शवगृहले बस्नै मुश्किल

शवगृहले बस्नै मुश्किल

प्यूठान : जिल्ला अस्पतालले विजुवारस्थित मित्रमणिचोक नजिकै समुदायको बीचमा शवगृह संचालन गर्दा स्थानीयलाई दैनिकी कटाउन मुश्किल भइरहेको छ।

वर्षौदेखि समुदायको बीचमा रहेको शवगृह हटाउन आग्रह गरेपनि अस्पतालले वेवास्ता गरेको आरोप छ। घरदेखि दश मिटर नजिकै शव राख्दा खाना, बस्न र दैनिकी बिताउन धेरै गाह्रो परिरहेको स्थानीयले गुनासो गरे।

 ‘न पकाउन मन लाग्छ न त खाना नै’,प्यूठान नगरपालिका–४ विजुवारका ६३ वर्षीय सत्यदेवी श्रेष्ठले भनिन्,‘शव देख्दा केटाकेटी डराउछन्। रात्रभर सुत्दैनन्।’ धेरैजसो बेवारिसे शवहरु हप्तौ दिनसम्म पनि राख्ने गरिएको छ। ‘अस्पताललाई घर नजिक शव नराख्न पटक पटक भन्यौ’,श्रेष्ठले गुनासो गरिन,‘मागप्रति कोही जिम्मेवार बनेनन्।’ 

२० भन्दा बढी घरहरु यसबाट प्रत्यक्ष प्रभावित भएको स्थानीय बालाजु श्रेष्ठले जानकारी दिए। ‘घरै छाड्ने स्थिति आइसक्यो’,उनले भने,‘समुदाय दुर्गन्धित बन्यो।’ दिउँसोको समयमा बाहिर बस्नै नसकिने उनले अनुभव सुनाए। अस्पतालले स्टोर सञ्चालनका लागि बनाएको एकतले भवनमा शवगृह सञ्चालन गरिरहेको उनले बताए।

‘२० वर्ष बढी समय भयो शवगृह चलाएको’,उनले भने,‘अस्पताल व्यवस्थापन समितिलाई पटकपटक लिखित पत्राचार गर्दा पनि माग सुनुवाई भएन।’
विजुवार–भित्रिकोट सडक हुँदै ओहोरदोहोर गर्ने सर्वसाधरण समेत प्रभावित बन्ने गरेका छन्। सर्वसाधरणले ‘नाक थुनेर’ आउजाउ गर्ने गर्छन्। माझकोट, इन्द्रेडाँडा, हल्दीखोला, सेतीपोखरी, खमाल्दी, टाकुरा, धरमपानीका स्थानीय यसै सडक भएर विजुवार बजार आउजाउ गर्छन्।

दिनमा चार÷पाँच वटा शवहरु समेत राख्ने गरेको स्थानीयले गुनासो गरे। हप्तौसम्म शव राख्दा विजुवार बजारसम्म दुर्गन्ध फैलने गरेको छ। समुदायको बीचमा रहेको शवगृहलाई छिट्टै अन्यत्र स्थानतरण नगरे बाध्य भएर आन्दोलन गर्नुपर्ने स्थानीयले चेतावनी समेत दिए।
‘अब बर्खा लाग्न थालिसक्यो’,स्थानीय अनिता श्रेष्ठले भनिन्,‘खोलाले बगाएका शवहरु धेरै आउने गर्छन्।’ शुरुमा अस्पताल परिसरभित्र शवगृह सञ्चालन भएपनि पछि समुदायको बीचमा सारिएको थियो।

फ्रिज बिनाको शवगृह हुँदा पनि दुर्गन्ध धेरै हुने गरेको स्थानीयको भनाई छ। शवगृहको वरपर समेत फोहोर बढ्दै गएको छ। कोठाभित्र शव राखी सम्बन्धित निकायले कोठामा ताल्चा लगाएर जाने गरेको स्थानीयले गुनासो गरे। शवको समयमै पोष्टमार्टव समेत नगर्ने स्थानीयले आरोप लगाए।

मन्त्रिपरिषद्को निर्णय बिना शवगृह स्थानान्तरण गर्न संभव नरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मेघराज पुरीले जानकारी गराए। ‘५० शैँयाको अस्पताल कार्यान्वयन हुँदा आफैँ समाधान हुन्छ’,उनले भने,‘तत्कालका लागि शवगृह हटाउने स्थिति देखिदैन्।’ 

लामो समय बितिसकेकाले केही वर्ष अझै धैर्य गर्न उनले स्थानीयलाई आग्रह समेत गरे। ‘भएको संरचनालाई भत्काएर अर्को बनाउँदा गैरकानुनी हुदोरहेछ’,पुरीले भने,‘समुदायको बीचमा भएको शवगृह वर्षौदेखिको समस्याको रुपमा रहेको छ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.