वर्ल्डकप भर्सेस वुमन
वर्ल्डकप हेरिरहँदा एकजना पुरुष साथीले रमाइलो जोक्स फेसबुक म्यासेन्जरमा पठाए। ‘प्रिय श्रीमती’ भन्दै सम्बोधन गरिएको नौ बुँदामा वर्ल्डकप अवधिभर श्रीमतीले पालना गर्नुपर्ने नियमहरू ठट्यौली पारामा लेखिएका थिए। वर्ल्डकप अवधिभर टीभीमाथिको एकाधिकार आफ्नो हुने, आफूले सपोर्ट गरेको टिमलाई श्रीमतीले पनि सपोर्ट गर्नुपर्ने, सपोर्ट गरेकै टिमको जर्सी लगाउनुपर्ने, सपोर्ट गरेको टिमले गोल खाँदा हाँस्न नपाइने जस्ता ठट्टाहरू समावेश थिए।
त्यो ठट्यौली टिप्स केही पुरुष र महिला साथीलाई म्यासेन्जरबाटै फरवार्ड गरेँ। पुरुष साथीले जति रमाइलो प्रतिक्रिया दिए, महिला साथीले त्यसको ठीक उल्टो प्रतिक्रिया दिए। कतिपयले प्रतिक्रिया नै दिएनन्।
कवि तथा आख्यानकार सरस्वती प्रतीक्षाले वर्ल्डकप फुटबल पुरुषका लागि मात्रै आयोजना गरिएजस्तो भएको प्रतिक्रिया दिइन्, ‘यो पढ्दा यस्तो लाग्यो, वर्ल्डकप भनेको पुरुषले मात्रै खेल्ने र पुरुषले मात्रै हेर्ने खेल हो।’
कवि सरिता तिवारीले यस जोकलाई सामान्य हँसिमजाकका रूपमा मात्र लिन नहुने बताइन्। उनको विचारमा ती बुँदाले सामाजिक संरचनाको संकेत दिन्छन्। ‘ती नौ बुँदाबाट हाम्रो समाजको चरित्र के हो र महिलाको हैसियत कस्तो छ भन्ने स्पष्ट पार्छ’, उनी भन्छिन्। खेल पुरुषको रुचिको क्षेत्रजस्तो मात्रै बनाइनुमा मनोसामाजिक चरित्रभित्र प्रवेश गरेर हेर्नुपर्ने उनको ठम्याइ छ।
लेखक कुमारी लामा ती बुँदाहरूलाई मजाकभन्दा गम्भीर भएर हेर्नुपर्ने बताउँछिन्। भन्छिन्, ‘हेर्दा सामान्य र हास्यास्पदजस्तो देखिए पनि ती बुँदाहरू पुरुष मानसिकताको अभिव्यक्ति हो।’
कवि हरिमाया भेटवाल वर्ल्डकप सुरु भएपछि पुरुषका लागि दसैं नै आएसरह भएको र महिलालाई झन् पीडा थपिएको बताउँछिन्। भन्छिन्, ‘पुरुषका लागि दसैं आएको छ। अनेक थरी खानेकुरा पकाऊ, रक्सी ल्याऊ, नत्र बाहिर गएर हेर्छौं भन्दै धम्क्याउनेहरू समाजमा प्रशस्त छन्।’ वर्ल्डकपले महिलालाई मनोरञ्जनभन्दा पीडा धेरै दिएको उनी बताउँछिन्।
नेपाल मात्रै होइन, वर्ल्डकपसँगै विश्वभरका खेलप्रेमी रमाइरहेका छन्। आफूले रुचाएको टिमको पक्षमा जुलुस निकाल्नेदेखि पूजापाठ गर्नेसम्मका गतिविधि जारी छ। तर, पुरुषका लागि उत्सव भइरहेको वर्ल्डकप महिलाका लागि पीडा र दुःखको नयाँ स्रोत बनेको छ। वर्ल्डकप भनेको पुरुषले खेल्ने र हेर्ने विषयमात्रै भएजसरी व्याख्या गरिन्छ। वर्ल्डकपले महिलालाई उत्साह होइन, हिंसा थपिदिएका प्रशस्त उदाहरण छन्। दृश्य–अदृश्य ढंगले महिलामाथि हिंसा थपिएको छ। महिलालाई वर्ल्डकपको नाममा कतै सेक्स रोबोर्टसँग तुलना गरिएको छ भने कतै खेलाडीलाई सुन्दरी पट्याउने टिप्स सिकाइँदैछ। कतै रंगशालाभित्र गएर खेल हेर्न प्रतिबन्ध लगाइएको छ भने कतै फगत मनोरञ्जनको साधनका रूपमा महिलालाई अथ्र्याइएको छ।
