बेल्जियमको आँखा प्रिक्वार्टरफाइनलमा
मस्को : पहिलोपटक विश्वकप खेलिरहेको पानामाविरुद्ध ३-० गोलको प्रभावशाली जितसँगै बेल्जियमले रुस विश्वकपमा सुखद सुरुआत गरेको छ । बेल्जियमले शनिबार समूहगत चरणको आफ्नो दोस्रो खेलमा ट्युनिसियासँग प्रतिस्पर्धा गर्दासमेत लक्ष्य जितकै हुनेछ । लगातार दोस्रो जितसहित बेल्जियम विश्वकपको प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्न चाहन्छ ।
स्ट्राइकर रोमेलु लुकाकु एक्लैले दुई गोल गरेपछि पानामाविरुद्धको खेलमा बेल्जियम हरेक क्षेत्रमा बलियो देखिएको थियो । टोलीमा युरोपका ठूला क्लबबाट ब्यवसायीक फुटबल खेल्ने खेलाडीको राम्रो उपस्थिति रहेकाले पनि बेल्जियम ट्युनिसियामाथि हावी हुन सक्छ । इङ्ल्यान्डसँग भएको आफ्नो पहिलो खेलमा २-१ गोलले पराजय बेहोरेको ट्युनिसियालाई भने प्रतियोगितामा प्रिक्वार्टरफाइनल चरणको सम्भावना जीवितै राख्न कुनै पनि अवस्थामा जित आवश्यक छ ।
बेल्जियसँग पनि पराजित भएमा ट्युनिसिया प्रतियोगिताबाटै बाहिरिन सक्छ । त्यसैले दुवै टोलीले जितका लागि प्रतिस्पर्धा गर्दा बेल्जियम र ट्युनिसिया बीचको खेल रोचक हुने पक्का छ । यी दुई टोलीबीच विश्वकपको अन्तिम चरणको खेलमा भने यसअघि प्रतिस्पर्धा भएको छैन ।
प्रभाव पार्न सक्ने खेलाडी
रोमेलु लुकाकु (बेल्जियम)
प्रतिभावान खेलाडीहरुले भरिएको बेल्जियमको राष्ट्रिय टोलीका मुख्य स्ट्राइकर हुन्, रोमेलु लुकाकु । सँधै गोल गर्ने योजनामा रहने लुकाकु एउटा उत्कृष्ट स्ट्राइकरमा हुनु पर्ने सबै गुणले भरिएका खेलाडी हुन् । शरिरीक रुपमा बलिया देखिने उनको बलसँगको गति र प्राप्त अधिकांश अवसरमा गोल गर्न सक्ने क्षमताले उनलाई बेल्जियम र युरोपेली ठूला क्लबको पहिलो रोजाइको स्ट्राइकरका रुपमा स्थापित गराएको छ ।
उनले रुस विश्वकपमा टोलीको पहिलो खेलमै दुई गोल गर्दै आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । गत सोमबार बेल्जियमले विश्वकपको नवप्रवेशी टोली पानामालाई ३-० ले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्दा टोलीका लागि लुकाकु एक्लैले दुई गोल गरेका थिए । प्रतियोगिताको बाँकी खेलमा पनि बेल्जियको भाग्य उनै लुकाकुको प्रदर्शनमा निर्भर रहने पक्का छ । उनकै मेहनत र गोलमा बेल्जियम पहलो पटक विश्वकप उपाधिसम्म पुग्न सक्छ ।
हाल इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ब्यवसायीक फुटबल खेल्दै आएका उनी अनुभव र क्षमताका हिसाबले टोलीका महतवपुर्ण खेलाडी हुन् । १६ वर्षको उमेरमा एन्डरलेच्टबाट बेल्जियमको राष्ट्रिय लिगको सर्बाधिक गोलकर्ता बनेका लुकाकुले म्यानचेस्टर युनाइटेड जानुअघि इङ्ल्यान्डकै वेष्ट ब्रोमविच र एभर्टनबाट पनि खेलेका थिए । बेल्जियम अधिकांश विश्वकपमा उत्कृष्ट टोली हुँदाहुँदै पनि उपधिसम्म पुग्न असफल देखिँदै आएको छ । यसपटक उनी र बेल्जियम दुबैलाई राष्ट्रिय टोलीबाट विश्वकप उपाधि जित्ने अवसर समेत रहेको छ । सन् २०१० बाट राष्ट्रिय टोलीमा डेब्यू गरेका २५ वर्षीय लुकाकुले ७७ खेलबाट ३८ गोल गरेका छन् ।