'१९८२ को त्यो विश्वकप'–कमल थापाको विश्वकप अनुभूति

'१९८२ को त्यो विश्वकप'–कमल थापाको विश्वकप अनुभूति

सन् १९८२ मा स्पेनमा भएको विश्वकपको सेमिफाइनल र फाइनल खेल स्टेडियममै बसेर हेर्ने अवसर पाएका थिए राप्रपा नेपालका अध्यक्ष कमल थापाले । त्यस बेला इटाली र जर्मनीबीच भएको फाइनलमा इटाली जर्मनीसँग ३-१ ले विजयी भएको थियो । कमल थापाको विश्वकप अनुभूति :

‘सौभाग्य भनौं, २४-२५ वर्षको उमेरमै मैले अखिल नेपाल फुटबल संघको अध्यक्ष हुने अवसर पाएँ । यही नाताले सन् १९८२ मा स्पेनमा भएको विश्वकपको सेमिफाइनल र फाइनल खेल स्टेडियममै बसेर हेर्ने अवसर प्राप्त गरेँ । त्यति बेला इटली र जर्मनीबीच भएको फाइनलमा इटली जर्मनीसँग ३-१ ले विजयी भएको थियो । स्टेडियमको दृश्य यति रोमाञ्चकारी हुन्छ, म शब्दमा वर्णन गर्न सक्दिनँ’, राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले सुनाए ।

‘हाम्रो परिवार खेलप्रेमी परिवार हो । हामी दाजुभाइ, दिदीबहिनी, छोराछोरी, नातिनातिना सबैजना खेलमा असाध्यै रुचि राख्छौं’, थापा भन्छन् । उनी आफैं फुटबलका खेलाडी हुन् । उनका भाइ गणेश थापा चर्चित फुटबल खेलाडी हुन् भने दाजु नेत्रबहादुर थापा आर्मीको तर्फबाट फुटबल खेल्थे । थापाकी श्रीमती टेबुलटेनिसबाट राष्ट्रिय च्याम्पियन भइसकेकी छन् ।

कमल थापा फुटबलसँग कहिलेबाट जोडिए, ठ्याक्कै भन्न सक्दैनन् । उनी सानैदेखि फुटबलप्रति आकर्षित हुन्थे । ‘केटाकेटी हुँदा धेरै रमाइलो गरियो । भोगटेको बल, झुम्राको डल्लो बनाएर पनि खेलियो । फुटबलको सहज पहँच कहाँ थियो र त्यति बेला ? ’ काठमाडौंको डिल्लीबजारमा जन्मिएका थापाले आफ्नो विगत सम्झिए ।

थापा पछि हेटौंडाको भुटनदेवी स्कुलमा पढ्न थाले । हेटौंडा सानो सहर भए पनि त्यति बेलैदेखि फुटबल खेल बाक्लै हुन्थे । त्यहाँका उत्साही युवा हरेक दिनजसो फुटबल खेल्थे । थापा पनि त्यो जमातमा मिसिएर खेल्न थाले । उनले विद्यार्थी जीवनमै फुटबलमा राम्रो प्रदर्शन गर्न थाले ।

माध्यमिक शिक्षाको आखिरी समयमा थापा काठमाडौंको पद्मोदय हाइस्कुलमा आइपुगे । त्यहीँ हुँदा खेलेको अन्तरमाध्यमिक फुटबल प्रतियोगितामा उनको टिम पहिलो भयो । त्यसपछि उनी निरन्तर विभिन्न तहका प्रतियोगितामा सहभागी भएर फुटबल खेल्न थाले । ‘उमेरले सानो भए पनि हेटौंडामा हुँदै स्थानीय टिममा सहभागी भएर खेल्ने अवसर पाएको थिएँ । ११-१२ वर्षकै उमेरमा जर्सी र फुटबल बुट लगाएर खेल्न पाउँदा ज्यादै खुसी लागेको थियो’, उनले भने ।

