क्षमता २५, कैदी ७८
कुस्मा : २५ जनाका लागि क्षमता भएको पर्वत कारागारमा अहिले ७८ जना कैदी छन् । कारागार प्रमुख (जेलर) मोहनप्रसाद उपाध्यायले उचित बासस्थानको व्यवस्था नहुँदा समझदारी मिलाएर एकै कोठामा धेरै जनालाई राखिएको बताए । कैदीले समस्याबारे पटकपटक कारागार प्रशासनलाई जानकारी गराएका छन् । कारागार प्रशासनले जिल्ला प्रशासन र कारागार विभागलाई पनि जानकारी गराउँदै आएको छ । उपाध्यायले खानेपानी र शौचालय पर्याप्त भए पनि अव्यवस्थित छ । सुत्न, बस्न असहज भइरहेको कैदीको गुनासो छ ।
कारागारमा कैदी बस्ने २ ब्लक छन् । महिला बन्दी गृहको व्यवस्था नभएको पर्वत कारागारमा पुरुष कैदीका लागि निर्माण भएको बन्दीगृहभित्र फरकफरक ब्लक बनाएर राखिँदै आएको छ । ७८ कैदीमध्ये ५ जना महिला छन् । ६२ जना पुरुष कैदी र ११ जना पुरुष थुनुवा हुन् । प्रशासनलाई पटक पटक गुहार्दा पनि समस्या सुनुवाइ नभएको उपाध्यायले बताए ।
महिला बन्दीगृह निर्माणको चरणमा रहे पनि झन्डै ६ वर्ष बितिसक्दासम्म आर्थिक अभावमा निर्माण पुरा हुन सकेको छैन ।
२५ जना क्षमता भएको कारागारमा ७८ जनालाई राख्नु परेको कारागारका अर्का कर्मचारी प्रकाश पौडेलले बताए । पर्वत जिल्ला अदालत र प्रहरीले पछिल्लो समय सक्रियता बढाएपछि विभिन्न अभियोगमा सजाय तथा दण्ड जरिवाना सुनाइएका अभियुक्त थपिने क्रम बढ्दै गएपछि समस्या बढ्दै गएको हो ।