कीर्तिमानी आरोहीलाई सगरमाथाको चिन्ता
काठमाडौँ : ‘म रेकर्ड राख्न भनेर सगरमाथाको चुचुरो गएको हैन, मेरो काम नै पर्वतारोहण पथप्रदर्शन हो, मलाई सगरमाथा जाँदा आफ्नै घरगाउँ अनि परिवार भेट्न गएजस्तो लाग्छ,’ यो भनाइ हो, विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पाको।
‘कतिपटक शिखरमा पुगियो मैले गनेको छैन, तर चढ्दाचढ्दै २२ पटक पुग्यो। साथीभाइले रेकर्ड राखिदिएका छन्, यसैमा त खुशी लाग्छ’, शेर्पाको अनुहारमा नयाँ उत्साह देखिन्छ।
मान्छेहरू कोही खुशीका लागि जान्छन्, कोही प्रेरणाका लागि त कोही सौख पूरा गर्न चुचुरोको यात्रा तय गर्छन्। यो एउटा स्वभाविक प्रक्रिया नै हो। कामीरिताको भनाइ बढी आत्मविश्वासी लाग्छ।
हुन त आरोही शेर्पा रेकर्ड तोड्छु र अरुलाई उछिन्छु भनेर कहिल्यै भौतारिएनन्। ‘खासमा म अर्काको रेकर्ड तोड्छु भनेर सगरमाथा चढेकै होइन्। जति पटक चढे पनि सधैँ पहिलो पटक नै पुगेजस्तो लाग्छ’, उनी सुनाउँछन्, ‘विश्वको सर्वोच्च चुलीको विशेषता नै त्यस्तै छ। सायद प्रकृतिले हामीलाई स्वर्गको एउटा टुक्रा नै धर्तीमा ल्याइदिएको छ।’
पहिलो पटक सगरमाथा चुलीमा पुग्ने र धेरैचोटी पुग्नेका अनुभव पक्कै पनि फरकफरक हुन्छन्। त्यस्ता अनुभव कामीरिताका पनि छन्। भन्छन्, ‘मलाई त्यस्तै अनुभवले त हरेक वर्ष शिखरको बाटोमा बोलाइरहन्छन्।’
हिउँसँग कामीरिताको राम्रै मित्रता छ, तर पछिल्ला वर्षमा हिउँमा कालो कालो धब्बा देखिन थालेपछि उनी चिन्तित छन्। ‘कञ्चन मेरा हिमालको हिउँमा कसले कालो थोपरिदिएको छ ? मलाई पटक्कै चित्त बुझ्दैन’, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबाट शेर्पा दुःखी हुन्छन्।
यस वर्षको वसन्त ऋतुमा सगरमाथाको २२ औं पटक आरोहण गर्ने सोलुखुम्बु थामेका ४८ वर्षीया कामीरिता शेर्पा अझै तीन÷चार वर्ष सगरमाथाको चुचुरामा पुग्ने सोचमा छन्।
हिमालमा हिउँ घट्दै गएका छन्। बाह्रैमास हिउँ रहने क्षेत्र पछिल्लो दिन कालो पहाडमा परिणत भएको छ। ‘हाम्रा पुर्खाले हाम्रा लागि राखिदिएका हिमाल हामीले हाम्रा छोरानातिका लागि पनि उस्तै राखिदिनुपर्छ, ठूला राष्ट्रले वातावरणमा पारेको प्रभावका कारण हाम्रा हिमालले दुःख पाउनु त भएन नि ! हामीले दुःख पनि भोग्नु भएन नि !’ उनको गुनासो छ।
सन् १९९४ को मे १३ मा उच्च हिमाली क्षेत्रमा भारी बोक्ने भरियाको रूपमा शेर्पा शिखरमा पुगेका थिए। त्यसपछि हरेक वर्ष शेर्पा कहिले भरिया, कहिले सहयोगी त कहिले डोरी टाँग्ने पात्रको रूपमा शिखरमा पुगिरहेकै छन्, सन् २०१५ मा मात्रै गोरखा भूकम्पको धक्काले शेर्पालाई शिखर पुर्याउन सकेन। हिमपहिरो नजिकैबाट देखेका छन्, उनले।
