जर्मनीसँग जितको विकल्प छैन

जर्मनीसँग जितको विकल्प छैन

मस्को : रुस विश्वकपको पहिलो चरणको खेलमा अप्रत्याशित नतिजा बेहोर्ने ठूला टोलीमध्ये साबिक विजेता जर्मनी पनि एक हो । जर्मनी आफ्नो पहिलो खेलमै मेक्सिकोसँग १-० गोलले पराजित हुन पुग्यो । तुलनात्मक रूपमा कमजोर मानिएको टोलीसँग पहिलो खेलमै हारेपछि उपाधि रक्षा गर्ने योजना बनाएको जर्मनीको प्रिक्वार्टरफाइनल चरणमा प्रवेशको सम्भावना पनि अफ्ट्यारोमा परेको छ ।

प्रिक्वार्टरफाइनल चरणको सम्भावनालाई जीवित राख्न अब जर्मनीका लागि समूह ‘एफ’मा बाँकी रहेको आफ्नो दुईमध्ये दुवै खेलमा जितको विकल्प छैन । त्यो जित हात पार्न जर्मनीले मेक्सिकोविरुद्ध गरेको जस्तै प्रदर्शनले भने सम्भव पनि छैन । त्यसैले शनिबार राति स्विडेनसँग प्रतिस्पर्धा गर्दा प्रतियोगिताको नकआउट चरणको प्रवेश र उपाधि रक्षाको सम्भावना जीवितै राख्न जर्मनीलाई सुधारिएको प्रदर्शनसहित जित अत्यावश्यक छ ।

स्विडेनविरुद्धको पराजयले जर्मनीको उपाधि रक्षाको बाटो समूहगत चरणमै रोकिने पक्का छ । समूह ‘एफ’मा स्विडेन र मेक्सिको दुवैको तीन÷तीन अंक छ । मेक्सिकोले जर्मनीसँग तीन अंक खोस्दा स्विडेनले एसियाली टोली दक्षिण कोरियालाई पराजित गरेको थियो । त्यसैले जर्मनीलाई स्विडेनविरुद्ध बराबरीको नतिजासमेत अघिल्लो चरण प्रवेशका लागि अपर्याप्त हुन सक्छ ।

क्षमतावान् युवा खेलाडी लिएर उपाधि रक्षा गर्ने उद्देश्यसहित रुस आइपुगेको जर्मनीले पहिलो खेलमा आफ्नो स्तरको प्रदर्शनसमेत गर्न सकेन । जर्मन रक्षकहरू मेक्सिकोका स्ट्राइकरका अगाडि असफल देखिए । जर्मनीका स्ट्राइकरसमेत मध्यअमेरिकी टोलीको रक्षापंक्ति तोड्न असफल देखिए । स्विडेनविरुद्ध यो प्रदर्शनमा सुधार नल्याउने हो भने जर्मनी यस पटक चार वर्ष अघि स्पेनले बेहोरेकै जस्तो अवस्थाबाट गुज्रने निश्चित छ । सन् २०१० मा उपाधि जितेको स्पेन सन् २०१४ मा भने समूहगत चरणबाटै बाहिरिएको थियो ।

यी दुई टोलीले विगतमा एकअर्काविरुद्ध भएको खेलमा हात पारेको नतिजालाई विश्वास गर्ने हो यस पटक पनि जर्मनी बलियो देखिएको छ । जर्मनी स्विडेनविरुद्ध भएको पछिल्लो ११ खेलमा अपराजित छ । ११ मध्ये ६ खेलमा जर्मनी विजयी बनेको छ । स्विडेनले जर्मनीलाई पछिल्लो ४० वर्षयता हराउन सकेको छैन । सन् १९७८ मा भएको एक मैत्रीपूर्ण खेलमा ३-१ गोलको जित हात पारेपछि स्विडेन जर्मनीविरुद्ध जितविहीन छ ।

