तातोपानी र रसुवागढीको मितेरी पुलको पुनर्निर्माणमा तिब्रता दिइने सहमति
चिनियाँ व्यापारीलाई ओलीको नेपालमा लगानी गर्न आह्वान
काठमाडौं : तातोपानी र रसुवागढीको मितेरी पुलको पुनर्निर्माणमा तिब्रता दिने विषयमा दुवै पक्षका सहमत भएका छन् । चीन र नेपालीबीच तातोपानी र रसुवागढीको मितेरी पुलको सम्बन्धमा भएको दुईपक्षिय सम्झौता अनुसार पुनर्निर्माणमा तिब्रता दिने सहमति भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा भ्रमणमा क्रममा भएको स्वशासित क्षेत्र तिब्बतका अध्यक्ष क्यु जालासँगको वार्तामा तातोपानी र रसुवागढी पुल पुनर्निर्माणलाई तिव्रता दिने सहमति भएको छ ।
नेपालको उच्च हिमाली भेगमा कृषिको विकासमा समन्वय गर्ने, जडीबुडी खेती, औषधीजन्य खेतीमा सहकार्य गर्ने विषयमा दुईपक्षिय सहमति भएको छ । नेपाल र तिब्बतबीच दुईपक्षिय संयन्त्र बनाएर व्यापार, पर्यटन र भंसारलाई रेगुलेट गर्ने विषयमा पनि तिब्बत र नेपाल सहमत भएका छन् ।
नेपाली महावाणिज्यदुतवास ल्हासा तिब्बतले जारीको प्रेस विज्ञप्तिमा रुसुवागढी– केरुङ नाका प्रभावकारी सञ्चालन गर्ने विषयमा सहमति भएको उल्लेख गरिएको छ । यस्तै सीमापार व्यापार आदानप्रदानमा सहजीकरण र उक्त क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार गर्न समेत दुवै पक्ष गम्भीर देखिएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाली लगानीका लागि चिनियाँ लगानीकर्तालाई आह्वान गरेका छन् । उनले उर्जा, सडक, रेल्वे, औद्योगिक ग्राम, चीन–नेपाल सांस्कृतिक मैत्री ग्राम निर्माण आह्वान गरेका छन् ।
यसैबीच राससका अनुसार चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली महावाणिज्यदूतावास ल्हासाले आयोजना गरेको रात्रिभोजमा सरिक भएका छन् । नेपाली नेपाली वाणिज्यदूत गोविन्दबहादुर कार्कीले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल र ल्हासामा रहेका नेपालीको समेत सहभागिता थियो । रात्रिभोजमा प्रधानमन्त्री ओली बसेको होटल सांग्रिलामा आयोजना गरिएको थियो ।
रात्री भोजको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सो अवसरमा नेपाली समुदायसँग संक्षिप्त छलफल गरे । प्रधानमन्त्री ओलीका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका बारेमा प्रकाश पारेका थिए । तिब्बत जनसरकारका उपमन्त्री लिउ झाङले नेपाल–चीन सम्बन्धबारे प्रकाश पर्दै आगामी दिन सम्बन्धलाई थप मित्रवत र प्रगाढ बनाउँदै लैजाने वचनबद्धता प्रकट गरे ।
कृषि परियोजना अवलोकन
प्रधानमन्त्री ओलीलगायतको नेपाली प्रतिनिधिमण्डलले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को शनिबार अवलोकन गरेका छन् । तिब्बत जनसरकारले तिब्बतमा आधुनिक कृषि प्रणाली अपनाउन ‘पाइलट जोन’ बनाएको हो । कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउने र धेरै भन्दा धेरैलाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ तिब्बत जनसरकारले काम गरिरहेको छ ।
यसैगरी, प्रधानमन्त्री ओलीले ‘फोर सिजन ह्याप्पी भिलेज’ पुगेर त्यस गाउँका बारेमा पनि जानकारी दिएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीले स्थापना गरेको सो एकीकृत गाउँ पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।
पोताला दरबार र जोखान मन्दिरको भ्रमण
नेपाली प्रतिनिधिमण्डलले पोताला दरबार र जोखान मन्दिरको भ्रमण गरेको थियो । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका नेपाली प्रतिनिधि भ्रमणमा सहभागी थिए ।
विश्व सम्पदा सूचीमा सन १९९४ मा सूचीकृत पोताला दरबार राजा स्रङचङ गम्पोले एक हजार ३०० वर्ष पहिले निर्माण गरेका थिए । यस्तै, विश्व सम्पदा सूचीमा रहेको जोखान मन्दिर तिब्बतको प्रमुख आर्कषण हो । चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ ।