डायस्पोरिक चौतारी
आप्रवासमा नेपालीको संख्यात्मक बढोत्तरी मात्र भइरहेको छैन; साहित्य, बन्द व्यापारलगायत अन्य विविध क्षेत्रमा उनीहरूको सघन उपस्थिति भइरहेको छ। नेपाली आप्रवासको दायरा दिनानुदिन फैलँदो छ। आप्रवासको दायरा विस्तारसँगै नेपाली साहित्यको प्रवर्द्धन आप्रवासको माटोबाट पनि घना रूपमा भइरहेको छ।
आप्रवासका कतिपय लोकेसनबाट नेपाली साहित्यकारले साहित्यिक आन्दोलन र अभियानसमेत सञ्चालन गर्दै आएका छन्। उदाहरणका लागि हङकङबाट ‘भयवाद’, ‘रेखासाहित्य लेखन’, ‘समुच्च विचार’जस्ता अभियान अस्तित्वमा आएका छन् भने बेलायतबाट ‘नवचेतना ग्रह’, ‘डायस्पोरा सिद्धान्त र युद्ध साहित्य’जस्ता वैचारिक चिन्तनहरू उदय भइरहेका छन्। यी र यस्तै चिन्तन तथा अभियानले निश्चय पनि अन्ततोगत्वा नेपाली भाषा साहित्यकै गत्यात्मकतालाई बढाउँछन्।
यसै सिलसिलामा ब्रिटिस गोर्खा सेनामा सेवा गरेका तथा साहित्यसेवामा पनि समर्पित दुई जना लेखक रक्ष राई र मिजास तेम्बेले बेलायती भूमिबाट नेपाली साहित्यमा डायस्पोरा सिद्धान्त विकास गर्दै विसं २०७२ मा ‘डायस्पोरा सिद्धान्त : रचना र समालोचना’ पुस्तक प्रकाशनमा ल्याएका छन्। उनीहरूको यो बौद्धिक जागरण अवश्य पनि नेपाली साहित्यको सुन्दुकमा एक प्रशंसनीय खजाना हो।
यो पुस्तकमा रक्ष र मिजासले एउटा सुन्दर र अप्ठेरो प्रयोग गरेका छन्। त्यो के भने पुस्तकको प्रारम्भिक खण्डमा उनीहरूले ‘डायस्पोरा’ भन्ने अवधारणाको सौद्धान्तिकीकरण गरेका छन्। यसका निम्ति उनीहरूले ‘ग्लोबल’ (ग्लोबल प्लस लोकल) ‘रिफरेन्स’ तथा पद्धतिको चिरफार गरेका छन्। डायस्पोरा निर्माणको ऐतिहासिक पृष्ठभूमि, डायस्पोरा मनोविज्ञान तथा देशघरको निम्ति डायस्पोराबाट हुने र हुनसक्ने योगदानको चर्चा पुस्तकमा छ।
दोस्रो खण्डमा आप्रवासी विषयवस्तुसँग सम्बन्धित अनेक लोकेसनका विभिन्न नेपाली लेखकका रचना राखिएको छ। यी रचनाअन्तर्गत पाँच कथा, पाँच यात्रा संस्मरण र पाँच कविता समाविष्ट छन्। ती रचनाको सामान्य परिचयात्मक जानकारी किताबमा प्रस्तुत छ।
महेशविक्रम शाहको कथा ‘ज्याक्सन हाइट’ले अमेरिकाको मानव महासागरमा कतिपय नेपाली आप्रवासीको पीडामय अन्तर्कथालाई बेजोड तरिकाले प्रस्तुत गरेको छ। अमेरिकाको व्यापारिक राजधानी न्युयोर्कको एक कुनामा रहेको ज्याक्सन हाइटमा नेपालीलगायत अन्य एसियाली गहुँगोरा प्रशस्त भेटिएका तथा डलर कमाउने मोहमा फसेर बिजोगमा परेका कतिपय नेपालीको कारुणिक कथा छ। अमेरिकामा रहेका सम्पूर्ण नेपाली आप्रवासीको त नभनौं तर एउटा निश्चित संख्याको समूहको अवस्था भने यो कथाले झसंग हुने गरी चित्रित गर्छ।
