आगामी आवको बजेटको असर : इन्ट्री लेभलका गाडीमा फर्किंदै ग्राहक
काठमाडौं : आगामी वर्षको बजेटले एक हजार सीसीभन्दा माथिका गाडीमा बढाएको करले अटो क्षेत्र फेरि विलासिताको वस्तुमा पर्ने हो कि भन्ने चिन्ता बढेको छ। आवश्यकता बनिसकेको कारलाई सरकारले अहिलेसम्म अत्यावश्यक साधनमा राख्न सकेको छैन। सरकारले आगामी वर्ष पनि राजस्व संकलनको प्रमुख हतियार अटोलाई नै बनाउने भएको छ। जसका कारण अत्यावश्यक साधन कार तथा जिप सोखिनका साधन त बन्ने होइन भने प्रश्न उठेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए। उनले भने, ‘अटो क्षेत्रमा अहिले पनि कर बढी छ। यसमा अझै कर थपेपछि कतै अटो विलासिता त होइन ? अहिले हामीलाई बढी मात्रामा यही विषयले चिन्तित बनाएको छ।’
नेपाली बजारमा अहिले १४ लाख रुपैयाँदेखि प्रिमियम एसयूभी सिरिजका करोडौं मूल्यका गाडी उपलब्ध छन्। सार्वजनिक यातायात भरपर्दो नभएपछि निजी सवारीमा बढ्दो आकर्षण देखिन्छ। अचानक बैंकमा लगानीयोग्य पुँजी अभाव भएपछि बजारमा असर देखियो। तर राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा कडाइ गरेको अटो लोनमा केही सहजता थियो। फेरि सरकारले राजस्व संकलनको हतियारका रूपमा अटोलाई नै लिँदा समग्र अटो बजार तरंगित बनेको छ। ग्राहकले सवारीसाधन बदल्दै जाने प्रवृत्ति पनि बढ्दो छ। आज बाइक चढ्ने ग्राहक आम्दानी बढ्दै गएपछि कार खोज्दै आउँछ। त्यो मानवीय स्वभाव पनि हो।
इन्ट्री लेबलमा माग बढी
सबैभन्दा बढी माग इन्ट्री लेभल कारको छ। यसको बजार झन्डै ४० प्रतिशत छ। यो सेग्मेन्टमा १४÷१५ लाखदेखि २० लाख रुपैयाँसम्मका कार पर्छन्। त्यसपछि मिडलेभल कारमा आकर्षण बढेको श्रेष्ठ बताउँछन्। मिडलेभल २० देखि २५ लाखसम्मका कारलाई भनिन्छ। ३० लाख रुपैयाँभन्दा माथि सेडान कार पाइन्छन्। ४०÷५० लाख रुपैयाँको रेन्जमा एसयूभी कार नै चढ्न पाइन्छ। एसयूभी ३२÷३५ लाखदेखि अढाइ करोड रुपैयाँसम्मका हुन्छन्। मार्केटमा अढाइ करोडसम्मका एसयूभी गुडिरहेको देखिन्छ।
बजेटपछि पनि अटोमोबाइल्स क्षेत्रका ग्राहकको रोजाइमा स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) र ह्याचब्याक गाडीमा आकर्षण देखिएको व्यवसायीको तर्क छ। अधिकांश सवारी प्रयोगकर्ता ह्याचब्याक सेग्मेन्टकै गाडीबाट अटोमोबाइल्स क्षेत्रमा प्रवेश गर्ने गरेका छन्। इन्ट्री लेभलको सवारी प्रयोग गर्दै विस्तारै एसयूभीमा सिफ्ट हुने गरेका छन्। ह्याचब्याक गाडी सानो आकारको हुन्छ। सिट पनि साँधुरो हुने भएकाले लामो यात्रा गर्न चाहाने ग्राहकहरू खुला सिट भएको एसयूभी गाडी चढ्ने क्रम बढिरहेको टाटाका जेनेरल म्यानेजर प्रविन खतिवडा बताउँछन्।
इन्ट्री लेभलका गाडीको बजार झन्डै ४० प्रतिशत छ। यो सेग्मेन्टमा १४÷१५ लाखदेखि २० लाख रुपैयाँसम्मका कार पर्छन्।