०००
लाङ्कस्टर युनिभर्सिटीका अपराधशास्त्री डा. स्टुअर्ट किर्बीले सन् २००२, २००६ र २०१० को वर्ल्डकप अवधिमा भएका घरेलु हिंसाबारे अनुसन्धान गरेका थिए। डा. स्टुअर्टलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था ‘द गार्जियन’ले सन् २०१० को वर्ल्डकप चलिरहँदा भएका घरेलु हिंसाबारे समाचार प्रकाशित ग¥यो। इङ्ल्यान्ड र वल्सका केही स्थानमा डा. स्टुअर्टले गरेको अनुसन्धानमा वर्ल्डकपमा इङ्ल्यान्ड पराजित हुँदा ३८ प्रतिशत घरेलु हिंसा बढेको र विजयी हुँदा २६ प्रतिशत हिंसा घटेको तथ्य फेला पारे। जब नकआउट चरणमा जर्मनीसँग पराजित भएर इङ्ल्यान्ड बाहिरियो, तब घरेलु हिंसा ४३ प्रतिशत पुगेको अर्को अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेको छ।
वर्ल्डकप सन् २०१८ को पूर्वसन्ध्यामा अर्जेन्टिनाको अखबारलाई उद्धृत गर्दै बीबीसीले एउटा समाचार प्रकाशित ग¥यो। वर्ल्डकपका लागि रसिया जान लागेका खेलाडी तथा प्रशिक्षकलाई अर्जेन्टिनी फुटबल एसोसिएसनले ‘रसियन युवतीलाई कसरी फकाउने’ भन्नेबारे निर्देशिकामै सूत्र सिकाएको थियो। निर्देशिकामा खेल अवधिभर सफासुग्घर भएर हिँड्नुपर्ने लेखिएको थियो। रसियन युवतीसँग कसरी नजिक हुने र उनीहरूसँग यौनका बारेमा कसरी कुरा गर्ने भन्नेबारे निर्देशिकामा उल्लेख थियो। रुसी युवतीलाई फकाउन एसोसिएसनले पत्रकारलाई उक्साएको खबर पनि सार्वजनिक भएको थियो। त्यसको चौतर्फी विरोध भएपछि अर्जेन्टिनी फुटबल एसोसिएसन विवादमा तानियो। विवादपछि निर्देशिकाबाट उक्त वाक्यांश हटाइयो।
वर्ल्डकपकै पूर्वसन्ध्यामा ‘महिला सेक्स रोबोर्ट’ आगन्तुकलाई स्वागत गर्न रसियामा रहेको खबर फैलियो। सेक्स रोबोर्ट बनाउन ठूला व्यापारी अहोरात्र लागिपरे। मस्कोमा महिला रोबोट वेश्यालय नै खुल्यो। ‘द डल्स होटल’ नाम दिइएको उक्त रोबोर्ट–वेश्यालयमा एक घन्टा बिताएबापत ८० डलर तिर्नुपर्ने मूल्य तोकियो। यौनकर्मी रोबोर्टको नाम दिइयो— लोलिटा, सासा, नतासा, इसिलेल र अलिसा। प्रत्येक रोबोटसँग स्वच्छ हृदय, परम्परागत स्त्रीत्व, कोमलता र लजालुपन सहितको स्वभाव रहेको व्यवसायीको दाबी छ। सेक्स रोबोर्ट विभिन्न साइजमा उपलब्ध छन्। आकर्षक महिलाको आकारमा बनाइएको सो सेक्स रोबोट लचकदार र न्यानोपन सहितको भएको बताइएको छ।
