म मृत्युको समाजशास्त्र बुझ्न सक्छु

म मृत्युको समाजशास्त्र बुझ्न सक्छु

भर्खर ब्रेन इन्ज्युरीको अप्रेसन सकेर निस्किएका डाक्टर उपेन्द्र देवकोटाको अनुहारमा कुनै थकान थिएन। टाई, सुटमा ठाँटिएका उनी एभरग्रिन देखिन्थे र उत्तिकै स्फूर्त। उनले असिस्टेन्टलाई आफ्नो हातको फाइल थमाउँदै भने, ‘बी अलर्ट ! बिरामीको ख्याल गर्नू ! केही भए तत्काल मलाई खबर गर्नू।’

‘नमस्ते डक्टरसाब !’ वेटिङ रुमबाट मैले अभिवादन गरेँ। उनले शिष्टतापूर्वक हातले बस्ने संकेत गर्दै भने, ‘लौ स्वागत छ।’ कुर्सीमा आड लगाउँदै थपे, ‘बिरामीको केस अलिक क्रिटिकल थियो। केही समयअगाडि होश आयो र तपाईंलाई टाइम दिन पाएँ।’ उनले टेबलको रिङ बेल दबाए। छिनैमा एकजना असिस्टेन्ट आइपुगे।

‘ओके ! के लिऊँ— चिया, कफी अथवा अरू केही ? ’ दुवैले मिल्क कफी मगायौं। ‘तपाईंले पठाउनुभएको ईमेल चेक गरेँ। मन छुने गरी लेख्नुभएको रहेछ। काम गर्न सकिन्छ’, उनले भने।

डाक्टर उपेन्द्रसँग केही हप्ताअघि प्रसिद्ध आँखारोग विशेषज्ञ प्रा.डा. रामप्रसाद पोखरेलको योगदानको विषयमा अन्तर्वार्ता लिन जाँदा चिनजान भएको थियो। उतिखेर पनि डा. अशोक थापा र मैले केही संवाद गरेका थियौं तर त्यो पोखरेलसँग केन्द्रित थियो। सो संवादका क्रममा उठेका केही विचारोत्तेजक सन्दर्भको फेर पक्रिएर म फेरि उनीकहाँ पुगेको थिएँ।

डाक्टरलाई फलो गर्ने एकमात्र कारण उनीसँग सम्बन्धित जीवनका किस्साहरू थिए। दर्शन, भाषासाहित्य, राजनीति र पेसागत सन्दर्भ— मैले उत्खनन गर्न चाहेका शीर्षकहरू हुन्। डाक्टर पोखरेलसँगको अन्तर्वार्ताका अफबिट प्रसंगलाई मैले टिपोट गरेको थिएँ। उनले ‘रेकर्ड नगर्नू है’ भन्दाभन्दै पनि रेकर्ड गरेको थिएँ। पछि उनलाई त्यही अंश फिचरिङ गरेर ईमेल गरिदिएँ। त्यसबाट उनी प्रभावित भए र असिस्टेन्टमार्फत मलाई कार्यकक्षमै बोलाए।

उनी आफ्नो पेसागत जीवनका आरोह–अवरोहलाई/विगतका आफूसम्बन्धित किस्साहरूलाई ‘बायोग्राफी’मा उतार्ने मुडमा थिए। सम्पर्क सूत्रबाट मलाई यस सम्बन्धमा ‘ग्रिन सिग्नल’ मिलिसकेको थियो। म पूर्वतयारीमा थिएँ। यद्यपि उनको व्यस्त समय र बिग्रँदो स्वास्थ्यका कारण त्यसपछि भेट्न सकिनँ। अन्ततः बायोग्राफीको ‘ग्रिन सिग्नल’ ‘रेड बटन’मा गएर थिचियो। भागवत् गीताको मृत्यु सौन्दर्यलाई नजिकबाट बुझेका देवकोटालाई सोही दर्शनको ‘नैनं छिन्दति शस्त्राणि नैनं दहति पावकः। न चैनं ल्केदयन्त्यापो न शोषयति मारुतः’ले सदाका लागि अमर बनायो।


अमरज्योति माविसँगको सम्बन्ध र बाल्यकाल

डाक्टरसाबका पेसागत सन्दर्भमा धेरै प्रश्न जन्मिए। उत्तरहरू आए। यद्यपि पेसासँग जोडिँदाका कथाव्यथाहरू कमै सुनिन्छन्। के छन् त्यस्ता सुन्दर चिज जसलाई आज पनि सम्झिरहनुहुन्छ ?

