी र उनको टोलीलाई क्रोएसियाविरुद्ध पनि त्यही चुनौती हुन सक्छ।
क्रोएसियालाई युरोपेली ठूला क्लबमा स्थापित खेलाडीहरूको साथ छ। रियल म्याड्रिडका लुका मोड्रिच, बार्सिलोनाका इभान राकिटिच, इटालियन क्लब इन्टर मिलानका इभान पेरिसिच, युभेन्टसका मारियो मान्जुकिचजस्ता खेलाडी रहेको क्रोएसियाले अर्जेन्टिनालाई सहजै छाड्ने छैन। त्यसमाथि आफ्नो पहिलो खेलमा नाइजेरियाविरुद्ध २–० को जित हात पारेको क्रोएसिया उत्साही पनि छ।
यो खेलमा अर्जेन्टिनालाई बराबरीमै रोक्न सकेको अवस्थामा मात्रै पनि क्रोएसियाको प्रिक्वार्टरफाइनल सम्भावना बलियो बन्ने छ। त्यसैले क्रोएसियाले यो खेलमा अर्जेन्टिनाविरुद्ध रक्षात्मक खेल खेल्ने सम्भावना बढी छ। यी दुई टोलीबीचको विगतको प्रतिस्पर्धाले भने अर्जेन्टिनालाई बलियो देखाएको छ। मैत्रीपूर्णसमेत जोड्दा हालसम्म खेलिएका चारमध्ये दुई खेलमा अर्जेन्टिना विजयी बनेको छ। तीमध्ये एक जित विश्वकप फुटबलमै सम्भव भएको थियो।
सन् १९९८ मा भएको विश्वकपमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध १–० को जित हात पारेको थियो। त्यसबाहेक एक मैत्रीपूर्ण खेलमा क्रोएसिया विजयी बनेको छ भने एक खेल बराबरीमा टुंगिएको छ। पछिल्लोपटक सन् २०१४ को अन्त्यतिर भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–१ गोलले विजयी भएको थियो। अर्जेन्टिनालाई क्रोएसियाविरुद्धको यही जितको लयलाई निरन्तरता दिँदै प्रिक्वार्टरफाइनल सम्भावना बलियो बनाउन मेसी, सर्जियो एग्वेरोलगायतका खेलाडीले सशक्त प्रदर्शन गर्नु आवश्यक छ।
अर्जेन्टिना
विश्वकप सहभागिता : १७औं पटक
उपलब्धि : दुई पटक उपाधि
फिफा वरीयता : ५
क्रोएसिया
विश्वकप सहभागिता : पाँचौं पटक
उपलब्धि : तेस्रो स्थान
फिफा वरीयता : २०
प्रभाव पार्नसक्ने खेलाडी
सर्जियो एग्वेरो (अर्जेन्टिना)
अर्जेन्टिनी टोलीका महत्वपूर्ण खेलाडी हुन्, सर्जियो एग्वेरो। इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका एग्वेरो अनुभव र क्षमताका आधारमा रुस विश्वकपमा पनि अर्जेन्टिनी टोलीका महत्वपूर्ण खेलाडीका रूपमा रहेका छन्। उनले रुस विश्वकपमा आफ्नो महत्व पनि प्रमाणित गरिसकेका छन्, पहिलो खेलमै गोल गरेर।
अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरी खेल्दा उनै एग्वेरोले गोल गरेका थिए। आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध डीबक्सभित्र आफ्नो खेलाडीको बार लगाएको अवस्थामा समेत उनले आकर्षक गोल गरेका थिए। उनको यस्तै प्रदर्शनले अर्जेन्टिना रुस विश्वकपमा अघि बढ्ने विश्वास गरिएको छ। लगातार तेस्रो विश्वकप खेलिरहेका एग्वेरोले उमेर समूहको प्रतियोगिताबाट प्रशस्तै उपधि जितिसकेका छन्।
यद्यपि सिनियर राष्ट्रिय टोलीमा भने उनले त्यो सफलता दोहोर्याउन सकेका छैनन्। उनलाई अर्जेन्टिनी राष्ट्रिय टोलीमा लियोनल मेसीसँग मिल्ने ‘स्ट्राइकिङ पार्टनर’ का रूपमा लिइन्छ। यद्यपि विभिन्न कारणले विश्वकपजस्ता ठूला प्रतियोगितामा उनले मेसीलाई बलियो साथ दिन सकिरहेका छैनन्। सन् २०१४ को विश्वकपमा पनि उनी चोटका कारण अधिकांश खेलमा पहिलो रोजाइमा पर्न सकेका थिएनन्।
यसपटक भने उनी पूर्ण रूपमा फिट देखिएका छन्। उनी पछिल्लो समय लयमा पनि छन्। यसपटक मेसीसँग जोडी जमेको अवस्थामा उनले अर्जेन्टिनालाई रुस विश्वकपको उपाधितर्फ डोहोर्याउन सक्ने पर्याप्त सम्भावना छ। सन् २००६ देखि अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्दै आएका एग्वेरोले हालसम्म ८६ खेलमा ३८ गोल गरिसकेका छन्।