उता गोल, यता जर्सी हारालुछ

उता गोल, यता जर्सी हारालुछ

विश्वकपले नेपाली फुटबलप्रेमीलाई पनि निकै तरंगित बनाइरहेको छ । अझ स्टार खेलाडीको सफलता–असफलासँगै खुसी हुने र निराश हुने नेपाली फुटबलप्रेमीको संख्या पनि कम छैन । मन पर्ने खेलाडीले जित्दा वा हार्दा सामाजिक सञ्जाल रंग्याउनेदेखि बाजी राख्नेसम्मको गतिविधि छँदैछ । विश्वकपको रौनक यतिमा मात्रै सीमित छैन । खेलको प्रभाव जर्सी किनबेचमा समेत देखिने गरेको छ ।

विश्वकप फुटबलले जर्सीको व्यापारमा तीव्र्र उतारचढाव ल्याइदिएको छ । बिक्रेताहरूलाई जर्सी बेच्न भ्याइनभ्याइ छ । कुन देशको जर्सी कुन दिन कति बिक्री हुन्छ अनुमान गर्न गाह्रो परिरहेको बिक्रेता बताउँछन् । निकै बिक्ने अपेक्षाले ल्याइएको जर्सी बिक्री नै नभई थन्किएका छन् । कम बिक्ने आकलन गरी थोरै ल्याइएको जर्सी एकै दिनमा सर्टेज भएका छन् । जर्सी कहिले ह्वात्तै बिक्ने, कहिले एउटै नबिक्ने क्रम चलिरहेकै छ । पसलमा झुन्डिरहेका जर्सीको किनबेच र विश्वकपको हारजितबीच गज्जबको साइनो देखिएको छ । उता रसियामा खेलाडीले गोल गर्दा यता नेपाली बजारमा जर्सीको बिक्री ह्वात्तै बढ्छ । उता स्टार खेलाडीले गोल चुकाउँदा यता जर्सी बिक्री घट्छ ।

 भक्तपुरका क्रेजी फ्यान

भक्तपुर दरबार स्क्वायरका सुशील त्वायनाले विश्वकप सुरु हुनु एक महिना अघिदेखि जर्सी बेच्दै आएका छन् । रोनाल्डोले ह्याट्रिक गरेको भोलिपल्ट बिहान उनलाई रोनाल्डो लेखिएको जर्सी बेच्न भ्याइनभ्याइ भयो । बिहानै पसलमा बच्चादेखि युवासम्मका खेलप्रेमीको भीड लाग्यो । उनले आफ्नो पसलमा जर्सी सकिएपछि नजिकैको पसलबाट ल्याएर समेत बेचे ।

मेसीको पेनाल्टी मिस हुँदा भने उनले त्यस्तो दृश्य देखेनन् । मेसीका फ्यानहरू स्थीर रहेको उनको अनुमान छ । जर्सी किन्न आउनेको पहिलो रोजाइमा पनि मेसी नै पर्छ । दैनिक सयौं जर्सी बेच्ने उनले सबैभन्दा बढी अर्जेन्टिना र मेसी लेखिएको जर्सी बेचे । त्यसपछि क्रिस्टियानो रोनाल्डो, नेमार र मुलार लेखिएको जर्सी बेचे । क्रेजी फ्यानको भीड आफ्नो पसलमा बाक्लै लाग्ने गरेको उनी सुनाउँछन् ।

उनको पसलमा जर्सी किन्न आउनेमध्ये कतिपय फ्यान अस्थिरसमेत रहेको उनको अनुमान छ । कतिपयले एकदुई खेलमै टिम बदल्ने गरेको उनले देखेका छन् । एकदुई खेलमै प्रभावित भएर देश अथवा खेलाडी बदल्ने फ्यानलाई उनी ‘अस्थिर फ्यान’ भन्छन् । ‘पक्का फ्यान निराश भएर जर्सी बदल्न आएको देखेको छैन । उनीहरू एकै खेलमा खासै प्रभावित हुँदैनन् । तर, जो ढुलमुले फ्यान छन्, उनीहरू भने तुरुन्तै टिम बदल्न जर्सी किन्न आउँछन्’, उनी भन्छन् ।