समूह चरणको खेलमा इरानले मोरक्कोलाई एक शून्यले पराजित ग¥यो। तर, पाँचपटक वर्ल्डकपमा सहभागी भएको इरानमा फुटबल र महिलासँग सम्बन्धित कानुन भने अनौठो छ। सम्भवतः कुनै पनि इरानी महिलाले रंगशालामा गएर वर्ल्डकप हेरेनन्। आफ्नै देशको रंगशालामा आयोजना हुने कुनै पनि खेल हेर्न महिलालाई अनुमति छैन। सम्भवतः इरानले मोरक्कोलाई १–० ले पराजित गरेको खेल पनि इरानी महिलाले रंगशालामा गएर हेर्न पाएनन्। इरानी महिलालाई फुटबल मात्रै होइन, कुनै पनि खेल खेल्न र रंगशालामा हेर्न जान प्रतिबन्ध लगाइएको छ।
गत अप्रिलमा राजधानी तेहरानको रंगशालामा फुटबल हेर्न पाँचजना महिला पुरुषको भेषमा पुगे। उनीहरूको फोटो सामाजिक सञ्जालमा भाइरल नै भयो। केही समयअघि महिलालाई खेल हेर्न दिने चर्चा चले पनि अहिलेसम्म उनीहरू खुलमखुला हेर्न आएका छैनन्। सन् १९७९ को मुस्लिम क्रान्तिपछि इरानमा महिलालाई खेलकुद हेर्न प्रतिबन्ध लगाइएको छ। रंगशालामा खेल हेर्न जान नदिनुको एउटा कारण महिलाले पुरुषबाट अश्लील शब्द नसुनून् भन्ने रहेको बताइन्छ।
महिलाले रंगशालामा गई वर्ल्डकप हेर्न नपाउने विषयमा निर्देशक जाफर पनाहीले सन् २००६ मा फिल्म ‘अफसाइट’ बनाए। फिल्म पनाहीकी आफ्नै छोरीबाट प्रेरित भएर बनाइएको बताइन्छ। फिल्म इरानमा प्रदर्शनमा रोक लगाइयो।
अघिल्ला सिजनमा जस्तै यस वर्ष पनि वर्ल्डकपमा सहभागी हुन गएका राष्ट्रिय टिमको स्वागतमा इरानी सहरमा ठूलाठूला स्वागत ब्यानर टाँसियो। उक्त ब्यानरमा पुरुष मात्रै लहरै ट्रफी बोकेर उभिएका छन्। स्थानीय एक पत्रिकाले ‘महिलाबिना हामी पराजित हुन्छौं’ भन्दै एउटा समाचार छापेपछि ब्यानरमा लैंगिक विभेद भएको भन्दै व्यापक विरोध भयो। त्यसपछि नयाँ ब्यानर बनाई ट्रफी हातमा लिएकी महिलालाई पनि लाइनमा उभ्याइयो।
साउदी अरबमा महिलालाई वर्ल्डकप हेर्न मात्रै होइन, जिमखाना जान र कुनै पनि खेलकुदमा सहभागी हुन अनुमति थिएन। केही महिना अघिदेखि मात्रै साउदी महिलालाई रंगशालामा जाने अनुमति दिइयो। तर, उनीहरूले पुलिसको निगरानीमा मात्रै खेल हेर्न पाए। यसपटक भने पहिलोपटक साउदी महिला बुर्का लगाएरै खेल हेर्न मस्कोस्थित रंगशाला पुगे।
उता रसियन महिला मनमौजी फेसनमा, प्याराफिटमा रमाइरहँदा अरबी महिला भने बुर्का लगाएर बसिरहे। वक्षस्थल मात्रै छोपिने कपडा लगाएर रसियन महिला गाए, नाचे, रमाए। तर, अरबी महिला भने झन्डाले मुख छोपेरै बसिरहे।
रसियासँग साउदी अरब ५–० गोलको अन्तरले पराजित भयो। प्रत्येक गोलसँगै रसियन दर्शक रमाए। अरबका पुरुष समर्थक दुःखी भए। तर, साउदी महिला भने आफ्नो देशले लगातार पाँच गोल खाँदा पनि खासै दुःखी देखिएनन्। उनीहरू आफ्नो देशले हारेकोमा दुःखी हुनुभन्दा पनि जीवनमै पहिलोपटक फुटबल हेर्न रंगशाला जान पाउँदाको मजा लिइरहेका थिए। ती साउदी महिलाले भने, ‘हारेर के भो र, हामीले खेल त हेर्न पायौं।’
- एजेन्सीको सहयोगमा