कुनै पनि कुराको पूर्वपर सम्बन्ध हुन्छ। यसैगरी म र मेरो पेसासँग पनि पूर्व सम्बन्धहरू जोडिएका छन्। मेरो डाक्टर बन्ने सपना घरैबाट प्रारम्भ भएको हो। पिताजी होमनाथ प्रसिद्ध कविराज हुनुहुन्थ्यो। पिताजीको बिरामीप्रतिको सेवाभाव देख्दा मेरो बालमस्तिष्कमा एक दिन म ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पलाउन थाल्यो। अझ घरमा रहेको पाठशालाको वातावरणले मलाई पढ्नुपर्छ भन्ने हुटहुटी जगाइरहन्थ्यो। पाठशालामा नुवाकोट त्रिशूलीदेखिका मानिसहरू पढ्न आइपुग्थे। एकप्रकारको गुरुकुल परिवेशमा हुर्किएको थिएँ। घरकै पाठशालामा गुरुहरूको काखमा गोरखापत्रबाट क, ख सिक्दै अगाडि बढेको शिक्षाकै देन हो आजको यो स्थिति। मैले नेपाली भाषा–साहित्यका प्रसिद्ध मनिषी प्रा.डा. वासुदेव त्रिपाठीको गुरुकूल परम्परामा नेपाली भाषा सिकेको हुँ। उहाँ मेरै घरमा बसेर पढ्नुहुन्थ्यो। घरबेटीको छोरा भएर हो या त मेरो रुचिकर स्वभाव देखेर, मलाई उहाँ खुब माया गर्नुहुन्थ्यो। मलाई काँधमा बोकी–बोकी पढाउनुहुन्थ्यो। नेपाली भाषाप्रतिको मायाको जग त्रिपाठी गुरुले नै बसालिदिनुभएको हो। गुरुकुल र आजको शिक्षा प्रणालीमा धेरै भिन्नता छ। गुकुलमा शिष्य हुन्थे। विद्यालयमा विद्यार्थी।

‘गुरुकुलमा शिष्य हुन्थे, विद्यालयमा विद्यार्थी’, गज्जबको पङ्क्ति उठान गर्नुभयो। यी दुई बीचको ताŒिवक भिन्नता के हुन् ?

अन्य अर्थ नलागोस्। हिजोका गुरुकुल र आजको विद्यालयमा धेरै भिन्नता छ। हिजोका शिष्यमा आत्मानुशासन थियो। आजका विद्यार्थीसँग त्यसको कमी छ। छँदै छैन भन्न खोजेको होइन। धेरै कम छ। हामी परम्परालाई रूढ मान्छौं तर सबै परम्परा रूढ छैनन्। आधुनिकताका नाममा पुरातन कुरालाई हामीले बेवास्ता गरिरहेका छौं। गुरुलाई गुरु अर्थात् ‘तमसोमा ज्योतिर्गमय’को अर्थमा आजको समाजले बुझ्न सकेन। आज हामी गुरु कम, ज्यादा ‘मास्टर’ र शिष्य कम ज्यादा ‘स्टुडेन्ट’ बनिरहेका छौं। सभ्यताको आयातीत बजारमा हुर्किएका छौं। लँगौटी फुकालेर फ्याँक्नु स्वतन्त्र हुनु होइन। भएको छ यस्तै। तात्विक भिन्नता आफैं पत्ता लगाउनोस्।

अमरज्योति मावि लुइँटेलमा बिताएका बाल्यकालीन सम्झनालाई केही ताजा गरौं न !

विद्यालय शिक्षा ग्रहण गरुन्जेल कहिल्यै राम्रोसँग दालभात खान पाइएन। घरका काम गरेर भ्याइनभ्याइ हुन्थ्यो। खाना खाने बेलामा पढ्न जाने समय भइसक्थ्यो। छिटोछिटो गरेर खाना खानुपर्ने। कहिले भात र दाल मात्र, कहिले भातमा मोही हालेर त कहिले नुन छर्किएर खान्थेँ। दिउँसो केही हुँदैनथ्यो। शुद्ध पानी। अहिलेको जस्तो टिफिन कहाँ पाउनू ? बिहान पेटभरि नखाई–नखाई दौडिएको मान्छे, दिउँसोको पढाइ अनि बेलुकी आँखाले देख्न भ्याउन्जेलसम्म भलिबल। घर पुग्दा भोक र थकाइले मर्नु हुन्थ्यो। जे पाइन्छ त्यही निलौंला जस्तो हुने। खाजा मकै हुन्थ्यो। पूmल मकैले पेट भरिँदैन भन्ने जानेपछि पहिला ठेट्ना छानेर खान्थेँ। ठेट्नाले पेट आयो भन्ने बोध भएपछि र एक लोहोटा पानी पिएपछि मात्र पूmलको पालो आउँथ्यो। होमवर्क गर्ने समय नै हुँदैनथ्यो। गुरुको गालीबाट बँच्न मात्र होमवर्क गर्थें। उता भट्टराईजीको हातमा सधैं किताब।

