घोंगी बेचेर परिवार पाल्दै महिला
बर्दिबास : महोत्तरीको गौशाला नगरपालिका-४ बिर्ताकी ४० वर्षीया अघनीदेवी मुसहर सातामा दुईपटक घोंगी संकलनका लागि दरभंगहा जान्छिन्। उनी तीन दिन त्यहाँ बसेर ८०-९० किलोसम्म घोंगी संकल गरी फर्किन्छिन्। उनीहरू गाउँकै गौशाला बजारमा घोंगी बिक्री गर्छन्। भन्छिन्, ‘घोंगी व्यापारले खान-लाउन पुगेको छ। मालिकको मजदुरीभन्दा घोंगी व्यापार ठीक छ।’
मुसहर समुदायमा घोंगीलाई तरकारी परिकारका रूपमा लिइन्छ तर पछिल्लो समय उनीहरूले यसको व्यापार गरी आम्दानी पनि गरिरहेका छन्। किलोको ४० रुपैयाँमा घोंगी बिक्री गरेर समुदायको परिकारलाई व्यावसायिक रूप नै दिएका छन्।
गौशालाकी रामकली मुसहर घोंगी बिक्री गरेर आएको आम्दानीबाट पाँच जनाको परिवार पाल्छिन्। सोमबार र बिहीबार गरी सातामा दुईपटक लाग्ने गौशाला बजारमा घोंगी बिक्री गरेर १ हजार ५ सय नाफा कमाउँछिन्। ‘पहिले थारू र मुसहर समुदायले मात्र घोंगी खान्थे’, रजखोर बिर्ताकी काशीदेवी मुसहर भन्छिन्, ‘घोंगीको महत्व बुझेपछि यसको बिक्री बढेको छ।’
गौशालाका १२ भन्दा बढी महिलाले घोंगी बिक्रीलाई व्यावसायिक रूप दिएका हुन्। आर्थिक अवस्था कमजोर रहेका मुसहर समुदायका महिलाले भारतबाट घोंगी ल्याएर गाउँका बजारमा बिक्री गरी बालबच्चासहित परिवारको पालनपोषण गर्दै आएका छन्। उनीहरू घोंगी लिन भारतको दरभंगहा, परिहार, सुरसन्डलगायत क्षेत्रका पोखरी पुग्नछन्। पोखरी, खाल्टाखुल्टीमा जमेको पानी, खोलाको दहमा घोंगी पाइन्छ। माछापालक किसानले घोंगी उपटाउन विषादी हाल्दा नेपालमा यसको उत्पादनमा कमी आएको जनाइएको छ।