आज ब्राजिललाई अघि बढ्ने अवसर
मस्को : ब्राजिललाई रुसमा जारी विश्वकप उपाधिको मुख्य दाबेदार टोलीको रुपमा हेरिएको छ । यद्यपि नतिजाको हिसाबले ब्राजिलले प्रतियोगिताको सुरुआत त्यो हैसियतमा गर्न सकेन, जुन उपाधि दाबेदार टोलीको हुनुपथ्र्याे । ब्राजिल युरोपेली टोली स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिन पुग्यो । त्यो बराबरीको नतिजाले ब्राजिललाई प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्न नै समूहगत चरणका बाँकी दुई खेलमा जित हात पार्नैपर्ने बाध्यता थपिएको छ ।
शुक्रबार मध्य अमेरिकी टोली कोस्टारिकाविरुद्ध समूहगत चरणको आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्दा पनि ब्राजिलमाथि जितकै बाध्यता रहनेछ । यद्यपि यो खेल ब्राजिलका लागि धेरै कुराको अवसरसमेत बन्नसक्छ । पहिलो खेलमा सर्वियासँग १-० गोलले पराजित भएको कोस्टारिका समूह ‘ई’मा कमजोर देखिएको छ । यी दुई टोलीबीचको अघिल्लो खेलको प्रतिस्पर्धा र पछिल्ला खेलमा हात पार्दै आएको नतिजाले पनि कोस्टारिकाविरुद्ध ब्राजिल निकै बलियो देखिएको छ ।
त्यसैले यही अवसरलाई प्रयोग गर्दै ब्राजिल रुस विश्वकपमा उपाधिको लयमा फर्कन सक्ने सम्भावना छ । विश्व स्तरका एकसेएक राम्रा खेलाडी रहेको ब्राजिल लगातार पछिल्लो १२ खेलमा अपराजित छ । यसैगरी कोस्टारिकाविरुद्ध हालसम्म भएका १० मध्ये नौ खेल ब्राजिलले जितेको छ । कोस्टारिकाले भने धेरै पहिले सन् १९६० मा मात्रै ब्राजिललाई पराजित गरेको थियो ।
विश्वकपको इतिहासमै पनि ब्राजिल कोस्टारिकाविरुद्ध निकै बलियो देखिएको छ । सन् १९९० को विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गर्दा कोस्टारिकाविरुद्ध १-० को जित निकालेको ब्राजिल सन् २००२ मा फेरि भेट हँुदा ५-२ ले विजयी बनेको थियो । त्यसमाथि ब्राजिल आफ्ना महत्वपूर्ण खेलाडी नेमारको ‘फिटनेस’ ले थप हौसिएको छ । चोटका कारण कोस्टारिका विरुद्धको खेल गुमाउन सक्ने चर्चाका बीच नेमारले बुधबार टोलीसँग पूरा समय अभ्यास गरेका छन् ।
ब्राजिलियन फुटबल संघले समेत नेमार कोस्टारिका विरुद्धको खेलका लागि पूर्ण तयार रहेको जनाएको छ । त्यसैले स्विट्जरल्यान्डविरुद्ध गरेको प्रदर्शनमा सुधार ल्याउन सके ब्राजिलले कोस्टारिका विरुद्धको खेलमा जितसहित प्रिक्वार्टरफाइनल चरण प्रवेशको सम्भावना बलियो बनाउने छ । ब्राजिलले स्विट्जरल्यान्डविरुद्ध बललाई अधिकांश समय आफ्नो नियन्त्रणमा राख्दै २१ वटा राम्रा अवसर सिर्जना गरे पनि जित हात पार्न सकेन । शुक्रबारको खेलअघि कोस्टारिकाले बलियो टक्कर दिनसक्ने तथ्यतर्फ भने ब्राजिल सचेत रहनु आवश्यक छ । किनभने प्रतियोगितामा प्रिक्वार्टरफाइनल चरणको आशा जीवितै राख्न कोस्टारिकालाई कुनै पनि अवस्थामा जित आवश्यक छ । त्यसैले कोस्टारिकाले ब्राजिललाई रोक्न सबै शक्ति खर्चने पक्का छ ।
हेड टु हेड
कुल खेल : १०
ब्राजिल विजयी : ९
कोस्टारिका विजयी : १
बराबरी : ०
ब्राजिल
विश्वकप सहभागिता : २१औं पटक
उपलब्धि : पाँचपटक उपाधि
फिफा वरीयता : २
कोस्टारिका
विश्वकप सहभागिता : पाँचौंपटक
उपलब्धि : क्वार्टरफाइनल
फिफा वरीयता : २३
प्रभाव पार्न सक्ने खेलाडी
फिलिप कोउटिन्हो (ब्राजिल)
पछिल्लो केही वर्षयता उच्च लयमा देखिएका फिलिप कोउटिन्हो ब्राजिलियन टोलीका महŒवपूर्ण खेलाडी हुन् । उनी प्रशिक्षक टीटेले ब्राजिलियन टोलीमा धेरै रुचाएका खेलाडीसमेत हुन् । रुस विश्वकप छनोटको १२ मध्ये सबै खेलमा टिटेले कोउटिन्होलाई खेलाएका छन् । युरोपेली ठूला क्लबबाट व्यवसायी फुटबल खेलेको अनुभव बटुलेका कोउटिन्हो टोलीका लागि कुनै न कुनै तरिकाले योगदान गरिरहेका हुन्छन् ।
मिडफिल्डबाट खेल्ने उनी सहकर्मी खेलाडीलाई गोलको राम्रो अवसर सिर्जना गर्न मात्रै हैन, आफैं पनि गोल गर्न सक्षम छन् । ब्राजिलले आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डविरुद्ध १–१ गोलको बराबरी खेल्दा पनि टोलीका लागि उनै कोउटिन्होले गोल गरेका थए । रिबाउन्ड बलमा उनको कलात्मक प्रहार गोलमा परिणत भएको थियो ।
यो सिजन इङ्लिस क्लब लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना पुगेका कोउटिन्होसँग इटालियन सिरीए खेलेको अनुभव पनि छ । यो सिजन बार्सिलोनाबाट घरेलु लिग उपाधिसमेत जितेका उनले राष्ट्रिय टोलीबाट भने त्यो उपलब्धि पछ्याउन बाँकी छ । सन् २००९ मा नाइजेरियामा भएको यू— १७ विश्वकप र सन् २०११ मा कोलम्बियामा भएको यू–२० विश्वकप खेलेका २६ वर्षीय कोउटिन्हो ब्राजिलका उदीयमान खेलाडी पनि हुन् ।
कोउटिन्होले सन् २०१० बाटै सिनियर राष्ट्रिय टोलीबाट अवसर पाएका थिए । त्यसयता सिनियर राष्ट्रिय टोलीबाट हालसम्म ३७ खेल खेलेका छन्, जसमा उनले ११ गोल पनि गरेका छन् । आफ्नो करिअरको पहिलो विश्वकप खेल्दै गरेका कोउटिन्होले ब्राजिललाई उपाधितर्फ डोहो¥याउन अझै धेरै मेहनत र धेरै गोल गर्ने अपेक्षा गरिएको छ ।