किस्सामा दुई डाक्टर

डा. बाबुराम भट्टराई र उपेन्द्र देवकोटाका विषयलाई लिएर कैयन् सकारात्मक–नकारात्मक किस्साहरू जन्मिएका छन्। धारणा–अवधारणा बनेका छन्। यस सम्बन्धमा यहाँको डिफेन्स वा विचार ?

भट्टराईजी होस्टल बस्थे। उनको कामै पढ्ने। प्रायःजसो हातमा किताब टुट्दैनथ्यो। मेरो चिन्तन पढाइमा कम, भलिबलमा ज्यादा हुन्थ्यो। भट्टराई यसका व्यतिरेक थिए। हामी भलिबल खेलेर घरतिर लाग्दा उनको होस्टलबाट गुन्द्रुक–मस्यौराको वासना आइरहेको हुन्थ्यो। उनीहरू अघाएको पेट लिएर निस्कँदा हामी छत्ल्याङ–छत्ल्याङ बज्दै गरेको पेट लिएर ४५ मिनेटको उकालो लाग्थ्यौं। उनी भलिबल खासै खेल्दैनथे। लुँडो भने पलेँटी कसेर खेल्थे।

स्कुलमा हुने हरेक अतिरिक्त क्रियाकलापमा म एक्स्ट्रा थिएँ। म ६ कक्षाको विद्यार्थी, १० कक्षाका विद्यार्थीसँग निबन्ध प्रतियोगितामा भाग लिएँ। नतिजा आयो, म प्रथम भएको। कोर्सभन्दा बाहिरका कुरा मलाई निकै चाख लाग्थ्यो। रट्टा मारेर बस्ने बानी कहिल्यै परेन। लक्ष्मीप्रसाद देवकोटाका निबन्धले मलाई निकै छुन्थ्यो। वस्तुपरक निबन्ध घोकन्तेका लागि हो। आत्मपरक स्वच्छन्द प्रकृतिको हुन्छ। म त्यही चाहन्थेँ। भट्टराईजीको निबन्ध वस्तुपरक ज्यादा हुन्थ्यो।

भट्टराईजी र मेरो बीचको किस्सा, केवल किस्सा नभएर केही हदसम्म यथार्थ पनि हो। यसमा मलाई कुनै तर्क–वितर्कले डिफेन्स गर्नु छैन। उनको राजनीतिक गतिविधि र मेरो स्वास्थ्य सेवा दुवै आआफ्नै क्षेत्रमा स्थापित भएका छन्। समयले कसलाई कुन धारमा उभ्याउँछ, त्यो समयले नै निर्धारण गर्छ। मूल्यांकन गर्ने प्रयोगकर्ताले हो।

रचनात्मक क्षमतालाई पाखा लगाइनु दुर्भाग्य हो। कृत्रिम विद्याको पछाडि दौडने प्रवृत्तिले व्यक्ति र उसको समाज दुवैलाई ह्रासोन्मुख मार्गमा लैजान्छ। विचार आफैं गर्नोस्।

‘क्षमता’ र ‘परिस्थिति’को ‘फ्युजन’ भएन भने ‘क्राइसिस’ उत्पन्न हुन्छ, हो ? जस्तो कि डाक्टर भट्टराई सधैंको प्रथम तपाईं सेकेन्ड। क्षमता भएर पनि परिस्थितिले तपाईंलाई साथ दिएन भन्न मिल्छ ?