ललितपुरमा जर्सी सर्टेज

ललितपुर मंगलबजारस्थित स्पोर्ट सपका सञ्चालक सबिन श्रेष्ठको पनि उस्तै अनुभूति छ । खेल हुनुअगावै दिउँसो पोर्चुगलका सबै जर्सी बिक्री भयो । रोनाल्डोले ह्याट्रिक गरेपछि बिहानै जर्सी किन्न आउनेको भीड उस्तै लाग्यो । केही क्षणमै उनको पसलमा जर्सी सर्टेज भयो । भन्छन्, ‘बजारमै कहीँ छैन । धेरैलाई खाली हात फर्काउनु प¥यो ।’

पसलमा रंगीचंगी झुन्डिरहेका जर्सीको किनबेच र विश्वकपको हारजितबीच गज्जबको साइनो देखिएको छ ।

जाउलाखेलस्थित बाराही टिसर्ट सपका सञ्चालक सञ्जय शाहीको पसलमा पनि जर्सी किन्नेको भीड उस्तै छ । धेरै जर्सी नपाएर फर्किएका छन् । कत्तिले अर्डर गरिरहेका छन् । सञ्जय भन्छन्, ‘खेल चलिरहेको छ । किन्न आउनेको भीड रोकिएकै छैन, झन् बढ्दैछ ।’ उनले विभिन्न देश र खेलाडीको नाम भएको करिब दुई हजार जर्सी बेचिसके । तीमध्ये धेरै ‘मेसी’ र ‘रोनाल्डो’ लेखिएको जर्सी बिक्री भयो । उनले अर्जेन्टिनाको जर्सी धेरै बेचे । अर्जेन्टिनाको फ्यान बढेको देखेर आश्चर्यमा परेका छन् उनी । भन्छन्, ‘अर्जेन्टिनाको फ्यान किन यति धेरै बढ्यो ? म छक्क परिरा’छु । अनुमान गरेर मगाएको भन्दा दोब्बर बेचिसकेँ । अझै डिमान्ड रोकिएको छैन ।’ अर्जेन्टिनाको पहिलो खेलको प्रस्तुतिले फ्यानलाई खासै असर नपरेको र झनै जर्सी किन्नेको भीड बढेको उनी बताउँछन् ।

 काठमाडौंको जर्सी बजार

एक सातादेखि होलसेलमा जर्सी बेच्दै आएका काठमाडौं न्युरोडस्थित आरबी कम्प्लेक्सका शैलेन्द्र श्रेष्ठको पनि उस्तै छ— जर्सी अनुभूति । भन्छन्, ‘ब्राजिलले स्विट्रल्यान्डसँग बराबरी खेलेपछि ब्राजिलको झन्डा र जर्सी लिनै कोही आएनन् ।’ पोर्चुगल र अर्जेन्टिनाको गेमपछि पनि जर्सी कम जान थालेको उनको भनाइ छ । ‘उता गेम स्लो, यता जर्सी बिक्री पनि स्लो’, उनले भने ।

शैलेन्द्रले चाहिँ सबैभन्दा धेरै ब्राजिलको जर्सी बेचे । नेमार लेखिएको जर्सी पनि उनले धेरै बेचे । दुई हप्ताको अवधिमा करिब एक हजार थान जर्सी होलसेलमा बिक्री गरिसकेका उनले करिब पाँच सय ब्राजिलको जर्सी बेचे र त्यसपछि अर्जेन्टिनाको दुई सयसहित अन्य देशका जर्सी बेचे । खेल सुरु हुन थालेपछि व्यापार कम हुन थालेको उनको अनुभव छ ।

काठमाडौंको एउटै होलसेल पसलबाट दैनिक करिब दुई सय जर्सी बिक्री भइरहेको छ । महाबौद्धका महेश श्रेष्ठ दैनिक दुई सय ५० जर्सी बेचिरहेको बताउँछन् । उनले उपत्यकाबाहिर समेत जर्सी पठाउने गरेका छन् । उनी देशका विभिन्न सहरमा दैनिक हजारौं जर्सी पठाइरहेका छन् । उनले पनि सबैभन्दा धेरै अर्जेन्टिनाको जर्सी बिक्री गरे । भन्छन्, ‘जुनसुकै ग्रेडको होस्, मतलब छैन । तर, जर्सी भटाभट बिक्री भइरहेको छ ।’ पहिलो चरणको खेल चलिरहँदा जर्सी बिक्रीमा खासै असर नपरेको उनको भनाइ छ ।

