इङ्ल्यान्डका प्रशिक्षक नै घाइते
एजेन्सी : अभ्यास वा खेलका क्रममा खेलाडी घाइते हुनु स्वाभाविक नै हो । तर, रुसमा जारी विश्वकपमा सहभागी इङ्ल्यान्डको टोलीलाई भने अचम्मको आपत् आइपरेको छ । समूहगत चरणको आफ्नो पहिलो खेलमा विजयी भएपछि हौसिएको इङ्ल्यान्डका प्रशिक्षक नै घाइते भएका छन् । आफ्ना प्रशिक्षक गारेथ साउथगेट घाइते भएको कुरा खेलाडीले समेत निकै पछि थाहा पाए ।
बुधबार इङ्ल्यान्डको नियमित अभ्यास थिएन । त्यसैले खेलाडीलाई छाडेर इङ्ल्यान्डका प्रशिक्षक साउथगेट दौडन निस्किएका थिए । दौडने क्रममा उनको दायाँ काँधको जोर्नीको हड्डी छुट्टिन पुग्यो । त्यसपछि उनलाई टोलीकै चिकित्सकहरूले तत्काल उपचारका लागि अस्पताल पुर्याइएका थिए । नियमित अभ्यास नभएका कारण घुम्न निस्किएका खेलाडीहरू होटेल फर्कंदा प्रशिक्षक साउथगेटको अवस्था देखेर छक्क परेका थिए ।
प्रशिक्षक साउथगेटले भने खेलाडी घाइते हुनुभन्दा आफू घाइते हुनु राम्रो भएको प्रतिक्रिया दिएका छन् । ‘समूहगत चरणको दोस्रो खेलअघि कुनै खेलाडी घाइते भएको भए हामी ठूलै अप्ठ्यारोमा पथ्र्यौ । म घाइते हुँदा खासै फरक पर्दैन’, उनले भनेका छन्, ‘सधंै आपसमा रमाउने र कम बोल्ने खेलाडीहरू पनि मेरो अवस्था देखेर छक्क परेका थिए ।’
विश्वकपको समूह ‘जी’ मा रहेको इङ्ल्यान्डले समूहगत चरणको आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २—१ गोलले हराएको थियो । उक्त जितसँगै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको इङ्ल्यान्डले आगामी आइतबार पानामासँग दोस्रो खेल खेल्दै छ । इङ्ल्यान्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । रासस