मदरसाको सफेद पर्दा
बिहान साढे ८ नबज्दै ताजमिन खातुनलाई हतार भइसकेको हुन्छ। सवा ९ बजे स्कुल नपुगे प्रार्थना छुट्छ। उनी हतारहतार स्कुल ड्रेस लगाउँछिन्। स्कर्ट र सर्ट होइन। अरूको भन्दा फरक छ उनको स्कुले पोसाक— टाउको ढाक्ने सेतो हिजाब (पर्दा) र कुर्ता सुरुवाल। पोसाकमात्र होइन स्कुल पनि फरक छ उनको, जसलाई मदरसा भनिन्छ। काठमाडौंको बागबजार छिर्ने मुखमै छ मस्जिद। त्यही मस्जिदको भुइँतलामै छ ताजमिनको मदरसा।
हतारहतार कक्षाकोठा पुगेकी उनी किताब भरिएको ब्याग बेन्चमा फाल्छिन् र स्कुलको मैदानतिर कुद्छिन्। स्कुलको घन्टी बजेसँगै सुरु हुन्छ उनको प्रार्थना। प्रार्थना पनि फरक छ, उर्दु भाषामा। प्रार्थनाले भन्छ, ‘हे अल्लाह ! मलाई असल चरित्र भएको र मानिसको सेवा गर्ने गुणयुक्त मानव बनाउनुस्।’
प्रार्थनापछि सुरु हुन्छ राष्ट्रिय गान। शुक्रबार र शनिबारबाहेक हरेक दिन उनको कक्षा यसरी नै सुरु हुन्छ। कक्षा पनि फरक छन् उनको। छेवैको कोठाबाट भाइबहिनीले अंग्र्रेजीमा पढेको आवाज सुनिन्छ। यता ताजमिन भने उर्दु भाषाको सानो किताब पल्टाउँछिन्। यसरी उर्दुमै पढेर उनी ५ कक्षामा पुगिसकेकी छन्।
१२ वर्ष लागेकी ताजमिन परिवारकी कान्छी सदस्य हुन्। अहिलेदेखि नै दिनको पाँचपटक नमाज पढ्छिन् उनी। बिहान ५ बजे फजर नमाज, दिउँसो १ र ४ बजे क्रमशः जोहर र असर नमाज, त्यसपछि बेलुकी ६ बजे अग्ग्रिब नमाज र ८ बजे एसा नमाज पनि। रमजानको समयमा राति २ बजे उठेर ‘तहजुब’ र ‘सलातोस्बी’ नमाज पनि पढ्छिन्। ताजमिन भन्छिन्, ‘हामीले सत्रवटा सु–र कण्ठ पार्नुपर्छ। यी सबै सु–रमा अल्लाहमियासँग प्रार्थना गरिन्छ।’
‘नमाज पढेर अल्लाहतालालाई दुवा (प्रार्थना) गर्छु, यसो गर्दा हामी मृत्युपछि जन्नतमा (स्वर्गमा) पुग्नेछौं’, ताजमिनको बुझाइ हो यो।
सधैं बुर्का र कुर्ता सुरुवालमा सजिन्छिन् ताजमिन। ‘बुवाआमाले हिजाब र कुर्ता सुरुवालबाहेक अरू लुगा किनिदिनु हुन्न’, मसिनो स्वरमा भन्छिन् उनी। त्यसो त उनलाई पाइन्ट र टिसर्ट लगाउने इच्छा पनि छैन। ‘अल्लाहमियाले हामीलाई यो सब लगाउने इजाजत दिनु हुन्न’, उनी भन्छिन्।
आफ्ना अनुभव सुनाएर ताजमिन हाँस्दै कक्षाकोठाको भित्तातिर हेर्छिन् र आफ्ना दुई हात मुसार्न थाल्छिन्। एकछिनमै फेरि हतारिँदै बोल्छिन्, ‘कहिलेकाहीँ घुँडा तलसम्म आउने लामो फ्रक भने लगाएकी छु।’
