डेनमार्क र अस्ट्रेलियाको १-१ बराबरी
मस्को : एसियाली टोली अष्ट्रेलिया र डेनमार्क १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। समूह ‘सी’ अन्तर्गत बिहीबार सँझ भएको प्रतिस्पर्धात्मक खेलमा अष्ट्रेलियामाथि सुरुआती अग्रता लिएको डेनमार्क अन्ततः अंक बाँड्न बाध्य भएको हो। डेनमार्कका लागि सातौं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै टोलीको उत्साह बढाएका थिए।
उनले निकोलइ जर्जेन्सनको पासमा गोल गरेका थिए। डेनमार्कको अग्रता पनि केही जोसिएको अष्ट्रेलियाले पहिलो हाफमै पाएको पेनाल्टी मार्फत ३८ औं मिनेटमा बराबरी गोल फर्काएको हो। डिबक्स भित्र डेनमार्कका युसुफ पउलसेनको ह्यान्ड भएपछि पाएको पेनाल्टीलाई माइल जेडिन्कले सदुपयोग गरेका थिए।
सुरुआती गोलपछि रक्षात्मक देखिएको डेनमार्कले त्यसपछि केही दबाब झेल्यो। पहिलो हाफमा बल नियन्त्रणमा समेत बलियो देखिएको डेनमार्कमाथि दोस्रो हाफको अन्तिममा पुग्दा अष्ट्रेलिया बलियो देखिएको थियो। खेल सकिनुअघि अष्ट्रेलिया बलनियन्त्रण र पास खेल्नमा ५१ प्रतिशत थियो। डेनमार्क ४९ प्रतिशतमा झरेको थियो।
समूहको पहिलो खेलमा पेरुलाई १-० गोलले हराएको डेनमार्कले चार अंक बनाएको छ। यसैगरी पहिलो खेलमा फ्रान्ससँग २-१ गोलले पराजित भएको अष्ट्रेलियाले एक अंक बनाएको छ।
दुवै टोलीको अघिल्लो चरणमा पुग्ने सम्भावना भने कायमै रहेको छ। समूह चरणको अन्तिम खेलमा डेनमार्कले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग मंगलबार खेल्नेछ भने अष्ट्रेलियाले सोही दिन पेरुको सामना गर्नेछ। उक्त खेलमा अष्ट्रेलियाले पेरुलाई हराउन सकेका उसको अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो हुनेछ। यता डेनमार्कलाई पनि अगाडी बढ्न फ्रान्सलाई हराउनु पर्ने हुन्छ।