म यसलाई कुन अर्थमा ग्रहण गरूँ ? भट्टराईजी र मेरो पारिवारिक पृष्ठभूमि, अध्ययनको परिपाटी नै फरक थियो। उनले पढ्नका निम्ति नै पढेका थिए। यसलाई गलत अर्थमा व्याख्या नगर्नुहोला। म खेल्दै–पढ्दै हुर्किएको मान्छे। सबै क्षमतावान् व्यक्तिहरू प्रथम हुँदैनन्। सबै प्रथम हुनेहरू क्षमतावान् हुँदैनन्। समयले बादशाहलाई फकिर र फकिरलाई बादशाह बनाइदिन्छ। सबैलाई आफू अब्बल बनूँ भन्ने चाहना हुन्छ नै। विद्यालयकालीन समयमा मलाई त्यो अवसर नमिले पनि पछि हामी दुवैको विषय बदलियो। प्रश्नमै उत्तर दिऔं, क्षमता र परिस्थितिको फ्युजन नभएको भए आज म यो स्थानमा हुन्थेँ ? यसलाई तपाईं प्रथम भन्नुहुन्छ कि द्वितीय ?

तपाईंहरूको सम्बन्धलाई के भन्ने ? शीतयुद्ध, प्रतिशोध अथवा प्रतिस्पर्धा ?

ती तीनवटै कुरा हुन्। हामीबीच लामो समय बोलचाल नै भएन। त्यही होला शीतयुद्ध। भूमिगत जीवनबाट सार्वजनिक भएपछि हाम्रो भेटघाट भयो। मित्रको रूपमा पनि देखियौं। प्रतिशोध सानैबाट थियो। जसको मुख्य कारक नै प्रतिस्पर्धा थियो। प्रतिस्पर्धाको बीज पठनपाठन थियो।

पूर्व र पश्चिम बीचमा समन्वय हुनुपर्छ भन्ने दार्शनिक मान्यता राख्दै गर्दा कहिलेकाहीँ लाग्दैन, तपाईंहरू बीचमा पनि समन्वय हुनुपर्छ भन्ने ?

– समन्वय जबर्जस्त हुने कुरा होइन। दक्षिणी ध्रुव र उत्तरी ध्रुवलाई मिलाउन खोज्नु खतरा मोल्नु हो। नर्थ–साउथको रिलेसन झन् गज्जबको हुन्छ। सकारात्मक रूपमा हेर्नुभयो भने यो सिर्जनाको कारक हो। यसका बारेमा पछि कुरा गरौंला।

जीवनको कुनै निरपेक्ष उत्तर छैन। म गीता दर्शनलाई स्पर्श गरेर हुर्किएको मान्छे। सबैभन्दा ठूलो कर्म हो। आफूलाई उचित लागेको कर्म उचित समयमा गर्न सक्यौं भने फल पनि उचित किसिमकै मिल्छ। जीवन ‘नियमित आकस्मिकता’ हो। मृत्यु पनि एउटा नियमित आकस्मिकता नै हो।

राजनीति र भाषासाहित्य

राजाको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी समाल्नुभयो। लोकतन्त्र–गणतन्त्रपछि ‘राजावादी’बाट ‘जनतावादी’ बन्नुभयो। तपाईंमा राजनीतिक स्थायित्व देखिएन नि ?

स्थायित्व आफैंमा शब्दजाल हो। सापेक्ष रूपमा कुनै पनि चिजमा स्थायी भन्ने कुरा रहँदैन। राजनीति होस् या संस्कृति, सबै कुरा गतिशील छन्। गतिशील हुनु मान्छेको धर्म हो। धर्मअनुसारको कर्म गर्ने क्रममा कर्मअनुसारको फल प्राप्त हुनु स्वाभाविक हो। स्वास्थ्यमन्त्री समाल्नु त्यो बेलाको माग थियो। आज त्यो समय छैन। ‘जनतावादी’ भन्ने शब्दले ‘म जनता होइन र ? ’ भन्ने प्रश्न पनि जन्मिएला। मान्नोस्, म ‘राजावादी’ नै रहेछु भने मसँग प्रश्न लिने व्यक्ति तपाईं राजावादी कि जनतावादी ?

दरबार हत्याकाण्ड भएकै दिन तपाईंलाई छाउनी हस्पिटल पुर्‍याइएपछिको घटना विवरणबारे बताइदिनुस् न !