विश्वकपको छनोट र अन्तिम चरणको प्रतिस्पर्धामा समेत स्विडेनविरुद्ध जर्मनी बलियो देखिएको छ । छनोट र अन्तिम चरणको खेल गरी विश्वकप फुटबलमा स्विडेनविरुद्ध अहिलेसम्म १० पटक प्रतिस्पर्धा गर्दा जर्मनी सात खेलमा विजयी भएको छ । मात्र एक खेल गुमाएको जर्मनीले दुई खेल बराबरी खेलेको छ । त्यसैले जर्मनीले आफ्नो त्यही लयलाई पछ्याउन सकेको अवस्थामा रुस विश्वकपमा प्रिक्वार्टरफाइनल चरणको प्रवेश र उपाधि रक्षाको अभियानलाई अझै पनि सफल बनाउन सक्नेछ ।

विगतमा दुई टोली

कुल खेल : ३६

जर्मनी विजयी : १५

स्विडेन विजयी : १३

बराबरी : ८

प्रभाव पार्न सक्ने खेलाडी

थोमस मुल्लर (जर्मनी)

मिडफिल्डर थोमस मुल्लर जर्मनीका महत्वपुर्ण सदस्य हुन् । पछिल्लो केही वर्षयता उनी टोलीका नियमित सदस्य रहँदै आएका छन् । मैदानमा प्रशिक्षकको चाहना अनुसार मुख्य स्ट्राइकरभन्दा ठिक पछाडि वा मिडफिल्डको दाँयातर्फ प्रभावकारी देखिने मुल्लर टोलीका लागि कुनै पनि समय गोल निकाल्न सक्ने क्षमता भएका खेलाडी हुन् । उनी मैदानमा रहुन्जेल विपक्षी टोलीले कुनै पनि बेला गोल ब्यहोर्न सक्ने सम्भावना रहन्छ ।

जर्मनीको राष्ट्रिय टोलीबाट लगातार तेस्रो विश्वकप खेलिरहेका मुल्लर अहिले पनि टोलीका महत्वपुर्ण खेलाडी हुन् । आफ्नो पहिलो विश्वकप सहभागिताबाटै अन्तर्राष्ट्रिय फुटबलमा आफुलाई सशक्त रुपमा प्रस्तुत गरेका मुल्लर जर्मन राष्ट्रिय टोलीबाट विश्वकप उपाधि उचाल्ने भाग्यमानी खेलाडी पनि हुन् । जर्मनीले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जित्दा उनी टोलीका महत्वपुर्ण खेलाडी थिए । त्यसबेला उनले टोलीलाई उपाधि दिलाउन पाँच गोल गरेका थिए ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा समेत टोलीका लागि पाँच गोल गरेका मुल्लरले त्यसबेला गोल्डेन बुट पाउनुका साथै प्रतियोगिताकै सर्वोत्कृष्ट युवा खेलाडी समेत घोषित भएका थिए । अघिल्लो दुई विश्वकपमा गतिलो प्रदर्शन गरेका मुल्लरले तेस्रो विश्वकपको सहभागीताको रुपमा रुसमा पनि त्यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

पहिलो खेलमा मेक्सिकोसँग १-० गोलले पराजित हुँदा कमजोर देखिएको जर्मनीलाई फेरि जितको लयमा फर्काउँदै उपाधि रक्षाको बाटोतर्फ डोर्‍याउने जिम्मेवारी उनै मुल्लरमाथि रहेको छ । १० वर्षको उमेरबाटै घरेलु टोली बायर्न म्युनिखबाट ब्यवसायीक फुटबल खेल्न थालेका मुल्लर कम उमेरमै टोलीमा चम्किएका खेलाडी पनि हुन् । सन् २०१० यता राष्ट्रिय टोलीबाट खेल्दै आएका २८ वर्षीय मुल्लरले ९२ खेलबाट ३८ गोलसमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.