दोस्रो जितको योजनामा इङ्ल्यान्ड

दोस्रो जितको योजनामा इङ्ल्यान्ड

मस्को : सन् १९६६ मा उपाधि जितेयता विश्वकप फुटबलमा बारम्बार कमजोर प्रदर्शन गरेको इङ्ल्यान्डले रुस विश्वकपमा भने पहिलो खेलबाटै सशक्त प्रदर्शन गर्ने संकेत गरेको छ । इङ्ल्यान्डले रुस विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २-१ गोलले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

इङ्ल्यान्डले पहिलो खेलमा जितसहित विश्वकप फुटबलमा सुखद सुरुआत गरेको यो पछिल्लो १२ वर्षपछिको पहिलो अवसर हो । त्यही जित र सफलताबाट हौसिएको इङ्ल्यान्ड लगातार दोस्रो खेलमा समेत जितसहित प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्ने योजनामा जुटेको छ । त्यसैले इङ्ल्यान्डले आइतबार समूह ‘जी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा पानामासँग प्रतिस्पर्धा गर्दा जितकै योजना बनाएको छ ।

यद्यपि यो खेलमा इङ्ल्यान्ड र पानामा दुवैलाई फरक दुई उद्देश्यका लागि जित आवश्यक छ । पानामालाई पराजित गर्न सकेको अवस्थामा अन्तिम खेलअघि नै इङ्ल्यान्डको अन्तिम १६ को यात्रा पक्का हुन सक्नेछ । यो नतिजाले पानामा भने प्रतियोगिताको अन्तिम खेलअगावै बाहिरिन सक्छ । त्यसैले प्रतियोगितामा टिकिरहनका लागि भए पनि पानामालाई जितको विकल्प छैन ।

आइतबारको खेलअघि पानामाले इङ्ल्यान्डलाई पराजित गर्दै वा बराबरीमै रोकेर भए पनि आफ्नो प्रिक्वार्टरफाइनल पुग्ने सम्भावना जीवितै राख्ने सपना साँचेको हुनुपर्छ । यद्यपि पहिलो खेलमा बलियो बेल्जियमसँग ३-० ले पराजित भएको पानामालाई इङ्ल्यान्डविरुद्धको त्यो सपना पूरा गर्न सहज भने पक्कै हुनेछैन । राम्रा खेलाडीले भरिएको इङ्लिस टोली निकै बलियो देखिएको छ । हेरी केन, जेमी भर्डी, मार्कस रासफोर्ड, रहिम स्टर्लिङ, डेली अलीजस्ता खेलाडी रहेको इङ्ल्यान्डको क्षमता पानामाको भन्दा धेरै माथि देखिएको छ ।

टोलीको रक्षापंक्ति केही बलियो देखिए पनि आक्रमण निकै कमजोर रहेकाले पानामाका लागि इङ्ल्यान्डविरुद्धको जित वा बराबरीको नतिजा मुस्किल देखिएको हो । कमजोर ‘स्ट्राइकिङ लाइनअप’ कै कारण पानामाले आफ्नो पछिल्लो सात खेलमा मात्रै दुई गोल गर्न सफल भएको छ । यी दुई टोली कुनै पनि स्तरको प्रतियोगितामा पहिलोपटक एकआपसमा प्रतिस्पर्धा गर्दैछन् । यद्यपि पछिल्ला आआफ्ना खेलमा हात पारेको नतिजाअनुसार इङ्ल्यान्डलाई बलियो देखाएको छ ।

इङ्ल्यान्डले पछिल्लो आठ खेलमा आफूलाई निरन्तर अपराजित राखेको छ । पानामाले भने आफ्नो पछिल्लो आठमध्ये मात्र एक खेलमा मात्र जित हात पारेको छ । तुलनात्मक रूपमा कमजोर मानिएको पानामाविरुद्धको यही खेलबाट इङ्ल्यान्डले आफूलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने अपेक्षासमेत गरिएको छ । ट्युनिसियाविरुद्धको खेलमा १७ राम्रा गोल अवसर सिर्जना गरेर पनि इङ्ल्यान्डलाई जितका लागि खेलको ‘इन्जुरी’ समयसम्म कुर्नु परेको थियो । इङ्ल्यान्डले कम्तीमा पानामाविरुद्ध यी गल्तीलाई दोहोर्‍याउने छैन ।

हेड टु हेड

पहिलोपटक प्रतिस्पर्धा गर्दै

इङ्ल्यान्ड

विश्वकप सहभागिता : १५औं पटक

उपलब्धि : उपाधि (१९६६)

फिफा वरीयता : १२

पानामा

विश्वकप सहभागिता : पहिलो

उपलब्धि : पहिलोपटक सहभागी

फिफा वरीयता : ५५

प्रभाव पार्न सक्ने खेलाडी 

हेरी केन, इङ्ल्यान्ड

इङ्लिस राष्ट्रिय टोलीका मुख्य खेलाडी हुन्, हेरी केन । टोलीका कप्तानसमेत रहेका केन एकभन्दा बढी भूमिकाले गर्दा पनि टोलीको महत्वपूर्ण सदस्यका रूपमा रहेका छन् । लामो समयपछि इङ्ल्यान्डले विश्वकप फुटबलमा सुखद सुरुवात गर्दा उनै केनको भूमिका महत्वपूर्ण रह्यो । केन एक्लैले दुई गोल गरेपछि इङ्ल्यान्डले रुस विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २-१ गोलले पराजित गरेको थियो ।

इङ्ल्यान्डका लागि यो विश्वकप फुटबलको पहिलो खेलमा जितसहित सुखद सुरुआत गरेको पछिल्लो १२ वर्षकै पहिलो अवसरसमेत रह्यो । खेल १-० गोलको बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा केनले नै निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । कुनै पनि समय टोलीका लागि गोल गर्न सक्ने क्षमता भएका केनले खेलाडी र कप्तानको हैसियतमा यसपटक इङ्ल्यान्डलाई उपाधिसम्म डोहोर्‍याउन पनि सक्छन् ।

आफ्नो उचाइ, बलसँग खेल्न र प्राप्त अवसरलाई गोलमा परिणत गर्न सक्ने क्षमताका कारण उनी छोटो समयमै इङ्लिस राष्ट्रिय टोलीको मुख्य स्ट्राइकरका रूपमा स्थापित भएका हुन् । उनी आफ्ना दुवै खुट्टा चलाउन माहिर छन् । केन नजिक र टाढाको बललाई टाउको र खुट्टा दुवैको सहायताले गोल गर्न सक्ने सक्षम खेलाडी हुन् । घरेलु क्लब टोट्टनहामका मुख्य स्ट्राइकरसमेत रहेका उनीसँग क्लब स्तरकै भए पनि ठूला प्रतिस्पर्धामा सहभागी भएको अनुभव छ ।

उनले घरेलु इङ्लिस प्रिमियर लिगमा टोट्टनहामबाट लगातार पछिल्लो दुई सिजन गोल्डेन बुटसमेत जितेका छन् । उनले त्यही सफलता विश्वकपमा समेत दोहोर्‍याउने अपेक्षा गरिएको छ । सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका केनले हालसम्म २५ खेलबाट १५ गोलसमेत गरेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.