पहिलो हाफः स्विडेनले अग्रता लिएपछि साविक विजेता जर्मनी संकटमा
काठमाडौँः साविक विजेता जर्मनी विश्वकपको समूह चरणको दोस्रो खेलमा पनि पछि परेको छ । स्विडेनविरुद्धको पहिलो हाफमा गोल खाएपछि सन् २०१४ को विश्व विजेता संकटमा परेको हो ।
दोस्रो हाफमा उसले स्विडेनविरुद्ध बराबरी होइन जित नै दर्ता गर्नुपर्ने छ । स्विडेनका लागि वला टोइभोनेनले काउन्टर एट्याकमा ३२ औँ मिनेटमा गोल गर्दै सनसनीपूर्ण अग्रता दिलाउन सफल भए ।
खेलको सुरुबाटै जर्मनीले दबाबमा राखे पनि पाएको केही मौकालाई सदुपयोग गर्दै स्विडेनले जर्मनीको पोस्टमा चार्ज गरिहेको छ। । त्यही क्रममा भिक्टोर क्लाएस्सोनको पासमा टोइभोननले ३२ औँ मिनेटमा गोल गर्न सफल भए ।
स्विडेनले त्यअघि पनि खेल सुरु भएको केकही बेरमै जर्मनीविरुद्ध गोलको गतिलो अवर गुमाएको थियो । जर्मनीले ७२ प्रतिशत बल पोजेसन बनाउन सके पनि गोल गर्न असफल रहेको छ ।
जर्मनीविरुद्ध पहिलो हाफको अन्तिम समयमा स्विडेनका मार्कुस ब्रेगले गरेको हेड बललाई म्यानुअल नुएरले पोस्टको दाहिनेतर्फ कठिन बचाउ गरेका थिए ।
स्विडेनविरुद्धको खेलमा जित दर्ता गराउन नसकेमा अंकबिहीन जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिने छ । जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो ।
मेक्सिकोले दक्षिणकोरियालाई आजै साँझ पराजित गर्दै ६ अंकसहित समूहको शीर्षस्थानमा उक्लिसकेको छ । यस्तोमा स्विडेनले जर्मनीलाई हराउन सकेमा ऊ पनि विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने छ ।
पहिलो खेल गुमाएको जर्मनी र आफ्नो पहिलो र दोस्रो खेल गुमाएको दक्षिण कोरियाले एक अंक पनि जोड्न सकेका छैनन् ।