आईसीटी अवार्ड-२०१८ हुँदै
काठमाडौं : लिभिङ विथ आईसीटीको आयोजनामा ‘आईसीटी अवार्ड-२०१८’ हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी भदौ १ गते तेस्रो संस्करणको आईसीटी अवार्ड हुने जानकारी दिएको हो । अवार्डमा आईसीटी क्षेत्रका विभिन्न सात विधा समेटिएको छ ।
यसअन्तर्गत बेस्ट स्टार्टअप आईसीटी अवार्ड, बेस्ट प्रडक्ट आईसीटी अवार्ड, आईसीटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्डसहित नयाँ विधाका रूपमा डिजिटल गभर्नेन्स अवार्ड, आईसीटी आन्ट्रप्रेनियर अवार्ड र आईसीटी मिडिया अवार्ड समावेश गरिएको जानकारी आयोजकले दिएको छ ।
स्टार्टअप कम्पनी अवार्ड तीन वर्ष भित्रका आईटी कम्पनीले प्रतिस्पर्धा गर्ने अवार्ड हो भने आईसीटी प्रडक्ट अवार्डमा एक वर्षभित्रका आईटी प्रडक्टको प्रतिस्पर्धा गराइनेछ । यसैगरी पायोनियर अवार्डमा १५ वर्षभन्दा बढी समय आईटी क्षेत्रमा योगदान दिने प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिन्छ ।
त्यस्तै आईसीटी डायस्पोरा अवार्ड विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई घोषणा गरिनेछ । यस संस्करणमा थपिएको आईसीटी आन्ट्रप्रेनियर अवार्डअन्तर्गत कम्तीमा पाँच वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका एक उद्यमीलाई सम्मान दिइनेछ ।
आईसीटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान गरिन्छ । आईसीटी मिडिया अवार्डमा कम्तीमा तीन वर्ष यस विधामा पत्रकारिता गरिरहेका पत्रकारले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
अवार्डमा सहभागी हुन केही विधामा आफैंले तथा केही विधामा अरूले नोमिनेसन गर्नुपर्ने हुन्छ । अनलाइन रजिस्ट्रेसन असार १ देखि खुला हुनेछ । असार १६ सम्म खुला रहने अनलाइन रजिस्ट्रेसनमा जोकोहीले निश्चित मापदण्ड प्ूरा गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
अनलाइन रजिस्ट्रेसनका लागि आधिकारिक वेबसाइट र एन्ड्रोइड मोबाइल एप्लिकेसन प्रयोग गर्नु पर्नेछ । आईसीटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले यस संस्करणको अवार्डलाई भव्य र विश्वसनीय बनाउने प्रयासमा रहेको बताए । ‘यस वर्षको संस्करणमा तीन विधा थप गर्दै प्रविधिको क्षेत्रका सबै व्यक्ति तथा संस्थालाई समेट्ने प्रयास गरिएको छ’, उनले भने ।
त्यस्तै प्राप्त आवेदनलाई वेबसाइटमा सार्वजनिक गरिएको छनोट प्रक्रियाअन्तर्गत विभिन्न चरणका मिटिङ, अन्तर्वार्ता तथा अनलाइन भोटिङ सञ्चालन गरिने निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।