पानामा पेपर्सको नयाँ खुलासामा अर्जेन्टिनाका राष्ट्रपतिदेखि मेसीसम्म मुछिए
काठमाडौं : पानामा पेपर्सको नयाँ खुलासाले अफसोर कम्पनीका लगानीकर्ता को हुन् भन्ने खुलाउन डाटा लिक हुने ल फर्म असफल भएको जनाएको छ। डाटा लिक भएको ल फर्म मोज्याक फोन्सेका अफसोर बिजनेसमा रहेका २८ हजार ५०० सक्रिय कम्पनीमध्ये अधिकांशका लगानीकर्ता को हुन् भन्ने खुलाउन असफल भएको बीबीसीले लेखेको छ।
ब्रिटिस भर्जिन आइल्यान्डका ७० प्रतिशतभन्दा बढी र पानामाका ७५ प्रतिशत भन्दा बढी अफसोर कम्पनीमा कसको लगानी छ र ती कम्पनीले व्यवसायबापत् प्राप्त गर्ने लाभ कसले लैजान्छ पत्तो नभएको नयाँ खुलासाले देखाएको छ।
खोज–पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था कर्न्सोटियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आईसीआईजे) ले बुधबार राति पानामा पेपर्सको नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो।
नयाँ खुलासामा १.२ मिलियन कागजातहरू छन्।
मोस्याकको पानामास्थित केन्द्रीय कार्यालय र उरुग्वेस्थित शाखाबीच सन् २०१६मा आदानप्रदान भएको इमेलअनुसार उनीहरूले एउटा कम्पनीको रेकर्ड मेटाउन खोजेको देखिन्छ। फ्लेग ट्रेडिङ को नामक यो कम्पनीमा अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीको परिवारको लगानी भएको समाचारमा उल्लेख छ।
सुरुमा लिक भएको पेपर्सले यो कम्पनीमा राष्ट्रपतिको परिवारका सदस्यहरूको नियन्त्रणमा यो कम्पनी रहेको खुलासा गरेको थियो। उनका बाबु कम्पनीका मालिक थिए। कम्पनीका कर्मचारीको सुझावअनुसार कम्पनी स्थापनाको मिति परिवर्तन गरी यझ झमेलाबाट मुक्त गर्ने तयारी भएको थियो। उनका एकाउन्टेन्टले सोहीअनुसार एक वर्ष पहिलाको मिति राखेर पत्र पनि लेखेका थिए।
तर अन्तिममा उक्त कदम निकै जोखिमपूर्ण हुने र कीर्तेको खुलासा भएमा झन् समस्या हुने निष्कर्ष कम्पनीको आन्तरिक इमेल कुराकानीम उल्लेख छ।
मेसी मुछिए
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी यसअघि नै अनुसन्धानको घेरामा थिए। उनका बाबु जर्ज होरासियो मेसी र छोरा मेसीले अफसोर कम्पनी बनाएर करोडौँ डलर को कर छल्न खोजेको खुलासा पानामा पेपर्सले यसअघि नै गरिसकेको थियो।
यसअघि मेसीले आफूहरूको नाममा दर्ता भएको कम्पनी मेगा स्टार्स पूर्ण रुपमा बन्द भइसकेको बताएका थिए। तर नयाँ खुलासाले उनको दावी सत्य नरहेको देखाएको समचारमा जनाइएएको छ।
सन् २०१६ मार्चमा पानामामा रहेको ल फर्म मोस्याक फोन्सेकामा रहेको ठूलो मात्राको तथ्यांक कसैले कपी गरी खोज पत्रकारहरूको संस्थालाई दिएको थियो। यो तथ्यांकमा विश्वका शासकहरू, राजनीतिज्ञ, सेलिब्रेटी र कयौँ कालो धन्दा गर्नेहरूको आर्थिक कारोबारको तथ्यांक पनि थियो।