कागज उद्योगबाट मासिक लाख आम्दानी

कागज उद्योगबाट मासिक लाख आम्दानी

 जाजरकोट : केही वर्ष अघिसम्म रोजगारीका लागि भौतारिँदै हिँड्ने कुसे गाउँपालिका पैंकका नरेन्द्र आरसी अहिले आफैं रोजगारी दिने अवस्थामा पुगेका छन्। उनले गाउँमै कागज उद्योग खोलेर अरुलाई रोजगारी दिन थालेका हुन्। उद्योगबाट उनलाई मासिक राम्रै आम्दानी पनि भइरहेको छ।

प्रहरीमा जागिरे उनले जागिरबाट खासै प्रगति हुने नदेखेपछि १३ वर्षमै जागिर छाडे। त्यसपछि गाउँमै भौतारिएका उनले विदेश गएर धेरै पैसा कमाउने सोच बनाए। विदेशमा पनि सोचे अनुरूप वातावरण र कमाइ नभएपछि स्वदेशमै केही गर्ने अठोट लिएर उनी दुई वर्षमै घर फर्किए। चार वर्षअघि गाउँमै नेपाली हाते कागज उद्योगको स्थापना गरे। छोटो अवधिमै अहिले त्यो उद्योगमा काम भ्याइनभ्याइ छ। दुई लाख रुपैयाँ लगानीमा नेपाली हाते कागज उद्योग सुरु गरेका नरेन्द्रले चार जनालाई रोजगारी दिएका छन्। खर्च कटाएर उनलाई मासिक एक लाख मासिक कमाइ भइरहेको छ।

वार्षिक १८ लाखको कारोबार हुने उनको उद्योगमा मासिक ६० कोरी कागज उत्पादन हुने गरेको नरेन्द्रले बताए। नेपालभित्र र बाहिरका विभिन्न स्थानमा नेपाली हाते कागज आपूर्ति गर्दै आएका नरेन्द्रले भविष्यमा ठूलो कागज उद्योग स्थापना गर्ने सोच बनाएका छन्। आफूले उत्पादन गरेको कागज जापान, युरोप, अमेरिकालगायत देशमा निर्यात हुने गरेको उनले बताए। कागज गुणस्तरीय भएका कारण ती देशबाट नेपाली कागजको माग धेरै आउने गरेको छ। जाजरकोटको हाते (नेपाली कागज ) कागज विश्वमै उत्कृष्ट रहेको उनको दाबी छ।

श्रमजीवी हाते कागज उद्योगबाट उत्पादन हुने कागज प्रतिकोरी तीन हजार पर्ने र एक कोरीमा दुई सय पाना रहने नरेन्द्रले बताए। एक कोरी कागजमा चार धार्नी कागज हुन्छ। स्थानीय जंगलमा पाइने लोक्ताबाट निर्माण हुने हाते कागजको माग र बजार निकै भए पनि लोक्ताका रुख मासिँदै गएकाले कागज उत्पादनमा समस्या आएको उनको गुनासो छ। युवा स्वरोजगार कार्यक्रमबाट ऋण लिएर सञ्चालन गरेको उद्योगबाट उनी निकै सन्तुष्ट छन्।

बेरोजगार युवाका लागि नरेन्द्र उदाहरणीय बनेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत बताउँछन्। उनले गाउँमै बसेर गरेको मेहनतले विदेशमा हुने कमाइभन्दा बढी हुनु निकै खुसीको विषय भएको बताए। उद्योग प्रवद्र्धनमा गाउँपालिकाले समेत आवश्यक सहयोग गर्ने अध्यक्ष बस्नेतले बताए। जिल्लामा रहेका विभिन्न नेपाली हाते कागज उद्योगीमध्ये राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत भएका नरेन्द्रले आफ्नो कागज उद्योग थप विस्तार गर्ने सोच बनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.