फ्रान्स : जितसँगै प्रदर्शन सुधारको लक्ष्य
मस्को : फ्रान्सले रुस विश्वकपको आफ्नो पहिलो खेलमा जित त हात पा¥यो तर उसले आफ्नै समर्थकको मन भने जित्न सकेन। अस्ट्रेलियाविरुद्ध रुस विश्वकपको आफ्नो पहिलो खेलमा २–१ गोलको जित निकाल्दा फ्रान्सले उसको समर्थकले सोचेको जस्तो खेल्ने सकेन। वास्तवमै फ्रान्सले अस्ट्रेलियाविरुद्ध आफ्नो क्षमताभन्दा निकै कमजोर प्रदर्शन गरेको थियो।
त्यसैले समूहगत चरणमा बिहीबार पेरुविरुद्ध आफ्नो दोस्रो खेल खेल्दा फ्रान्सले सुधारिएको प्रदर्शनसहित खेल जित्ने उद्देश्य लिएको छ। फ्रान्सलाई रुस विश्वकपमा उपाधि दाबेदार टोलीको रूपमा पनि हेरिएको छ। फ्रान्ससँग जुनसुकै पोजिसनमा पनि खेल्ने राम्रा खेलाडीको कमी छैन। त्यसैले पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर देखिएको अस्ट्रेलियाविरुद्ध जितका लागि ठूलै संघर्ष गर्नुपर्दा समर्थक निराश हुनु स्वाभाविकै हो।
फ्रान्सलाई प्रिक्वार्टरफाइनल चरणको यात्रामा बलियो बनाउँदै आफूलाई उपाधि दाबेदार टोलीकै हैसियतमा कायम राख्न सुधारिएको प्रदर्शनसहित पेरुविरुद्ध जित आवश्यक छ। पेरुलाई पराजित गर्न सकेमा फ्रान्सको प्रिक्वार्टरफाइनल यात्रा लगभग पक्का हुनेछ। यद्यपि डेनमार्कविरुद्ध हारका बाबजुद सशक्त देखिएको पेरुलाई हराउनु फ्रान्सका लागि त्यति सहज भने पक्कै हुनेछैन।
डेनमार्कसँग १–० गोेलले पराजित भएको पेरुलाई प्रतियोगितामा टिकिरहन फ्रान्सविरुद्ध कम्तीमा एक अंक आवश्यक छ। त्यसैले पेरुले पनि फ्रान्सविरुद्ध जितकै लागि खेल्नेछ। यी दुई टोलीबीच यसअघिका विश्वकपमा भने भेट भएको छैन। रुस विश्वकपको भेटले प्रतियोगितामा यी दुई टोलीको भविष्य निर्धारण गर्नेछ। बिहीबार नै हुने अर्काे खेलमा फ्रान्स र पेरुकै समूहका अन्य दुई टोली डेनमार्क र अस्ट्रेलिया पनि भिड्दै छन्।
यो खेलमा पनि प्रिक्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाउन दुवै टोलीलाई जित आवश्यक छ। यद्यपि जितले डेनमार्कको अन्तिम १६ को सम्भावना निकै बलियो हुनेछ भने पराजयले अस्ट्रेलियाको सम्भावना लगभग समाप्त हुने अवस्था छ। सोही दिनको अघिल्लो खेलमा फ्रान्स र दोस्रो खेलमा डेनमार्क विजयी भएमा अस्ट्रेलिया र पेरु दुवैको नकआउट चरणको सम्भावना समाप्त हुनेछ। त्यसैले पेरुसँगै अस्ट्रेलियालाई पनि अघिल्लो चरणको यात्रा तय गर्न क्रमशः फ्रान्स र डेनमार्कविरुद्ध अंक खोस्नुपर्ने दबाब छ। विश्वकप फुटबलको इतिहासमा यी दुई टोली पनि पहिलोपटक आमनेसामने हुन लागेका हुन्।
प्रभाव पार्न सक्ने खेलाडी
पल पोग्बा
प्राविधिक रूपमा निकै छरिता पल पोग्बा फ्रान्सेली टोलीका मुख्य मिडफिल्डर हुन्। मैदानमा सधैं सिर्जनात्मक तरिकाले खेल्ने पोग्बा रुस विश्वकपमा टोलीका पनि महत्वपूर्ण खेलाडी हुन्। आक्रामक मिडफिल्डरका रूपमा खेल्ने उनी टोलीलाई आवश्यक परेको अवस्थामा गोलसमेत गर्न सक्षम छन्। फ्रान्सले रुस विश्वकपको पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध २–१ को जित हात पार्दा उनै पोग्बाले निर्णायक गोल गरेका थिए।
उचाइ, सशक्त प्रहार, खेललाई बुझ्न र सोहीअनुसार खेल्नसक्ने क्षमताले पोग्बालाई युरोपेली ठूला क्लब हुँदै फ्रान्सेली टोलीका मुख्य खेलाडीका रूपमा स्थापित गराएको हो। फ्रान्सको उमेर समूहको टोलीको कप्तानसमेत रहेका पोग्बा मैदानमा टोलीको नेतृत्व गर्न पनि सक्षम रहन्छन्। इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दै आएका उनीसँग युभेन्टसबाट घरेलु सिरीए लिग खेलेको अनुभव पनि छ।
त्यही अनुभव र क्षमता प्रयोग गर्दै पोग्बाले रुस विश्वकपको उपाधि जित्ने फ्रान्सको योजना सफल बनाउने विश्वास गरिएको छ। सन् २०१३ मा फ्रान्सको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका पोग्बाले अहिलेसम्म ५५ खेल खेल्दै नौ गोल गरेका छन्। रुस विश्वकपको अन्त्यसम्म पोग्बाको खेलसँगै गोलको संख्या पनि बढ्ने अनुमान गर्न सकिन्छ।