पोल्यान्ड र कोलम्बियालाई जित्नै पर्ने दबाब
मस्को : समूह ‘एच’मा बलियो टोली मानिएका पोल्यान्ड र कोलम्बिया दुवैले आफ्नो पहिलो खेलमा अप्रत्याशित पराजय बेहोरे । पोल्यान्ड सेनेगलसँग तथा कोलम्बिया जापानसँग समान २-१ गोल अन्तरले पराजित हुन पुगे । त्यही पराजयपछि प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्न दुवै टोलीलाई आफ्नो दोस्रो खेलमा जित अत्यावश्यक बनेको छ । यो अवस्थामा पोल्यान्ड र कोलम्बिया आइतबार एकआपसमा प्रतिस्पर्धा गर्दा दुवै टोलीको लक्ष्य जितकै हुनेछ ।
जितका लागि पोल्यान्डका खेलाडीहरू सेनेगलविरुद्धको खेलमा गरेको व्यक्तिगत गल्तीहरूलाई सच्याउने प्रयासमा हुनेछन् । साथै टोलीका लागि पछिल्ला खेलमा गोल गर्न असफल देखिँदै आएका मुख्य स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले पनि गोलको प्रयास गर्नेछन् । कोलम्बियाले पनि अघिल्लो खेलको आफ्नो रणनीतिमा केही परिवर्तन गर्ने नै छ । सम्भवतः प्रभावशाली खेलाडी जेम्स रोड्रिगेज पोल्यान्डसँगको खेलमा पहिलो रोजाइमै मैदानमा उत्रनेछन् ।
विश्वकप फुटबलमा एकअर्काविरुद्ध पहिलोपटक प्रतिस्पर्धा गर्न लाग्दा पोल्यान्ड र कोलम्बिया दुवैको भविष्य यही खेलले निर्धारण गर्न सक्छ । त्यसैले दुवै टोलीले सशक्त प्रदर्शन गर्दा यो प्रतिस्पर्धा रोचक हुने पक्का छ ।