स्वाभाविक रूपमा अरू खेलाडीकै जस्तो थापाको रोजाइमा पनि फुटबल पर्‍यो । उति बेला डिल्लीबजारमै बस्ने अच्युत खरेलले रंगशालामा खेलेको खेल देख्दा अनि हेटौंडाका प्रख्यात खेलाडी एवं गोलकिपर विष्णुगोपाल श्रेष्ठको प्रदर्शनीले पनि उनी निकै लोभिन्थे । ‘म सानैदेखि फुटबलमा लागेकाले पछि उहाँहरूसँगै पनि खेल्ने अवसर पाएँ । सँगै खेलेका कृष्णचरण श्रेष्ठ पछि मन्त्री पनि हुनुभयो’, थापा विगत सम्झन्छन् ।

थापाले विश्वकप हेर्न सुरु गर्दा घरघरमा टेलिभिजन थिएनन् । नेपाली राष्ट्रिय च्यानलको सुरुआत भएकै थिएन । सन् १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकपको क्यासेट मगाएर हेर्दाको रमाइलो उनी झलझली सम्झन्छन् । सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपका केही खेल टीभीमा लाइभ हेरेको उनको सम्झनामा ताजै छ । त्यस बेला केही उत्साही युवाले घरको छतमा डिस्क एन्टिना राखेर संसारका विभिन्न च्यानल हेर्ने व्यवस्था मिलाउने गरेको उनी बताउँछन् ।

‘मैतीदेवीमा एक इन्जिनियरले टीभीमा फुटबल हेर्ने व्यवस्था मिलाउनुभएको थियो । हामी समयसमयमा त्यहाँ गएर विश्वकप हेथ्र्यौं । उनले रेडियोमा विश्वकपको अडियो सुन्ने मौका भने पाएनन्’, कमल भन्छन् ।

 यसपालिको विश्वकप

थापाले यसपालिको विश्वकपका धेरैजसो खेल घरमा परिवारका सदस्यसँगै बसेर हेर्ने योजना बनाएका छन् । ‘लिग चरणका खेल परिवारका सदस्यसँगै बसेर हेर्ने योजना छ । नकआउट चरणका खेल साथीभाइसँग बसेर घरैमा र उनीहरूका घरमा गएर पनि हेर्ने विचार छ’, उनले सुनाए ।

‘स्वाभाविक रूपमा खेलले उत्साह दिन्छ, रोमाञ्च दिन्छ । प्रतिस्पर्धात्मक खेल हेर्दा स्वस्फूर्त रूपमा जोश पनि आउँछ । आपूmले समर्थन गरेको टिमले राम्रो प्रदर्शन गर्दा ठूलो आवाज निकालेर कराइन्छ, चिच्याइन्छ’, उनी खेल हेर्दाको अनुभव सुनाउँछन् ।

जति नै व्यस्त भए पनि थापा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल हेर्न छुटाउँदैनन् । समय व्यवस्थापन प्राथमिकतामा भर पर्ने उनको तर्क छ । खासगरी विश्वकपलाई उच्च प्राथमिकतामा राख्छन् उनी । खेलको सिजनमा पार्टीका बैठकहरूमा पनि खेलबारे चर्चा हुने गरेको उनले बताए । यसपालि रसियामा विश्वकप हुने भएकाले नेपाली समयसँग मिल्दोजुल्दो हुने समय व्यवस्थापनमा गाह्रो नहुने उनी बताउँछन् ।

 जर्मनीलाई समर्थन

अघिल्लो विश्वकपमा जस्तै यसपालि पनि थापाको समर्थन जर्मनीलाई नै छ । ‘जर्मनीको टिम अनुशासित छ । टिमवर्कमा विश्वास गर्छु । यो टिम अत्यन्तै मेहनतीसमेत भएकाले पहिलेदेखि नै जर्मनीलाई समर्थन गर्दै आएको छु’, उनी भन्छन्, ‘थोमस मुल्लर, टोनी क्रुज, म्यानुएल नेउर आदिको खेल मलाई अत्यन्त रोचक लाग्छ । म, मेरी श्रीमती, छोरा, बुहारी सबै जर्मनीकै फ्यान हौं । हाम्रो परिवारमा विश्वकप अरू चाडबाडजस्तै भएर आउँछ ।’

