कोस्टारिकाविरुद्ध गोल गर्दै रोमारियोलाई पछि पारे नेमारले
काठमाडौँ: कोस्टारिकाविरुद्ध अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि ब्राजिलियन फुटबलर नेमारले आफ्नो देशका रोमारियको कीर्तिमानलाई उछिनेका छन् ।
नेमारमाले कोस्टारिकाविरुद्ध ब्राजिलका लागि गरेको गोल ५६ औँ हो । अब उनले रोमारियोलाई उछिनेका हुन् । रोमारियोले ब्राजिलका लागि ७७ खेलबाट ५५ गोल गरेका थिए ।
नेमार अब ब्राजिलका लागि सर्वाधिक गोलकर्ताको सूचीमा पेले र रोनाल्डो भन्दा पछि छन् । ब्राजिलका लागि सबैभन्दा धेरै ७७ गोल पेलेको नाममा छ भने ६२ गोलसहित दोस्रो स्थानमा रोनाल्डो रहेका छन् ।
कोस्टारिकाविरुद्ध पहिलो हाफमा गोल गर्न असफल रहेको अवस्थामा ब्राजिलले दुवै गोल दोस्रो हाफको अतिरिक्त समयमा गरेको हो ।
उसका लागि अतिरिक्त समयको पहिलो मिनेटमा फिलिपे कोटिन्हो र छैटौँ मिनेटमा नेमारले गोल गर्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाए । पाँच पटकको विश्व च्याम्पियन आफ्नो समूको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।