पुर्जा नहुँदा घर बनाउन वञ्चित

पुर्जा नहुँदा घर बनाउन वञ्चित

धादिङबेंसी : भूकम्प गएको ३ वर्षभन्दा बढी भइसकेको छ । भूकम्पले घर भत्किए पनि लाभग्राही सूचीमा नपरेको समस्याका कारण अझै कैयौं भूकम्पपीडित घर बनाउनबाट वञ्चित भइरहेका बेला लाभग्राही सूचीमा नाम परेका पीडितले समेत लालपुर्जा नभएकै कारण अनुदानको रकम लिन पाएका छैनन् ।

दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ (साविकको महादेवस्थान गाविस वडा नम्बर २ र ३) को पार्लाक, बाकुराङ र भैंसे गाउँका चेपाङ समुदायको जग्गा धादिङ जिल्लामा भए पनि नापीचाहिँ चितवनमा पर्दा लालपुर्जा चितवनको मालपोत कार्यालयमा पुगेका कारण भूकम्पको अनुदान लिन नपाएका हुन् ।

पार्लाक र बाकुुराङ गाउँको जग्गा ०३२ सालमा बागमती अञ्चल, धादिङ जिल्ला लोथर कान्द्राङ पञ्चायत वडा नं. ४ को ठेगानामा नापी भएको थियो । अहिले उक्त ठाउँको जग्गा मालपोतको ढड्डामा हेर्दा चितवन जिल्लामा पर्छ भने भूगोलचाहिँ धादिङ जिल्लामै पर्छ । बाङकुर्तीका स्थानीय जितबहादुर चेपाङले भने, ‘हामीसँग जग्गा हुँदाहुँदै पनि सुकुम्बासी बन्नुपरेको छ । यो मेरो मात्रै समस्या होइन, पूरै गाउँवासीको समस्या हो ।’

बाकुराङ र पार्लाक गाउँको जग्गाको नापी भएदेखि भूमिकर तिरिएको छैन । ०३२ सालमा नापी भएको र नापीपछि जग्गाको लालपुर्जा सबै चितवन पुगेकाले ती गाउँबाट कोही पनि अहिलेसम्म चितवन जिल्लामा भूमि कर तिर्न नगएका हुन् । ‘हामी सबै धादिङ हो । हामीले धादिङ जिल्लाबाट नागरिकता लिएका छौँ । जन्मदेखिको मर्ने बेलासम्मका सबै कामकाजमा धादिङको नाउ जोडेर बसेका छौँ ।’ अर्का स्थानीय पूर्णबहादुर प्रजाले भने, ‘अनि जग्गा मात्रै कसरी चितवन जिल्लाको मालपोतमा हुन्छ । हाम्रो यो समस्या सुनिदिने कोही भएन ।’

बाकुराङबाट पूर्णबहादुर चेपाङ, हस्तबहादुर प्रजा, सुकरा चेपाङ, सुकरामबहादुर चेपाङ, सोमसिं चेपाङ, चन्द्रबहादुर चेपाङ, दीपलाल चेपाङ, सोमबहादुर चेपाङ र सोमबहादुर चेपाङको आवास निर्माण लाभग्राही सूचीमा नाम निस्केको छ । यसैगरी, पार्लाकबाट शुकराम चेपाङ, लालबहादुर चेपाङ, दिलबहादुर चेपाङ, वीरबहादुर चेपाङ, शेरबहादुर चेपाङ, विक्रम चेपाङ र आइतसिं चेपाङको नाम आवास निर्माण लाभग्राही सूचीमा नाम निस्केको छ । आवास निर्माण सूचीमा नाम भएर पनि घर निर्माण गर्न लालपुर्जा नभएर सम्झौता रोकिएपछि धेरै पटक गाविस÷वडा कार्यालय र गाउँपालिका धाउँदासमेत आफूहरूको समस्यामा गाउँपालिकाले चासो नदेखाएको जितबहादुरले गुनासो गरे । भूमिकर तिर्ने हो मात्रै भने पनि चितवन जिल्लाको मालपोत कार्यालयबाटै लालपुर्जा पाइन्छ । तर, ०३२ सालदेखिको भूमिकर कसरी तिर्ने ? त्यही समस्याले गर्दा पूरै गाउँ लालपुर्जाविहीन भएको स्थानीय सोमबहादुर चेपाङले बताए ।

‘दिनभरि ज्याला मजदुरी गरेन भने बिहान–बेलुकाको छाक जुटाउँदा धौधौ हुन्छ ।’ बाकुराङ गाउँका शुकराम चेपाङले भने, ‘अब हामीले कसरी त्यत्रो वर्षको भूमिकर तिर्ने अनि लालपुर्जा ल्याउने त ।’ अनुदानको घर बनाउने समयसीमा २०७५ असार मसान्तसम्म मात्रै रहेकाले लालपुर्जा नभएका कारण उक्त गाउँका भूकम्पपीडितको अहिलेसम्म सम्झौता नै नभएको र सरकारले घर बनाउन दिएको अनुदान लिन नपाउन भएका हुन् ।

बेनीघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापाका अनुसार ०३२ सालको नापीले जग्गा चितवनमा देखाइदिएको भए पनि भूगोल भने धादिङ जिल्लामै परेकाले यो समस्या आएको हो । सबै गाउँलेको मतदाता परिचयपत्र र नागरिकता भने धादिङ जिल्लाबाटै बनेको भए पनि लालपुर्जा भने चितवन जिल्लामा भएकाले सीमा जोडिएको राप्ती नगरपालिका र बेनीघाट गाउँपालिकाको पहल गरेर लालपुर्जाको समस्या समाधान गरिदिनुपर्ने थापाले बताए । उनले भने, ‘पटक–पटक यहाँका स्थानीयको समस्या गाउँपालिकासम्म लगिएको छ, धादिङबाट मात्रै पहल गरेर यो समस्या समाधान हुने अवस्था नदेखिएकाले सीमा जोडिएको चितवनको राप्ती नगरपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाले नै यी चेपाङको समस्या समाधान गर्न पहल गरिदिनुपर्छ ।’

बाकुराङका चेपाङले भने लालपुर्जा सबै धादिङकै हुनुपर्ने बताउँछन् । स्थानीय रुपबहादुर चेपाङले भने, ‘बस्ने, खाने सबै धादिङमा अनि जग्गाको कारोवार गर्नचाहिँ हामी कसरी चितवन जाने, हाम्रो सबै जग्गाको लालपुर्जा धादिङबाटै बन्नुपर्छ ।’

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.