एसईई नतिजामा झिनो सुधार

एसईई नतिजामा झिनो सुधार

काठमाडौं  : २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएको छ । यस वर्ष साधारण तथा प्राविधिक दुवैतर्फका विद्यार्थीको नतिजा एकै साथ प्रकाशित गरिएको छ ।

विगतका वर्षहरूमा पर्याप्त तयारी नपुग्दा साधारण तर्फका नतिजा सार्वजनिक भएको कम्तीमा एक सातापछि मात्रै प्राविधिक तर्फका विद्यार्थीको नतिजा सार्वजनिक हुँदै आएको थियो ।

नतिजालाई विगतमा जस्तै ग्रेडिङ प्रणालीबाट नौ तहमा वर्गीकरण गरेर सार्वजनिक गरिएको छ । विषयगत रूपमा ग्रेड छुट्टयाएर नतिजा सार्वजनिक गरिएका कारण विद्यार्थीको प्राप्तांकलाई ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मा सार्वजनिक गरिएको छ ।

विद्यार्थीको प्राप्तांकलाई अधिकतम जीपीए चार तथा न्यूनतम जिरो दशमलव ८० दिइएको छ । तथ्यांक विश्लेषण गर्दा गत वर्षको तुलनामा यस वर्षको नतिजामा केही सुधार आएको छ ।

यसपटक साधारणतर्फ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) तीन दशमलव ६५ देखि चारसम्म ल्याउने विद्यार्थी १४ हजार दुइ सय ३४ जना छन्, जसमा छात्रको संख्या आठ हजार ७० र छात्राको संख्या ६ हजार एक सय ६१ रहेको छ ।

यत्ति नै प्राप्तांक ल्याउने विद्यार्थीको संख्या गत वर्ष १२ हजार दुई सय ८४ मात्र थियो । जीपीए तीन दशमलव २५ देखि तीन दशमलव ६० ल्याउने विद्यार्थीको संख्या ४६ हजार एक सय ३० जना छन्, जसमा छात्रको संख्या २५ हजार नौ सय ४७ र छात्राको संख्या २० हजार एक सय ८३ जना थियो । गत वर्षको नतिजामा यो समूहका विद्यार्थी संख्या

४२ हजार ४ सय २७ थियो ।

जीपीए दुई दशमलव ८५ देखि तीन दशमलव २० ल्याउने विद्यार्थी ४९ हजार ३७ जना छन् । जसमा छात्रको संख्या २७ हजार ५ सय ५२ र छात्राको संख्या २१ हजार चार सय ८५ छन् । गत वर्ष यही समूहको जीपीए ल्याउने विद्यार्थी संख्या ५० हजार ६ सय ४६ थियो ।

जीपीए दुई दशमलव ४५ देखि दुई दशमलव ८० सम्म ल्याउने विद्यार्थी संख्या ७० हजार ५ सय १२ जना छन्, जसमा छात्रको संख्या ३६ हजार नौ सय ४० र छात्राको संख्या ३३ हजार ५ सय ७२ जना छन् । गत वर्ष यही समूहको नतिजा ल्याउने विद्यार्थी ६१ हजार नौ सय ५५ थियो ।

यस वर्ष जीपीए दुई दशमलव जिरो पाँचदेखि दुई दशमलव ४० ल्याउने विद्यार्थी ६१ हजार ८ सय ७० छन्, जसमा छात्रको संख्या २८ हजार नौ सय र छात्राको संख्या ३२ हजार नौ सय ७० छ । गत वर्ष यत्ति नै जीपीए ९१ हजार तीन सय १४ जना विद्यार्थीले ल्याएका थिए ।

जीपीए एक दशमलव ६५ देखि दुईसम्म ल्याउने विद्यार्थी एक लाख एक हजार ४३ छन्, जसमा छात्रको संख्या ४४ हजार ५ सय ५० र छात्राको संख्या ५६ हजार चार सय ९३ छन् । गत वर्ष यही समूहको नतिजा ल्याउने विद्यार्थी संख्या एक लाख ८ हजार चार सय ६४ थियो ।

यस वर्ष जीपीए एक दशमलव दुई पाँचदेखि एक दशमलव ६० सम्म ल्याउने विद्यार्थी संख्या ३५ हजार ५ सय ८४ छ, जसमा छात्रको संख्या १५ हजार दुई सय ६४ र छात्राको २० हजार तीन सय २० छ । गत वर्ष यही समूहको नतिजा ल्याउने विद्यार्थी संख्या ६४ हजार ५ सय ७७ थियो ।