मैले यस बारेमा सोही समयमा बीबीसीमा पनि अन्तर्वार्ता दिएको छु। म बसेकै ठाउँबाट किन, कसरी, केका लागि भन्ने जिज्ञासा जान्न नपाउँदै मलाई छाउनी लगियो। त्यति बेला श्रुतिको बाहेक अरूको स्थिति शून्य भइसकेको थियो। दीपेन्द्रमा धुकधुकी थियो। सिचुएसन ह्यान्डिल गर्न धौ–धौ थियो। दरबार हत्याकाण्डको विषयमा बीबीबीले सम्भाव्यता अध्ययन गर्न मलाई प्रश्न गर्दा मैले तीन कुरामा जोड दिएको थिएँ। पहिलो कुरा, माओवादीहरूले क्याप्चर गरे। दोस्रो कुरा, कि त माओवादीसँग लड्दालड्दै सेनाले विद्रोह गर्‍यो। तेस्रो कुरा, इन्डियाले टेकओभर गर्‍यो। तर, मेरा कुरा सुनेनसुनेझैं गरे।

राजनीतिका कुरा पछि गरौंला। अहिले केही भाषासाहित्यको कुरा गरौं। भाषासाहित्यप्रति तपाईंको दृष्टिकोण !

तपाईंले नेपाली भाषाको कुरा गर्नुभएको होला। भाषा विचार विनिमयको अभिन्न अंग हो। यसलाई रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो। हिजोआज नेपाली भाषामाथि अनेकौं खालका वैदेशिक हस्तक्षेप तथा प्रहार भएका छन्। धर्मनिरपेक्षता तथा अन्तर्राष्ट्रिय भाषालाई स्वीकार गर्ने नाउँमा नेपाली भाषाको अस्तित्व र नेपालीभाषीको मानमर्यादालाई लत्याइनु विल्कुल राम्रो होइन। भाषा समयअनुसार परिवर्तन गरिनुपर्छ तर त्यो कुनै समूह वा कथित विद्वान्हरूको झुण्डबाट होइन। भाषाका आमप्रयोगकर्ताका माझबाट स्वतः भाषा परिवर्तन हुन्छ। नयाँ भाषा सिर्जना हुन्छ। तपाईं–हामी नै हेरौं न, पृथ्वीनारायण शाहको समय अथवा भानुभक्तको समयमा प्रयोग गरिने भाषा आज छैन। त्यो समयबाट यो समयमा आइपुग्न शताब्दी समयले नेटो काटेको छ। यसर्थ जनजिब्रोका आधारमा भाषालाई स्वीकार्ने हो। निश्चित विद्वान्का प्रेस विज्ञप्तिबाट भाषासाहित्य परिवर्तन हुने कुरा होइन।

अन्तर्वार्ताअगाडि तपाईंले साहित्यका बारेमा भन्दै हुनुहुन्थ्यो। तपाईंको दृष्टिमा साहित्य कस्तो हुनुपर्छ ? अथवा वर्तमान नेपाली साहित्यमाथि तपाईंको विचार ?

साहित्यको काम सबैको हित गर्ने हो। चाहे त्यो वर्गीय होस् या त वैयक्तिक। तपाईंले चाहनुभएको साहित्य कस्तो हो, त्यो म जान्दिनँ। तथापि साहित्य प्रयोजनमूलक हुनुपर्छ। लहडमा साहित्य सिर्जना गरिँदैन। कार्य–कारण शृंखलामा साहित्यको जन्म हुन्छ। म साहित्यलाई अभिरुचिको विषय ठान्छु। बीपीका साहित्यले मलाई प्रभावित तुल्याएको छ। देवकोटा, पारिजात, शंकर लामिछानेलाई केही स्पर्श गरेको छु। मलाई सबैभन्दा बढी प्रभाव पारेको कृति ‘भागवत् गीता’ नै हो। बीपीका ‘मोदीआइन’ पनि त्यसैबाट प्रभावित छ। ‘गीता’ भनेको जीवन हो। यसले जीवनका त्रिआयामलाई समेट्छ। भूत, वर्तमान र भविष्यको फ्युजन हो ‘गीता’। ‘गीता’को आलोचना गर्नेहरू पनि छन्। कृष्णवादको आरोप लगाउनेहरू अर्थात् उनको नायकत्वले अन्य चरित्रलाई उठ्न दिएनन् भन्ने पनि होलान् तर हामीले त्यसमा हेर्ने दर्शन हो। विचार हो। ताकि कुनै चरित्रको चारित्रिक गुण–अवगुण। तपाईं त्यसमा गरिएको मृत्युचेतनाको संवाद हेर्नोस्, कर्मफलको कुरा हेर्नोस्, अथवा योगदर्शन अथवा भक्ति दर्शन हेर्नोस्। ती सबै आफैंमा परस्पर सम्बन्धित र पूर्ण छन्। ‘गीता’ नपढी पूर्वीय दर्शन अधुरो हुन्छ।

चिकित्सा पेसा र पूर्वीय तथा पाश्चात्य दर्शन

उपेन्द्र देवकोटा एउटा ‘मिथक’ बनेर आमजनताको माझमा बस्ला भन्ने लाग्थ्यो ?