फुटबल आमजनताको खेल भएको बताउँछन् थापा । फुटबल विश्वकै लोकप्रिय खेल हुनुका पछाडि उनी यस्तो तर्क राख्छन्, ‘फुटबल सबैको प्यारो खेल हो । यो तुलनात्मक रूपमा हेर्न, बुझ्न मात्र होइन खेल्न पनि सजिलो छ । सम्म परेको जुनसुकै ठाउँमा फुटबल खेल्न सकिन्छ । यो अरू खेलभन्दा सस्तो पनि छ ।’ सबै बच्चाको केटाकेटी उमेरमा फुटबल खेलमै रुचि हुने गरेको र क्रमशः अन्य खेलमा चासो हुने गरेको उनको अनुभव छ ।

नेपालमा फुटबल

दक्षिण एसियामा नेपालको प्रदर्शन सन्तोषजनक भए पनि सरकारले खेलकुदलाई प्राथमिकतामा राख्ने नगरेकाले पहिलो दक्षिण एसियाली खेलमा जित हासिल गरेको नेपाल माथि उठ्न नसकेको उनको ठम्याइ छ । एसिया र विश्वको तुलनामा भने नेपाल धेरै पछाडि भएको उनको बुझाइ छ । फुटबलको विकासका लागि राज्य जिम्मेवार हुनुपर्नेमा उनी जोड दिन्छन् । सामान्यतया थ्रीस्टार, मनाङ मस्र्याङ्दीको प्रगतिप्रति थापा उत्साहित छन् । ‘राज्यले फुटबललाई उच्च प्राथमिकतामा राख्नुपर्छ, पर्याप्त लगानीको वातावरण बनाउनुपर्छ । काठमाडौंमा भएको एउटा रंगशाला पनि आमसभा गर्नदेखि भीआईपीको शोकसभा सम्ममा प्रयोग हुन्छ’, उनी भन्छन् । भूकम्पले क्षतिग्रस्त रंगशालाको छिटो पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने र राजधानीबाहिर पनि खेलमैदान विस्तार गर्नुपर्नेमा उनको जोड छ ।

फुटबलका लागि साँच्चै ध्यान दिने हो भने उच्चस्तरीय प्रशिक्षण सञ्चालन गर्नुपर्ने र यसका लागि योग्य विदेशी कोचसमेत झिकाउनुपर्ने थापाको सुझाव छ । नेपालले पनि विश्वकप खेल्नसक्छ भनेर कल्पना गर्न सकिने उनी बताउँछन्, ‘नेपालभन्दा साना र कम जनसंख्या भएका देशले पनि विश्वकप खेलेका छन् । तर, यसका लागि कम्तीमा २० वर्षको तयारी चाहिन्छ’, उनी भन्छन् ।

फुटबल र विश्वराजनीति

विश्वकप फुटबलले विश्वका विभिन्न देशको बिग्रिएको सम्बन्ध पुनस्र्थापना र शान्ति स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ । विगतमा आपसी शत्रुता भएका देश पनि फुटबलको मैदानमा सँगै उत्रिएका छन् । त्यस्तै फुटबलकै कारण युद्धमा समेत होमिएका छन् । ‘दक्षिण अमेरिकाका दुई देश होन्डुरस र एल साल्भाडोर सन् १९६९ को विश्वकपपछि युद्धमा होमिए । त्यसमा उनीहरूको अघिदेखिकै रिसिइबीले पनि मलजल थपेको थियो’, थापा सम्झन्छन् ।

टुंग्याउनीमा थापाले भने, ‘यसपालिको विश्वकपमा अर्जेन्टिनाका मेसी, पोर्चुगलका रोनाल्डो र ब्राजिलका नेमार छुटाउनै नहुने र सबैले वाच गरिरहनुपर्ने खेलाडी हुन् ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.