यस वर्ष जीपीए जिरो दशमलव ८५ देखि एक दशमलव दुई जिरोसम्म ल्याउने विद्यार्थी संख्या ५८ हजार ६ सय ८८ छ, जसमा छात्रको संख्या २७ हजार एक सय ९७ र र छात्राको संख्या ३१ हजार ४ सय ९१ छ । गत वर्ष यही समूहको नतिजा ल्याउने विद्यार्थी संख्या ११ हजार दुई सय ८५ मात्र थियो ।

ग्रेडिङ प्रणालीअनुसार सबैभन्दा तल्लो स्तर मानिने जीपीए जिरोदेखि जिरो दशमलव ८० सम्म ल्याउने विद्यार्थी यसपटक शून्य रहे । गत वर्ष यो समूहका विद्यार्थी संख्या १५ जना थियो । यस वर्ष प्राविधिकतर्फ आठ हजार नौ सय ५ जना परीक्षार्थी सहभागी थिए । उनीहरूको नतिजा पनि नौ तहमै वर्गीकरण गरेर ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिएको छ ।

गत चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षाका लागि नियमित तथा एक्जाम्टेड समूहको साधारणतर्फ चार लाख ७६ हजार ८ सय ५२ जना र प्राविधिक धार तर्फ ८ हजार ७ सय ३४ जना गरी चार लाख ८५ हजार ५ सय ८६ जनाले परीक्षा फाराम भरेका थिए । तीमध्ये २१ हजार ८ सय ९७ जना परीक्षामा अनुपस्थित रहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार परीक्षाको मर्यादाविपरीत काम गरेका नौ जना परीक्षार्थीको सबै विषय र एघार जना परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिएको छ ।

सी ग्रेडसम्म ल्याउनेलाई पुरक परीक्षाको अवसर

सैद्धान्तिक विषयतर्फ सी, डी प्लस, डि र ई ग्रेड ल्याउने परीक्षार्थीले जति विषयमा सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको छ, त्यस्ता विषयमध्ये विद्यार्थीले चाहेको विषयमा ग्रेडवृद्धि (पूरक) सम्बन्धी परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । यस्तो परीक्षा आगामी साउन २३ गते सञ्चालन गरिने पनिकाले जनाएको छ ।

कुनै परीक्षार्थीले आफ्नो नतिजामा चित्त नबुझेमा प्रति विषय पाँच सय रूपैंया तिरेर पुनर्योग गर्न पाउने व्यवस्था पनि पनिकाले गरेको छ ।

नतिजा पाँच घण्टा ढिलो

नतिजा प्रकाशन सम्बन्धी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले दिउँसो तीन बजे बोर्ड बैठक डाकेको भए पनि बेलुका आठ बजे मात्र नतिजा प्रकाशित गरिएको थियो ।

तीन बजे नै बैठकमा उपस्थित भएका शिक्षा मन्त्रालयका सचिव, परीक्षा बोर्डका अध्यक्ष, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक लगायतका सदस्यहरू झण्डै चार घण्टा नतिजालाई सफ्टवयरमा इन्ट्री गर्ने क्रममा कठिनाइ भएपछि गफ मात्र गरेर बसेका थिए ।

विगतमा लामो अनुभव भएका प्राविधिक शाखाका कर्मचारी बढुवा भएर अन्यत्रै सरुवा भएको र हाल नयाँ आएका प्राविधिकमा पनिकाको कामको अनुभव नभएका कारण प्राविधिक कठिनाइ आएको परीक्षा नियन्त्रक रेग्मीले बताए ।

‘घण्टौं प्रयास गर्दा पनि प्राविधिक त्रुटि सुधार्न नसकिएपछि आज नतिजा नै सार्वजनिक गर्न सकिँदैन कि जस्तो लागेको थियो’, रेग्मीले भने, ‘तीन घण्टाको प्रयासपछि नतिजा प्रकाशन गर्न सफल भयौं ।’

नयाँ कर्मचारी आएपछि पर्याप्त परीक्षण गरेर मात्र बोर्ड बैठक बोलाउनुपर्ने भन्दै बैठकका सदस्यहरू नै असन्तुष्ट भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.