यसैगरी टंक वनेमको कथा ‘उम नूर’मा कथावाचक एक नेपाली आप्रवासीले बेलायतको भूमिमा भेटिएकी एक इराकी आप्रवासीको युद्धपीडालाई अति सूक्ष्मतापूर्वक अभिव्यक्त गरेको छ। इराकमा सद्दाम हुसेनको पराजयपछि फैलिएको सुन्नी र सियाबीचको साम्प्रदायिक हिंसाको पृष्ठभूमिमा यो कथा रचिएको छ। फतिमा उर्पm उम नूर कथावाचक हुन्। उनले आफ्नो कथा भनेकी छन्। इस्लाम धर्मभित्र दुई भिन्न सम्प्रदायका भए पनि अब्दुल जारा र फतिमा उर्पm उम नूरको जोडी थियो। अब्दुल सिया थिए भने फतिमा सुन्नी थिइन्। इराकमाथि अमेरिकी आक्रमणको बेला भड्काइएको सिया र सुन्नीबीचको साम्प्रदायिक युद्धको चपेटामा फतिमाले आफ्नो श्रीमान्, छोराहरू र थुपै्र आफन्त गुमाएको अभिघातको प्रस्तुति यो कथामा छ। उनी भने धेरै कष्टका बीच जीवित अवस्थामै बेलायत पुग्छिन्। कथाकार वनेमले कसरी यति नजिक पुगेर युद्धको त्रासदी चित्रण गर्न सके होलान भनेर निकै अनौठो लाग्छ।
नेपाली डायस्पोराको छुट्टै मानक समालोचकीय पद्धतिको निर्माण नभइसकेको अवस्थामा किताबले डायस्पोरिक समालोचना पद्धतिका लागि सहायकको काम गर्न सक्छ।
जया राईको ‘क्रिसमस डे’ यो संकलनमा समाविष्ट तेस्रो कथा हो। यो कथामा कथावाचकको साथी श्रीमान् मेन्सा अफ्रिकी डास्पोरा हो। ऊ अफ्रिकाली जीवनका पूर्वस्मृतिहरू व्यक्त गर्छ। हुन पनि आप्रवासीहरू नवभूमिमा आफ्नो जन्मभूमिका यादहरूलाई सांस्कृतिक सम्पत्तिका रूपमा स्मरण गर्छन्। श्रीमान् मेन्सा पोलिटिकल साइन्समा मास्टर्स हो। गाउँमा उसको पिताको कोडो खेती थियो। नोभेम्बरदेखि मार्चसम्म हुने अफ्रिकी ड्राई सिजनमा सहारा मरुभूमिबाट तातो हावा चल्छ। त्यसै बेला उसको पिताको सयौं एकडको कोडो खेतीमा आगलागी हुन्छ। परिणामस्वरूप आर्थिक बेहाल भएपछि उनका पिताले आत्महत्याको असफल प्रयास गर्छन्। क्रिसमसको बेला कोठामा बसेर मदिरापान गर्दै श्रीमान् मेन्साले आफ्नो कथाव्यथा सुनाउँदै गर्दा बकन्ते श्रीमान् मेन्साबाट गर्भवती हुन्छिन्। ओरियन्टल गर्भाशयमा एक अफ्रिकन भ्रूणको बिजारोपण भएको उपलक्ष्यमा गर्वबोध गर्दै उनी आफूभित्रको अफ्रिकी भ्रूणलाई सगर्व स्वीकार्छिन्।
यसरी यो कथाले नेपाली डायस्पोराको फैलँदो वैश्विक आयतनलाई रोमाञ्चकारी शैलीमा प्रस्तुत गरेको छ। चौथो कथाका रूपमा लारा राईको ‘एउटा मृत्युको बयान’ छ। लाराले यो कथामा एउटा आकर्षक र संवेदनशील विषयवस्तु उठाएकी छन्। काठमाडौंमा जन्मेहुर्केकी एक हुनेखाने परिवारकी विवाहित महिला दुव्र्यसनी लोग्ने, असहयोगी परिवार र छिछिदुर गर्ने माइतीका कारण सानो छोरालाई नेपालमै छोडेर दलालमार्फत शरणार्थीका रूपमा हङकङ पुगेपछि विभिन्न प्रतिकूलताका कारण आत्महत्या गर्न पुगेकी महिलाको विषयवस्तु यो कथामा समेटिएको छ।