ताजमिनलाई आफू कहीँ टाढा घुम्न गएको याद छैन। बालाजु र गोदावरी भने विद्यालयबाटै घुम्न गइन्। कहिलेकाहीँ बुवाआमासँग बजार जान्छिन्। उनी ६÷७ वर्षको उमेरदेखि नै वर्षको एकपटक आउने रमजानमा व्रत बस्दै आएकी छन्। गएको रमजानमा ताजमिनले तीसै दिन व्रत बसिन्। पढ्न निकै मन पराउने उनी ‘तराना’ (मुस्लिम गाना) निकै मीठो गाउँछिन्। उनका बुवा मासु पसलमा काम गर्छन्, आमा घर सम्हाल्छिन्।
हिजाबमा ढाकिएर उर्दु पढिरहेकी ताजमिनको सपना भने डाक्टर बन्ने छ। ‘हाम्रा मुस्लिम दिदीहरू अस्पतालमा उपचार गराउन झिजक मान्छन्, म डाक्टर बनेपछि उहाँहरूलाई उपचार गराउन अप्ठेरो हुनेछैन’, उनी भन्छिन्।
हिजाबमा ढाकिएर उर्दु पढिरहेकी ताजमिनको सपना छ डाक्टर बन्ने। ‘हाम्रा मुस्लिम दिदीहरू अस्पतालमा उपचार गराउन झिजक मान्छन्, म डाक्टर बनेपछि उहाँहरूलाई उपचार गराउन अप्ठेरो हुँदैन’, ताजमिन भन्छिन्।
मदरसाले ताजमिनलाई इस्लाम धर्म, संस्कृति र आधुनिक दुवै शिक्षा दिएको छ। मदरसा स्लामिया स्कुलमा ८ कक्षासम्म पढेपछि उनी कन्या मन्दिर या बर्नहार्ट स्कुलमा भर्ना हुनेछिन्।
छोरी बिग्रिने डर
नेपाली जामे मस्जिदका अध्यक्ष मोहम्मद समिम आधुनिक युगमा मुस्लिम बालिका पनि शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नहुने बताउँछन्। वर्षौंदेखि मदरसा सम्हाल्दै आएका उनी भन्छन्, ‘मुस्लिम अभिभावकले केटा र केटीलाई एकै ठाउँमा नपढाउन सल्लाह दिन्छन्। किनकि उनीहरूलाई आफ्नो सन्तान बिग्रने डर छ। तर, आधुनिक युगमा यो सम्भव छैन।’ मोहम्मदका अनुसार उच्च शिक्षाका लागि छोरीहरूलाई बाहिर पठाउन नहुने सोच पनि छ। तर, उनले दिनहुँ भोग्ने समस्या फरक छन्। एक दिन बिहानै उनको मोबाइलको घन्टी बज्यो। एक छात्रा स्कुल बस नचढी आफ्नो केटा साथीसँग घुम्न गएको खबर आयो। उक्त घटनाप्रति चिन्तित हुँदै महम्मद भन्छन्, ‘इस्लाम धर्मले आफ्नो इज्जत र शरीर लुकाइराख्न छोरीहरूलाई आदेश दिन्छ, मान्नु नमान्नु आआफ्नो इच्छा हो।’
मदरसामा पढाउने शिक्षिका आबेदा बानू पनि इस्लामको यो नियम पालना गर्नुपर्नेमा जोड दिन्छिन्। ‘इस्लाम धर्ममा महिलाका लागि एउटा लक्ष्मणरेखा छ’, उनी भन्छिन्। त्यो नियम उल्लंघन गर्न नहुने उनको ठम्याइ छ। भन्छिन्, ‘हाम्रा छोरीहरू पर्दामा सुरक्षित छन्।’
उनलाई पनि मदरसाले ड्रेस तोकेको छ, सेतो पर्दा र हल्का गुलाबी कुर्ता सुरुवाल। उनले त्यो पोसाकको परिपालन राम्रैसँग गरेकी छन्।
मदरसा स्लामिया स्कुल