शेर्पा भनेकै हिमालमा खेल्ने जाति भने जस्तो लाग्छ उनलाई। ‘हामीलाई धेरैजसो समय हिमालले चिन्छ, हिमाललाई हामी पनि चिन्छौ, तर प्रकृतिसँग त केही लाग्दो रहेनछ। आँखैअगाडि साथीको शव कुल्चँदै हिँड्नु पनि दुःखको कुरा हुँदोरहेछ’, सन् २०१४ को हिमपहिरो सम्झँदै उनले भने। हिमपहिरोमा परी १४ शेर्पासहित १९ जनाले ज्यान गुमाए त्यस वर्ष।
‘कहिलेकाहीँ सगरमाथा पनि रिसाउँछ कि जस्तो लाग्छ, कहिलेकाहीँ त्यस्तै हुन्छ, यस वर्षको वसन्त ऋतुमा धेरै क्षति हुन पाएन’, उनले भने, ‘कहिले शान्त र विशाल लाग्छ हिमाल।’
सगरमाथामा फोहोर बढेको देख्दा उनको मन दुख्छ। ‘एउटा डम्पिङ साइट जस्तै भएको छ सगरमाथा, अक्सिजनका सिलिन्डर यत्रतत्र भेटिन्छन्, मान्छेलाई सगरमाथाको संरक्षण गर्नुपर्छ भन्ने ज्ञान नभएर त होला ? यस्तो परिस्थितिले हामीलाई कहाँ पुर्याउँछ ? ’ चिन्तित देखिन्छन् शेर्पा।
उनलाई एउटा विषयमा असाध्यै दुःख लाग्छ, ‘चुचुरोमा पुर्याउने हामी शेर्पा, बाटोभरि दुःख कष्ट सहने पनि हामी ? तर हाम्रो नाम लिन धेरैलाई अप्ठ्यारो लाग्छ, मानांै कि आरोहणमा जानेहरू आफै शिखरमा पुगेका हुन्।’
शेर्पाहरूले सहयोग गरेर, उस्तै पर्दा बोकेर शिखर पुर्याएकाहरूको नाम र दाम दुवै छ, दुनियाँमा।
सगरमाथाको नौ पटक सफल आरोहण गरेकी महिला कीर्तिमानी आरोही ल्हाक्पा शेर्पालाई पनि सगरमाथाको चुचुरोमा पुग्नु कुनै अनौठो लाग्दैन। उनका लागि यो नियमित काम नै हो।
उमेरले ४४ काटेकी शेर्पाको जोश समान्य मानिसभन्दा फरक छ। स्थायी घर संखुवासभा–५ भएकी शेर्पा परिवारका साथ अहिले अमेरिकाको न्यूयोर्कमा बस्छिन्। सात समुद्रपारिको सुखसयलले छेक्दैन, उनलाई।
मातृभूमि र प्रकृतिको प्रेमसँग अटुट नाता गाँसिएको छ, उनको। आरोहणको मोहले छोड्दैन, त्यसैले हरेक वर्ष आरोहणको याममा दुई महिना समय निकालेर नेपाल आउँछिन् उनी। सगरमाथा १० पटक चढेर पाकिस्तानको केटु हिमाल चढ्ने योजना छ उनको। तर सगरमाथाको नाममा केही गलत भइरहेकोप्रति भने उनको दुखेसो छ। कोही अनुमति लिएर आरोहण गर्ने, कोही ओरोहण नै नगरी शिखर पुगेको भनेर प्रचार गराउने प्रवृत्ति बढेकोमा , ल्हाक्पा दुखेसो गर्छिन्।
दुबै आरोहीको बुझाइमा सगरमाथामा विगतभन्दा केही बदलिएकै छ, तर आम रूपमा उस्तै छ। यस वर्षको वसन्त ऋतुमा ९० प्रतिशत बढी आरोहण सफल भएको छ।
हिउँ पर्ने मात्रामा भने केही कमी आएको छ। फोहोर बढेको छ। त्यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने देखिन्छ। ‘गोरखा भूकम्प’का कारण खुम्बु आइसफल राम्रो भएको छ। ‘मौसमले साथ दिएरै यसपटक आरोहण अलि राम्रो भयो’, आरोही शेर्पाले भनिन्। सगरमाथामा बढ्दै गएको फोहरले कीर्तिमानी दुवै आरोहीलाई चिन्तित तुल्याएको छ।
