पुमागाउँमा होमस्टे तयारी

पुमागाउँमा होमस्टे तयारी

बेसीसहर : बेसीसहर नगरपालिका–६ पुमागाउँमा होमस्टेको तयारी गरिएको छ। एसियाकै नमुना घलेगाउँ जाने बाटोमा पर्ने पुमागाउँमा होमस्टेका लागि पाँच घर तयार गरिएको छ।

पुमागाउँमा ५२ घरधुरी छ। होमस्टेका लागि धनकाशी, दुर्गा, विना, सुकमाया र मिनकाशी गुरुङको घर तयार गरिएको छ। पुमागाउँ सामाजिक परिवारले होमस्टे सञ्चालनका लागि तयारी गरेको हो।

यहाँ पुग्ने पर्यटकले यहाँको प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षको नयाँ स्वाद लिन पाउनेछन्। सामाजिक परिवारका अध्यक्ष चेतजंग गुरुङका अनुसार गाउँबाट विभिन्न हिमशृंखला, बेसीसहर बजार, चण्डिस्थान फाँटको मनोरम दृश्य देख्न सकिन्छ।

गाउँमा आउने पाहुना तथा पर्यटकलाई गुरुङ रीतिरिवाज तथा संस्कृतिअनुसार दहीचामलको टीका, फूलमाला वा गाउँमै तयार पारिएको फूलको बुकी दिएर स्वागत गरिने स्थानीय सूर्यकुमारी गुरुङले बताइन् । ‘जंगलमा बाह्रैमास कुनै न कुनै फूल फुल्छ । त्यही फुलको बुकी र मालाले पाहुनाको स्वागत गर्छौं’, उनले भनिन्।

गाउँमा आउने पर्यटकलाई सोरठी, चुड्का, घाँटुलगायत गीत र नृत्यले मनोरञ्जन गराउनेछन् । स्थानीयसँगै पाहुनाले पनि झ्याउरे तथा दोहोरी गीतको रमाइलो गर्न सक्ने कन्यादेवी आमा समूहकी अध्यक्ष सुकमाया गुरुङले बताइन्।

होमस्टे सञ्चालक दुर्गाबहादुर गुरुङकाअनुसार पर्यटकलाई न्यानो स्वागत–सत्कारसँगै लोकल कुखुरा, रक्सी, ढिँडो, गुन्द्रुक, कुरिलो, मकै, भट्टलगायत अर्गानिक खाना खुवाउने व्यवस्था गरिएको छ। पर्यटकका लागि आरामदायी कोठा, शौचालय, स्नानगृह तयार पारिएको छ । एक रातमा २० जना पाहुनालाई राख्न सकिने गुरुङले बताए।

‘हाम्रो गाउँकै बाटो भएर घलेगाउँ भुजुङ सयौं पर्यटक ओहोरदोहोर गर्छन्’, कन्यादेवी आमा समूहकी अध्यक्ष सुकमाया गुरुङले भनिन्, ‘हामी पनि गाउँमा पर्यटक भिœयाउन आतुर छौं। होमस्टेसहित अन्य तयारी थालेका छौं।’ घुम्न आउनेका लागि सामूहिक चिया र कफी खेती सुरु गरिएको उनले बताइन्। ‘जग्गा बाँझो पल्टिएको थियो। यहाँ चिया र कफी बगान बनाएर पर्यटक भुलाउँछौँ’, उनले भनिन्।

गाउँमा होमस्टेसहित पर्यटकीय चहलपहलका लागि समग्र विकास केन्द्रले सक्रियता देखाएको छ। सामाजिक परिवारको मासिक बैठक बसेर गाउँ सरसफाइ, व्यावसायिक तयारी तथा फलफूल खेती, होमस्टेको पूर्वाधार विकासलगायत कामको योजना बनाइएको वडाध्यक्ष चेतजंग गुरुङले बताए।

सदरमुकाम बेसीसहरबाट ११ किलोमिटरको दूरीमा पुमागाउँ पर्छ । गाउँसम्मै राम्रो सडक भएकाले बेसीसहरबाट एक घण्टामा मोटरमा पुग्न सकिन्छ । पुमागाउँबाट प्याराग्लाइडिङसमेत गर्न सकिन्छ। विभिन्न समयमा प्याराग्लाइडिङ भइरहेको स्थानीय जनप्रतिनिधि वीरेन्द्र गुरुङले बताए। पुमागाउँमा होमस्टे सञ्चालनका लागि बेसीसहर नगरपालिकाले पनि सहयोग गर्ने बचन दिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.