मदरसा हरेक मुस्लिम समुदायको पाठशाला हो। जस्तै अंग्रेजीमा स्कुल, नेपालीमा विद्यालय भनेझैँ इस्लाममा मदरसा। यहाँ मुस्लिम समुदायका विद्यार्थीले आफ्नो भाषा, धर्म र इतिहाससम्बन्धी अध्ययन गर्छन्। यसलाई धार्मिक विद्यालय पनि भनिन्छ। तर, मुस्लिम बालबच्चाहरू आधुनिक शिक्षाबाट वञ्चित हुन थालेपछि अचेल अंग्रेजी, नेपाली, हिसाब, विज्ञान र सामाजिक शिक्षासम्बन्धी किताब पनि समावेश गरिएको छ।
काठमाडौं घन्टाघर छेउको मदरसा स्लामिया स्कुल ७५ वर्ष पुरानो हो। विद्यार्थीबाट उठाइएको केही रकम र बाँकी सबै दान र चन्दाबाट मदरसा निरन्तर सञ्चालन भइरहेको छ। मदरसामा मुस्लिममात्र होइन, गैरमुस्लिम पनि पढ्न सक्छन्।
विसं १९९६ मा मौलाना हयात हुसेन नदविले इस्लाम धर्म पढाउने उद्देश्यले मदरसा स्थापना गर्ने निर्णय गरे। राणाशासनमा यो काम त्यति सजिलो थिएन। नेपाली विषय पनि समावेश गर्ने सम्झौतासहित उनले मदरसा खोले। यसरी सुरु भयो, मदरसाको औपचारिक सुरुआत।
जामे मस्जिदमा प्रत्येक शुक्रबार हुने भेलाबाट उठ्ने चन्दाबाट मदरसाको खर्च जुट्छ। नेपाली जामे मस्जिद सञ्चालक समितिबाट पनि मासिक एक लाख रुपैयाँ विद्यालयले पाउँदै आएको छ।
दरबार हाइस्कुलपछिको तेस्रो र सबैभन्दा पुरानो स्कुल हो यो मदरसा। अहिले यो विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन्, तिनमा छात्राको संख्या बढी छ। पहिलेदेखि नै औपचारिक रूपमा दर्ता गरेरै सञ्चालन भए पनि विधान दर्ता नहुँदा ९ र १० कक्षाको परीक्षा अन्य स्कुलबाट दिलाउँदै आएको छ। मदरसामा प्रायः सबै महिला शिक्षिका छन्। उर्दु र अरबी पढाउने मात्र पुरुष शिक्षक छन्। भर्नाबापत विद्यार्थीसँग न्यूनतम शुल्क लिँदै आएको यस विद्यालयमा प्रायः गरिब मुस्लिम परिवारका बच्चाहरू पढ्छन्। छात्रलाई सेतो कमिज र कलेजी रङको पाइन्ट अनि छात्रालाई टाउकोमा लगाउने हिजाब र कुर्ता सुरुवाल अनिवार्य पोसाक हो।
घन्टाघर नजिकको जामे मस्जिदमा शुक्रबार नमाज पढ्नेको ठूलो भीड लाग्छ। दिउँसो १ बज्नै लाग्दा तीनतले जामे मस्जिद खचाखच भरिन्छ। मस्जिदको भ¥याङसमेत नमाज पढ्न आउनेको भीडले झपक्क छोपिन्छ। मस्जिदअगाडि त्यो दिन माग्नेहरूको संख्या पनि बाक्लै हुन्छ। दिउँसो ठीक १ बजे प्रार्थना सुरु हुन्छ। अनि सडकसम्म सुनिन्छ, ‘अल्लाहु अक्बर...।’ करिब आधा घन्टासम्म नमाज पढेर अल्लाहको प्रार्थना गरिन्छ।। फरक त के भने यो समयमा ताजमिनजस्ता कुनै पनि मुस्लिम महिला मस्जिदभित्र देखा पर्दैनन्।