मिथक आफैंमा एउटा गज्जबको शब्द हो। यसले पहिचानको कुरा गर्छ। हरेकले आफ्नो पहिचान आफैंले निर्माण गर्ने हो। मैले कर्म गरेँ। कर्मले मलाई चिनायो। सम्भावनाको कुरा वर्तमानले निर्धारण गर्ने कुरा हो।

चिकित्सा पेसालाई कसरी बुझ्ने ?

चिकित्सा क्षेत्रमा हामीले बुझ्ने टेक्निकल कुरा हो। पेसागत सौन्दर्यलाई बुझ्न संस्कार–अनुशासन चाहिन्छ। यो पेसा अन्य पेसाको तुलनामा सेन्सेटिभ र ज्यादा मर्यादित छ। हृदयदेखि नै बिरामीको सेवा गर्‍यौं भने पूर्वीय आयुर्वेदाचार्य धन्वन्तरिले भनेको धर्म, अर्थ, काम, मोक्ष सबै चिज एकैपटक प्राप्त हुन्छ। बिरामीलाई स्वास्थ्यदान दिनु धर्म हो। धर्मले मोक्ष प्राप्ति हुन्छ। पैसा नभएका बिरामीले उपचारको बदलामा सधैं गुनगान गाउँछन्, फलानो डाक्टर यस्तो–उस्तो भन्छन्, मान–सम्मान–प्रतिष्ठा प्राप्ति भो। पैसा हुनेले पैसा दिन्छन्, अर्थ प्राप्ति भो। मानौं, उपचारका क्रममा कुनै बिरामीको मृत्यु भयो भने त्यसले पनि पाठ सिकाएर जान्छ। त्यसबाट ज्ञान प्राप्ति भो।

हामी हरेकपटक बिरामीको अवस्था बिग्रनेबित्तिकै उपचार पद्धति परिवर्तन गर्छौं। बिरामीको उपचारका क्रममा घट्ने प्रत्येक घटना हाम्रा लागि नयाँ शिक्षा हो। ज्ञान हो। यसर्थ चिकित्सा पेसालाई हामीले यिनै कुराको केन्द्रीयतामा हेर्नुपर्छ।

जीवन पूर्वीय र पाश्चात्य ज्ञान–विज्ञानको फ्युजन हो भन्नुभयो नि ! चिकित्सा क्षेत्रमा यसको सम्बन्धलाई कसरी ग्रहण गर्ने ?

हेर्नोस्। जीवन वास्तवमा ज्ञान र विज्ञानको फ्युजन हो। जब हामी राम्ररी ज्ञान र विज्ञानको प्रयोगलाई बुझ्न वा सिद्ध गर्न सक्दैनौं, यसले कन्फ्युजन वा भ्रम जन्माउँछ। पूर्वीय मनिषीहरूका वैदिक तथा सनातनकालीन ग्रन्थका आधारमा पश्चिमले ठूलाठूला आविष्कार गरे। हामी तिनै आविष्कारलाई पूजा गरिरहेका छौं। हामी पूर्वीयले आफ्नोपन चिन्न सकेनौं। विज्ञान नै सबथोक हो भनिरहँदा त्यसको आदिम रूप–ज्ञानलाई स्पर्श गर्न सकेनौं।

अन्त्यमा जीवनका बारेमा केही बताइदिनोस् न !

जीवनको कुनै निरपेक्ष उत्तर छैन। म गीता दर्शनलाई स्पर्श गरेर हुर्किएको मान्छे। सबैभन्दा ठूलो कर्म हो। आफूलाई उचित लागेको कर्म उचित समयमा गर्न सक्यौं भने फल पनि उचित किसिमकै मिल्छ। जीवन ‘नियमित आकस्मिकता’ हो। प्राकृतिक तत्वको व्यतिरेकमा हामी उभिन सक्दैनौं। समजीले भनेजस्तै ‘ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ।’ म ‘मृत्युको समाजशास्त्र’लाई बुझ्न सक्छु। यो पनि एउटा नियमित आकस्मिकता नै हो।


कुराकानी : राजिन पनेरू | अन्तर्वार्ता मिति : २०७३ साल चैत १४ गते


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.