बिक्रीमा उतारचढाव

जर्सी बिक्रीमा देखिएको उतारचढावले सम्पूर्ण नेपाली फ्यानको मनोविज्ञान आकलन गर्न नसकिने कतिपयको धारणा छ । यसलाई आंशिक सत्यताको नजिक रहेको मान्नुपर्ने फ्यानहरू बताउँछन् । अर्जेन्टिनाको सपोर्ट गर्दैे आएका नुवाकोट झिल्टुङका ज्वालामुखी लामिछाने हार्ने सम्भावना भएको टिमको जर्सी लगाउँदा मनोवैज्ञानिक रूपमा अप्ठेरो महसुस हुने बताउँछन् । भन्छन्, ‘हार्ने सम्भावना भएको टिमको जर्सी लगाएर हिँड्दा लाजै लाग्दो रहेछ ।’

समूह चरणको खेल चलिरहँदा खेलको प्रभाव धेरै प¥यो होला भन्न नसकिने टिर्सट सपका शाही बताउँछन् । क्वालिफाइड राउन्डसम्म फ्यानलाई केही असर नपार्ने र त्यसपछि असर पार्न सक्ने उनको ठम्याइ छ । त्यस बेला पराजित टिमको फ्यान नै अर्को टिमको सपोर्टर बन्ने हुँदा फेरि जर्सी बिक्रीमा उतारचढाव आउने उनको आकलन छ । भन्छन्, ‘टप १६ छानिएपछि जर्सी किनबेचमा व्यापक फेरबदल आउँछ ।’

जर्सी बिक्री भएकै आधारमा फ्यानहरूको मूल्यांकन गर्न नमिल्ने बताउँछन् महाबौद्धका बिक्रेता महेश पनि । गेम हुने दिन फ्यानहरूले जर्सी किनेर लगाउने र गेम नभएको दिन जर्सी नकिन्ने गरेका कारण पनि बिक्रीमा उतारचढाव देखिएको हुनसक्ने उनको अनुमान छ । ‘नकआउट चरणमा पुगेपछि जर्सी खरिदबिक्री झनै बढेर जानेछ’, उनी भन्छन् ।

शीघ्र परिणाम खोज्ने फुटबल प्रशंसकले पहिलो गेमबाटै आफूले रोजेको देश विजयी बनोस् भन्ने अपेक्षा राख्ने गरेको बताउँछन् लेखक गणेश खनियाँ । ‘पहिलो खेलमै तरंगित भई तत्काल टिम बदल्ने मनोविज्ञान उनीहरूमा हुन्छ’, उनी भन्छन् ।

अर्का लेखक अभय श्रेष्ठ पछिल्लो समय नेपालमा फुटबल क्रेज बढेको बताउँछन् । ‘क्रेज भनेको पागलपन हो । यो अल्लारे प्रेमी–प्रेमिकाको भावुकताजस्तै हो’, उनी भन्छन्, ‘जसमा विवेकको कुनै स्थान हुँदैन । तर, यो पागलपनको चर्को फाइदा व्यापारीले उठाइरहेको छ ।’ एकै खेलमा नराम्रो प्रदर्शन गर्नेबित्तिकै टिम परिवर्तन गरी अर्को जर्सी किन्न जाने मनोविज्ञानलाई अभय सफलतामा मात्तिने र असफलतामा आत्तिने मनोविज्ञानसँग जोड्छन् ।

कहाँबाट आउँछ जर्सी ?

बिक्रेताहरूले आआफ्नै ढंगले विदेशबाट जर्सी मगाइरहेका छन् । नेपाली बजारमा पाइने जर्सी चीन, बंगलादेश, थाइल्यान्डलगायत देशबाट आइरहेका छन् । तर, नेपाली बजारमा चीनबाट आयातीत जर्सीको वर्चस्व रहेको बिक्रेता बताउँछन् ।

‘विश्वकपवरिपरि करिब १० करोड रुपैयाँ बराबरको जर्सी नेपाली बजारमा भित्रिएको छ’, टिसर्ट सपका बिक्रेता सञ्जय भन्छन्, ‘मूल्य बढी भएका कारण केरुङ नाकामा करोडौं रुपैयाँको जर्सी रोकिएको छ ।’

बजारमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडका तीन थरी जर्सी उपलब्ध छन् । तर, कुनैको पनि फिक्स रेट छैन । पसलअनुसार जर्सीको मूल्य फरकफरक छन् । जर्सीको मूल्य पनि तीन किसिमकै छन्— १२ सय, सात सय र पाँच सय । नकआउट चरणमा पुग्दा जर्सीको मूल्य निकै उच्च हुने बिक्रेताको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.