शिविर–२ र शिविर–४ मा धेरै फोहोर देखिएको छ। ल्हाक्पालाई मानिसको व्यवहार मन पर्दैन। ‘हाम्रो सम्पदालाई हामी आफैले फोहोर गरेर के गर्न खोजिरहेका छौ ? ’ उनको प्रतिप्रश्न छ।
कामीरितालाई विदेशी नागरिकले धेरै मन पराउँछन्। कोही घर बार जोडांै भन्छन्, कोही मेरोमा काम गरिदिओस् भन्ने चाहन्छन्। ‘कोही मेरो बारेमा लेख्न चाहन्छन् त कोही मलाई सुन्न चाहन्छन्’, उनी भन्छन्, ‘मलाई अझै केही समय यही पेशालाई नै निरन्तरता दिउँजस्तो लाग्छ।’ अल्पाइन एसोसिएसनमा विगत २५ वर्षदेखि अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको रूपमा काम गरेका उनी अहिले मुख्य पथप्रदर्शकको रूपमा जिम्मेवारी पाएर काम गरिरहेका छन्।
आफ्नो २७ वर्षे सगरमाथा आरोहणको जीवनमा अनेकन आरोहअवरोह छिचोल्दै अहिले चर्चाको शिखरमा रहेका कामीरितालाई शेर्पाको संरक्षण नभएकोमा चिन्ता लागेको छ।
सन् १९५३ मा तेञ्जिङ नोर्गे शेपा र विदेशी सर एडमन्ड हिलारीले सगरमाथा चढे। तर, जो चढे पनि शेर्पालाई अगाडि नलगाई चुचुरोमा पुग्न सम्भवै थिएन र अझै हुनेवाला पनि छैन।
अहिले जुनसुकै रेकर्ड कायम गरे पनि शेर्पा बिना कसैले चढेको छैन। आरोहण क्रममा शेर्पाले ओछ्यान बनाउने, ओडाउने, खाने पिलाउनेदेखि बाटो डोर्याउनेसम्मका शेर्पाले गरेको कामको मूल्यांकन कहिलै भएन।
नेपालमा १०÷१२ पटक चढेका आरोही धेरै छन्, तिनलाई राज्यले केही सुविधाको व्यवस्था गर्नुपर्छ। नेपालको पर्यटन चिनाउने शेर्पा नै हुन् तर उनीहरू जहिल्यै छायाँमा पर्छन्। अहिले पनि सगरमाथा आरोणका लागि ट्रेकिङ कम्पनी तीन महिना अघिदेखि शेर्पा खोज्न दौडन्छन्।
कामीरिताले भने, ‘तेञ्जिङ शेर्पा हाम्रा बाजे हुन्, बाजेदेखि नातिको पालासम्म यो पेसामा छौँ, हामी शिक्षाको पहुँचमा नभएर नै यो क्षेत्रमा रह्यौँ, अबका पुस्ताले सगरमाथा चढे पनि एक पटक भन्दा चढ्दैनन् र नाम कमाएपछि अर्कै क्षेत्रमा लाग्नेछन्, त्यसैले शेर्पा संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्छ।’
छिमेकी मुलुक भारतमा एक पटक आरोहण गर्नेलाई सरकारले विशेष भत्ताको व्यवस्था गरेको छ। ‘हाम्रो यहाँ बढीमा २२ पटकदेखि कम्तीमा १० पटक चढेका धेरै शेर्पा आरोही छन्। तिनको भविष्य के हुन्छ ? ’ कामीरिताको प्रश्न छ।
उनी आरोहण क्षेत्रमा संलग्न शेर्पाको संरक्षणमा ध्यान नदिए अबको १० वर्षमा शेर्पा पाउनै गाह्रो हुने देख्छन्। शेर्पालाई राज्य तथा सरकारले जे जति सम्मान गर्नुपर्ने हो, त्यो हुन नसकेकोमा कामीरिता र ल्हाक्पा दुवैको समान बुझाइ छ। रासस