चार वर्षमा २८ प्रतिशत काम

चार वर्षमा २८ प्रतिशत काम

दमौली : तनहुँको भीमाद–ऋषिङ जोड्ने श्रृंगपथमा अहिले ओटासिल सडकमा निर्वाध यातायातका साधन चल्नुपर्ने हो । ३ वर्षअघि नै ओटासिल हुनुपर्ने सडकको काम अहिलेसम्म पनि नहुँदा तनहुँसहित पाल्पा, स्याङ्जा र नवलपुरसम्मका लागि मुख्य प्रस्थान बिन्दु ‘लाइफ लाइन’कै रुपमा रहेको सडक हिलाम्य भएर पैदल हिँड्नसमेत नमिल्ने भएको छ ।

बाटो चाँडै स्तरोन्नति हुने आशामा पाल्पाबाट काठमाडौं, नवलपुरको डेढगाउँ, पाल्पाको रामपुरसम्म नियमित बस सेवा सुरु भए । तनहुँको दक्षिणी भाग पहिल्यैदेखि यही मार्गको भरमा थियो । समयमा काम नहुँदा प्रभावित हुने यात्रुको संख्या बढ्दो छ । स्थानीय श्रृंग यातायात व्यवसायी समितिका कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले वर्षायाम आउनासाथ हिलाम्य भएर सडकमा हिँड्नै नसकिने भएकाले बिरामी र नियमित आवतजावत गर्ने ठूलो संख्याका यात्रु अलपत्र पर्ने गरेको बताए । ‘बाटो सुध्रियो भनेर धेरै समितिले गाडी थपे तर स्तर सुध्रिन नसक्दा सबै समस्यामा छन्’, उनले भने ।

जिल्ला प्राविधिक कार्यालयले सुरुमा ग्राभेलका लागि २०७० सालमा स्वच्छन्द मना जेभीलाई २ वर्षे ठेक्का दिएको थियो । २ वर्षमा काम नसकिँदै सोही कम्पनीलाई सडक ओटासिल गर्न अर्को ठेक्का दिइयो । भीमादबाट ऋषिङसम्मको १७ किलोमिटर सडकमा ओटासिलको जिम्मा पाएको कम्पनीले थपिएको काम पनि समयमा सकेन । योजनाअनुसार ग्राभेल र ओटासिल गरी २०७४ सालमा सडक पूर्ण रुपमा सञ्चालनमा आउनुपर्ने हो । अहिलेसम्म ओटासिल त परको कुरा भयो वर्षायाममा सामान्य आवतजावतसमेत गर्न नसक्ने गरी सडक बिग्रेको छ ।

कम्पनीले तोकेको अन्तिम समय २०७४ जेठसम्म सडकको २० प्रतिशत काम पनि नभएपछि ६ महिनाका लागि समय माग गरियो । थपिएको ६ महिनामा पनि केही काम नभएपछि फेरि अर्को ६ महिना समय थपिएको थियो । ‘दुबै समयमा कम्पनीको काम सन्तोषजनक नभएकाले चालु आर्थिक वर्षको असार मसान्तमा काम सकिने सम्भावना छैन’, जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर राम पराजुली भन्छन्, ‘काम सक्ने त आशै छैन कम्तीमा अबको एक वर्षमा सके धेरै ठूलो उपलब्धि हुन्थ्यो ।’ हालसम्म २८ प्रतिशतमात्रै काम भएको छ ।
२८ लाख जरिवाना

नौ करोड ८५ लाखमा ठेक्का लिएको कम्पनीले समयमा काम नसकेपछि आठ महिनायता दैनिक झण्डै १९ हजारको दरले हर्जाना तिरिरहेको छ । यस आधारमा हालसम्म झन्डै २८ लाख जरिवाना कम्पनीको भागमा छ । जरिवाना बढिरहँदा कम्पनी घाटामा गइरहेको छ भने चार जिल्लाको यातायातको मेरुदण्ड श्रृंगपथमा हरेक वर्षायाममा यात्रुले सास्ती भोगीरहेका छन् । कम्पनीले जिम्मा लिएर नसकेका अरु पनि धेरै निर्माण कार्य आफ्नो जानकारीमा रहेको इन्जिनियर पराजुलीको भनाइ छ ।

ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रमा सडक कालोपत्रे थाले पनि ठेकेदारले थालेको भागमा काम नसकिएकाले पुरै गाउँपालिकाको सडकस्तर उन्नतिको काम रोकिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ भन्छन्, ‘ठेकेदारले नसक्ने हो भने सडकको जिम्मा हामी लिन तयार छौं ।’ ठेकेदारकै कारण गाउँपालिकाको काम प्रभावित भएको उनले बताए । सडकको अनुगमनका लागि गएका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले समयमा काम नहुनु दुखद् रहेको बताउँछन् । ‘काम चाँडो सक्ने वातावरण बनाउन हामी क्रियाशील छौं’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सडकको काम नभएको गुनासोपछि आफूले निर्माण कम्पनीलाई ताकेता गरेको बताए । ‘तत्कालै काम अघि बढाउँछुु भनेका छन् तर स्थानीयस्तरमा काम भएन भने पछि प्राविधिक कार्यालयलाई समेत समन्वय गर्न भनेका छौं’, उनले भने । ठेकेदार अधिकारीले धेरै ठाउँमा काम भएकाले समयमा सक्न गाह्रो भएको तर अब काम थाल्ने बताउने गरेका छन् । छिटो काम सक्न ठेकेदार कम्पनी साँच्चीकै जिम्मेवार हुनुपर्ने इन्जिनियर पराजुली बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.