आगामी वर्षको बजेटमा सरकारले अटोमोबाइल्स क्षेत्रमा ४० प्रतिशतसम्म अन्तशुल्क र तीन प्रतिशतसम्म सडक निर्माण दस्तुर बढाएको छ। अटोमोबाइल्स कम्पनीहरूले स्टकमा रहेका गाडीहरू बजेटपूर्वकै मूल्यमा बिक्री गरिरहेका छन्। १००० सीसीसम्मका गाडीहरू सरकारले अन्तशुल्क बढाएको छैन। १००१ सीसीदेखि १५०० सीसीसम्म पाँच प्रतिशत र १५०१ सीसीदेखि २००० सीसीसम्म १० प्रतिशत, २००१ सीसीदेखि २५०० सीसीसम्म २० प्रतिशतले अन्तशुल्क बजेटमार्फत बढेको छ। नेपालमा आयात हुने अधिकतम एसयूभी गाडीहरू २५ सय सीसीकै हाराहारीमा हुने व्यवसायी बताउँछन्। यसले गर्दा आगामी आर्थिक वर्षबाट भित्रिने नयाँ गाडीहरूको मूल्य अहिलेभन्दा महँगो हुने निश्चित छ। २५०१ सीसीदेखि ३००० सीसीसम्म ३० प्रतिशत र ३००१ सीसीमाथिका गाडीमा ४० प्रतिशत अन्तशुल्क बढेको छ।
फक्सवागनका गाडी खरिदका लागि आउने ७० प्रतिशत ग्राहकले एसयूभी सेग्मेन्टको टिगुवानप्रति चासो राख्ने गरेको फक्सवागनका मार्केटिङ म्यानेजर विराज श्रेष्ठ बताउँछन्। ‘अहिले फक्सवागनको गाडी किन्नका लागि दैनिक जस्तो ७÷८ जना ग्राहक आउने गरेका छन्, त्यसमा ५÷६ जनाले टिगुवाननै खोज्ने गर्छन्’, उनले भने। टिगुवन १३९५ सीसी पेट्रोल र १९६८ सीसी डिजेल भर्सनमा उपलब्ध छ। साथै केही ग्राहक ह्याचब्याक सेग्मेन्टको क्रस पोलो र पोलो खोज्ने गरेको उनी बताउँछन्। आगामी आर्थिक वर्षबाट भित्रिने गाडीको मूल्य अहिलेभन्दा महँगो पर्ने ग्राहकलाई थाहा छ। अहिले कम्पनीहरूले स्टकका गाडी बजेटअघिकै मूल्यमा बिक्री गरिरहेका छन्। बजेटकै कारण ग्राहकहरू अहिले नै गाडी किन्न खोजिरहेका छन्।
टाटाको गाडी खरिद गर्न आउने ग्राहकको रुची एसयूभी र इन्ट्री लेभलकै सेग्मेन्टमा अधिक देखिएको छ। म्यानेजर खतिवडाका अनुसार गाडी खरिदका लागि दैनिक २० जनाको हाराहारीमा ग्राहक आउने गरेका छन्। ती ग्राहकहरूमध्ये १४÷१५ जना एसयूभी सेग्मेन्टको नेक्सन र टाटा टियागोप्रति नै आकर्षित छन्। नेक्सन १४९८ सीसीमा बजारमा उपलब्ध छ। स्टकको गाडी किन्दा आगामी आर्थिक वर्षमा भित्रिने नयाँ गाडीभन्दा सस्तो हुन्छ। बजेटअघिकै मूल्यमा स्टकमा रहेका गाडी बिक्री हुने भएकाले ग्राहकले खोजेजस्तो रंगमा पाउन नसक्ने समस्या रहेको उनको भनाइ छ। ‘हामीसँग सीमित गाडी स्टकमा छन्, केही समय कुर्दा महँगो पर्ने भएकाले ग्राहकहरू सस्तोमा गाडी किन्न अहिले आइरहेका छन्’, उनले भने। पछिल्लो समय टाटाको टियागो टिगोर खोज्न ग्राहकहरूको संख्यामा वृद्धि भइरहेको उनी बताउँछन्। टिगोर ११९९ सीसीमा उपलब्ध छ।
नेपाल भौगोलिक विविधतापूर्ण मुलुक हो। साना इन्जिनका गाडीहरू पहाडी तथा हिमाली सडकमा सहज रूपमा गुड्न सक्दैनन्। त्यसैले इन्ट्री लेभलबाट प्रवेश गरेका ग्राहकमा पछिल्लो समय एसयूभीप्रति मोह बढेको देखिन्छ। इन्ट्री लेभलका तुलनामा एसयूभीको इन्जिन शक्तिशाली र गाडीको आकार पनि ठूलो हुन्छ। साना गाडी गुड्न कठिन हुने सडकमा पनि सहज रूपमै एसयूभी गुड्न सक्ने भएकाले ग्राहकको रोजाइमा पर्न गएको महिन्द्रका मार्केटिङ म्यानेजर सिजन न्यौपाने बताउँछन्। महिन्द्राको टीयूभी३०० र केयूभी१०० ग्राहकको रोजाइमा पर्ने गरेको उनले बताए। १४९३ सीसी डिजेल भर्सनको टीयूभी३०० एसयूभी र ११९८ सीसीको केयूभी१०० डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध छ। गाडी खरिदका लागि आउने ६० प्रतिशतभन्दा धेरै ग्राहकको रोजाइमा यी दुई गाडी पर्ने उनी बताउँछन्। साथै, स्कर्पिओ पिकअप, बोलेरो तथा ई२०प्लस इलेक्ट्रिक भेहिकलमा खरिदका लागि ग्राहक आउने गरेको उनको भनाइ छ।
