कविता : सम्बोधन
बाबा
म त्यो आकाशका ताराहरूलाई हेर्दै
तिमीलाई सम्झिरहेकी छु
के भनेर
सम्बोधन गर्दै बोलाऊँ
तिमीलाई
मैले तिमीस“ग बिताएका कुनै
त्यस्ता पलहरू छैनन्
तिमीले दिएका कुनै त्यस्ता मायाका चुम्बनहरू
मेरो गालामा दाग बनेर बसेको पनि छैन
तिमीले मेरो लागि भनेर
किनिदिएको गुडिया छैन
तिमीले सुनाएका लोरीका भाकाहरू छैनन्
तिमीले अक्षराम्भ गर्दा
हातमा पिटिपिटी लेखाएका
पहिलो अक्षर ‘क’ पनि त छैन मसँग
म निकै सोच्छु
तिम्रो बारेमा
फेरि लाग्छ के भनेर सोचूँ तिम्रो
अभाव भनेको नहुनु हो या
नभए पनि मात्र अभाव महसुस हुन्छ
यति बेला मलाई साह्रै रहर लागेको छ
तिम्रो काँधमा चढेर लेकबेँसी गर्ने
औंला समाएर फेरि कखरा पढ्ने
तीव्र इच्छाहरू छन्
तिमीसँगै एकैछिनमा झगडा गर्ने
र रमाउने
भुत्ल्याउने र माया गर्ने
चंगा उडाउने र चिप्लेटी खेल्ने
चाहनाहरू छन् ।
म देखाउन चाहन्छु बाबा
मेरो ढाडमा टेकेर
मलाई छुरा धस्नेहरूलाई
बाँधिदिएर खुट्टामा नेल
हिँड्नका लागि आग्रह गर्नेहरूलाई
देखाएर सपना एकैछिनमा च्यातिदिनेहरूलाई
तिमीले गरेका हरेक मायाका प्रमाणहरू
तिनीहरूको देखाएर
म पनि खुसी हुन चाहन्छु
भन्नेहरू भन्छन् बाबा—
मरेका प्रत्येक मान्छेहरू
आकाशमा तारा बन्छन् रे
के साँच्चै बाबा
आकाशमा चम्किएको
त्यो सबैभन्दा सुन्दर तारा तिमी नै हौ त
यदि मान्छेले बोलेका कुराहरू सत्य हुन् भने
मलाई त्यो तारा धर्तीमा झारेर
केही क्षण नै सही
त्यसैको काखमा मस्त निदाउने
रहर छ
लेख्ने तीव्र आकांक्षा छ
मेरो कखराको पहिलो अक्षर बाबा भनेर ।