रक्ष राईद्वारा लिखित ‘अस्ट्रियाकी फूल’ यो संकलनको अर्काे कथा हो। अस्ट्रियाबाट शैक्षिक भ्रमणमा आएकी एक केटीसँग कथावाचकको भेट हुन्छ। ऊ त्यो केटीमा आफ्नी भाउजूकी बहिनीको चित्र देख्छ। नियात्राको झलक दिने यो कथामा अस्ट्रियाकी केटी सिसिलिया र कथावाचकको लन्डन घुमाइलाई केन्द्रमा राखेर लन्डनका विभिन्न ‘एमेनिटिज’ स्थानहरूको चर्चा गरिएको छ। साथै सैनिक जीवनका विभिन्न पक्ष पनि यहाँ समेटिएको भेटिन्छ। यसका अतिरिक्त त्यो अस्ट्रियाकी केटी सिसिलिया र नेपालको गाउँमा रहेकी भाउजूकी बहिनीको बीचमा रहेर कथावाचकले एक प्रकारको मानसिक सयर गरेका छन्।
यसै प्रकारले यो पुस्तकको दोस्रो खण्डमा पाँच यात्रा संस्मरण् समेत समाविष्ट छन्। मात्र ३७ वर्षको कलिलो उमेरमा दिवंगत भएका महान् फ्रान्सेली चित्रकार भ्यानगगको सम्झनामा लैनसिंह बाङ्देलको संस्मरण ‘भ्यान गगको चिहान’लगायत हरि थापाको ‘भृकुटीको घरमा केही क्षण’ पनि पुस्तकमा समेटिएको छ।
दयाकृष्ण राईको संस्मरण ‘कामको खोजी र आफूले गरेको काम’मा उनले सात वर्ष जापानमा श्रम गर्ने सिलसिलामा सुँगुरको लिदी सोहोरेको अनुभव लेखेका छन्। डायस्पोरामा कतिपय नेपालीले कतिपय अवस्थामा भोगेका र भोग्नुपर्ने केही अप्ठ्यारा कामको लेखक राईले इमानदारीपूर्वक उल्लेख गरेका छन्।
‘एथेन्सको झरी’मा केदार संकेतले ग्रिसको एथेन्सस्थित एक्रोपोलिसको थुम्को जाँदाको अनुभवलाई मिठासपूर्ण तरिकाले लेखेका छन्। भूमिराज राईले ‘टावर ध्वस्त पार्न जाँदा’ शीर्षकको संस्मरणमा आफगानिस्तानको हेलमन्ड प्रोभिन्समा गठबन्धन सेनाको तर्फबाट विद्रोहीहरूसँग युद्ध गर्दाको अनुभवलाई आङै जिरिंग हुने गरी युद्धभूमिको वर्णन गरेका छन्।
कथा र संस्मरणको अलावा यो पुस्तकमा शैलेन्द्र साकार, रूपक श्रेष्ठ, भगवान् चाम्लिङ, टंक सम्बाहाम्फे र टंक वनेमका एक एकवटा गरी जम्मा पाँचवटा कविता समावेश छन्। यी कवितामा पनि आप्रवासी जीवनका विभिन्न आयामको पटाक्षेप गरेको पाइन्छ।
यो पुस्तकको खण्ड ३ मा लेखक रक्ष र मिजासले पुस्तकमा समाविष्ट रचनाहरूको समीक्षात्मक टिपोट प्रस्तुत गरेका छन्। तथापि पुस्तकको नाम भने ‘डायस्पोरा सिद्धान्त, रचना र समालोचना’ राखिएको छ। यसलाई उनीहरूले नेपाली डायस्पोराको एउटा छुट्टै मानक समालोचकीय पद्धतिको निर्माण नभइसकेको अवस्थामा यसले डायस्पोरिक समालोचना पद्धतिका लागि सहायकको काम गर्नसक्ने अपेक्षा गरेका छन्।
समग्रमा, विदेशी भूमिमा बसेर नेपाली साहित्यको विकासमा चिन्तन र सिर्जनाको एउटा नयाँ चौतारी निर्माण गर्ने दिशामा क्रियाशील भएका यी दुई सर्जक रक्ष र मिजासको प्रयत्न सबै सिर्जनशील व्यक्ति र संस्थाको निम्ति अनुकरणीय छ।