हुन्डाईले वल्र्ड कप फुटबललाई लक्ष्य गर्दै ग्राहकका लागि ‘रोड टू रसिया’ योजना ल्याएको छ। योजनाअन्तर्गत दुई जना भाग्यशालीले हुन्डाई अनरले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजका साथ फिफा वल्र्डकप २०१८ को फाइनल खेलको टिकेट जित्ने मौका पाउनेछन्। वल्र्डकप योजनाका कारणले ग्राहकको संख्यामा वृद्धि भइरहको हुन्डाईका सेल्स म्यानेजर आवसिस ओझा बताउँछन्। हुन्डाईको गाडी खरिद गर्न आउने ग्राहकको रोजाइमा एसयूभी र ह्याचब्याक गाडी पर्छन्। उनका अनुसार हुन्डाईको गाडी खरिदका लागि दैनिक ८० जनाको हाराहारीमा ग्राहक आउने गरेका छन्। त्यसमध्ये ६० जनाको जिज्ञाशा एसयूभी सेग्मेन्टको आई२० एक्टिभ र इलाइट आई२० र ह्याचब्याक सेग्मेन्टको ग्रान्ड आई१० हुने उनको भनाइ छ।
सुजुकीका सिनियर मार्केटिङ म्यानेजर करुन शाक्य अघिल्लो वर्षको बजेटपछिको समयभन्दा अहिले बजार सुस्त भएको बताउँछन्। ‘गत वर्षको यस अवधिभन्दा ४० प्रतिशतले बजार घटेको छ। बैंक तथा वित्तीय संस्थाले अटो लोनमा कडाई गरेका कारण ग्राहक घटेका हुन्’, उनले भने, ‘तर दुई÷चार महिनाको तुलनामा अहिले ग्राहकको संख्या बढेको छ।’ सुजुकी इन्ट्री लेभलकै गाडी बिक्री गर्न प्रख्यात छ। ग्राहकको रोजाइमा पनि इन्ट्री लेभल र एसयूभी अग्रस्थानमा रहेको उनी बताउँछन्। ९९८ सीसीको केलेरियो र एसयूभी सेग्मेन्टको भिट्रा ब्रेजा खोज्ने ग्राहक ७० प्रतिशतभन्दा माथि छन्। असारको पहिलो साता नेपाली बजारमा भित्रिएको तेस्रो संस्करणको स्विफ्ट खोज्न आउने ग्राहक बढिरहेको उनी बताउँछन्।
नाडाका अध्यक्ष दाहाल नयाँ ग्राहकहरू साना गाडी किनेर चढ्ने बताउँछन्। ‘गाडी किन्नका लागि पैसा महŒवपूर्ण हो, ठूला गाडीको तुलनामा साना गाडी सस्तो पर्ने भएकाले ग्राहकको रोजाइमा साना सीसीका एसयूभी र ह्याचब्याक परेको हो’, दाहालले भने।
टोयोटाका गाडी खरिद गर्न चाहाने ग्राहको रोजाइमा पनि एसयूभी नै पर्ने गरेको छ। टोयोटाका सेल्स एन्ड मार्केटिङ म्यानेजर विवेक बलामीका अनुसार ५० प्रतिशत ग्राहकको रोजाइ रस कम्प्याक्ट हुने गरेको बताउँछन्। साथै ग्राहकको रोजाइमा ईटीओस क्रस पनि छ। ईटीओस क्रस सबकम्प्याक्ट सेग्मेन्टको कार हो।
कार तथा जिप धनी र सोखिनको सवारीमा मात्र सीमित नभएको एमजी मोटर्सका जेनेरल म्यानेजर सचिन अग्रवाल बताउँछन्। ‘व्यापार, व्यवसाय र जागिरको आम्दानी बचाएर आफ्नै गाडी किन्न खोज्नेहरू बढेका छन्, त्यस्ता व्यक्तिले महँगो गाडीबाट भन्दा पनि इन्ट्री लेभल नै रोज्ने गरेका छन्’, उनले भने। एमजी मोटर्सका ग्राहकको रोजाइमा पनि एसयूभी सेग्मेन्टकै गाडी पर्ने गरेका छन्। एमजी मोटर्समा कार किन्न आउने ग्राहकको रोजाइमा एमजीजीएस र एमजीजेटएस पर्ने गरेको उनी बताउँछन्। ‘गाडी खरिद गर्न दैनिक १०÷१२ जना ग्राहकहरू आउने गरेका छन्, तीमध्ये ७÷८ जनाले एमजी जीएस र एमजी जेटएस खोज्ने गरेका छन्’, उनले भने। फोर्डका गाडी किन्न आउने धेरैजसो ग्राहकको आकर्षणमा फिगो, इको स्पोर्ट र फ्रिस्टाइल क्रसओभर हुने गरेको फोर्डका मार्केटिङ म्यानेजर सुमन रेग्मीले बताए। फिगो फोर्ड ह्याचब्याक, इको स्पोर्ट र फ्रिस्टाइल क्रसओभर एसयूभी सेग्मेन्टका गाडी हुन्।